Madhyabindu News App
मनोरञ्जन

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

Madhyabindu Online

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले अभिनेत्री रिया चक्रवर्तीलाई पक्राउ गरेको छ ।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो एनसीबीले रियालाई तीन दिन सोधपुछ गरेपछि आज पक्राउ गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ । यो प्रकरण ड्रग्ससँग जोडिएपछि एनसीबीले हात हालेको हो । एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ गर्दै आएको थियो ।

सुशान्तसिंहकै मृत्यु प्रकरण अन्तर्गत अनुसन्धानकै क्रममा उनीमाथि लागुऔषध लेनदेनको आरोप पनि छ । उनलाई पुर्पक्षमा राखेर मुद्दामाथि थप अनुसन्धान गर्ने वा धरौटीमा रिहाई गर्ने भन्नेबारे अदालतमा सुनुवाई जारी छ ।

अनुसन्धानका क्रममा रियाको संलग्नतामा सुशान्तलाई लागूऔषध दिने गरेको पत्ता लागेको दावी प्रहरीको छ । आज रियासँग ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले उनलाई नियन्त्रणमा लिएको हो ।

सुशान्त सिंह मृत्यु प्रकरणबारे भारतका तीन वटा जाँच एजेन्सीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । सुशान्तको मृत्युु प्रकरण सीबीआई, आर्थिक हिनामिना सम्बन्धमा आर्थिक मामिला प्रवर्तन निर्देशनालय ईडी र लागुऔषधबारे एनसीबीले अनुसन्धान जारी राखेको हो ।

जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ । अभिनेता सुशान्त सिंह राजपुतको ‘आत्महत्या’ प्रकरणमा लागु पदार्थ जोडिएपछि  एनसीबी केही दिनदेखि रियासँग बयान लिइरहेको थियो । उनका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

सेप्टेम्बर ६ मा शौविक चक्रवर्तीसँगै सुशान्त सिंह राजपुतका म्यानेजर स्यामुएल मिरान्डालाई पनि एनसीबीले पक्राउ गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?