Madhyabindu News App
अन्तर्राष्ट्रिय

वन्यजन्तुको संख्या दुई तिहाइ भन्दा बढीले घट्यो

Madhyabindu Online

काठमाडौं – पछिल्लो ५० वर्षमा वन्यजन्तुको संख्या दुई तिहाइ भन्दा धेरैले घटेको एक अध्ययनले देखाएको छ । विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफले आफ्नो नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको हो ।

डब्ल्यूडब्ल्यूएफको नयाँ प्रतिवेदनले पछिल्लो ५० वर्षमा विश्वमा चरा, माछा, स्तनधारी, उभयचर र घस्रने जनावरको संख्या दुई तिहाइ भन्दा धेरैले घटेको देखाएको हो ।

विश्वभरका विभिन्न जङ्गलमा रहेका वन्युजन्तु, समुद्रमा रहेका जलप्राणी र घाँसे मैदानहरूमा रहने हजारौं जीवको अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ ।

संरक्षणसम्बन्धी वैज्ञानिकले सन् १९७० यता विश्वभर यस्ता जीवको संख्यामा औसतमा ६८ प्रतिशतले कमी आएको बताएका छन् । वैज्ञानिकले यो कमीलाई विध्वंसकारी भनेर व्याख्या गरेका बीबीसीले जनाएको छ ।

प्रतिवेदन लेखनमा सहभागीहरूले चाहिने भन्दा धेरै माछा मारिनु, जङ्गलमा डढेलो लाग्नु र वन्यजन्तुको बसोबास रहेको क्षेत्र विनाश हुनुजस्ता कारणले जीवनहरूको सङख्यामा गिरावट आएको र यो एकदमै डरलाग्दो भएको बताए ।

तर प्रकृतिको विनाश कम गर्न यसअघि गरिँदै आएका प्रयासमा तत्काल थप कदमहरू चालिने हो भने समय त्यति घर्कि नसकेको पनि उनीहरूले बताएका छन् ।

जङ्गलको विनाश गर्ने, समुद्रमा अत्यधिक माछा मार्ने र जङ्गली जीवहरूलाई सखाप पार्नेहरूले यसको असर पृथ्वीमा स्पष्ट रुपमा देख्न थालेको वैज्ञानिकहरूको भनाइ छ । यस्तै, प्रतिवेदनले प्रकृतिमाथि मानिसले गरेको यस्तो विनाश यसअघि कहिल्यै नदेखिएको पनि उल्लेख गरेको छ ।

Tags

छुटाउनु भयो कि ?