Madhyabindu News App
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति निर्वाचन : चीन र इरानका ह्याकरको निसानामा

Madhyabindu Online

काठमाडौं – अमेरिकाको प्रविधि कम्पनी माइक्रोसफ्टले रुस, चीन र इरानसँग निकट सम्बन्ध भएका ह्याकरहरुले अमेरिकाको राष्ट्रपति चुनावसँग जोडिएका व्यक्ति र समूहलाई निशाना बनाएको आरोप लगाएको छ ।

ह्याकरहरूले अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको माइक्रोसफ्टले आरोप लगाएको हो ।

उक्त प्रविधि कम्पनीले सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिकको चुनावी अभियानको तथ्याङ्क अनधिकृत रूपमा चोर्नेमा रुसी ह्याकरहरू पनि रहेको जनाएको छ ।

माइक्रोसफ्टले भने, “यो स्पष्ट छ कि विदेशी समूहले चुनाव लक्षित गर्दै आफ्नो गतिविधि बढाएको छ ।” दुबै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बिडेनका चुनावी अभियानकर्ताहरू ह्याकरहरूको निसानामा छन् ।

माइक्रोसफ्टले आफ्नो विज्ञप्तिमा भनेको छ, “स्ट्रनटियम समूहका रुसी ह्याकरहरूले अमेरिकी दुबै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्र्याटहरूसँग जोडिएका दुई सय भन्दा बढी संगठनलाई लक्षित गरेको छ ।”

साइबर हमला गर्ने त्यही समूहले नै ब्रिटेनको पनि राजनीतिक पार्टीहरूलाई निसानामा पारेको माइक्रोसफ्टले बताएको छ। तर ती कुन पार्टी भनेर नाम चाहिँ खुलाइएको छैन । स्ट्रनटियमलाई फ्यान्सी बियरको नामले पनि चिनिन्छ जुन रुसी सेनाको गुप्तचर निकाय जीआरयुसँग आवद्ध रहेको बताइन्छ ।

माइक्रोसफ्टका अनुसार चिनियाँ ह्याकरहरूले बाइडनको चुनावी अभियानसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरेका छन् भने इरानका ह्याकरहरूले भने ट्रम्पको अभियानसँग सम्बन्धित मानिसहरूलाई लक्षित गर्ने निरन्तरको प्रयास गरिरहेका छन् ।

माइक्रोसफ्टका उपप्रमुख टम बर्टले भने, “यी गतिविधिहरूले के देखाएको छ भने चुनाव हुने दिन नजिकिँदै गर्दा राजनीतिक प्रक्रियामा संलग्न भएका मानिसहरू र सङ्गठनहरूले हमलाबाट आफूलाई जोगाउनका लागि थोरै खर्च लाग्ने सुरक्षाका साधनहरूको फाइदा लिनुपर्छ।”

चिनियाँ समूहले बाइडेनको अभियानमा आवद्ध रहेका मानिसहरूको व्यक्तिगत इमेल खाताहरूमा हमला गरेको माइक्रोसफ्टले बताएको छ । त्यसबाहेक ट्रम्प प्रशासनसँग पहिला रहेका कम्तीमा एकजना प्रभावशाली व्यक्तिको पनि सूचना ह्याक भएको उसले जनाएको हो ।

Tags

छुटाउनु भयो कि ?