Madhyabindu News App
विचार-ब्लग

म कसको मान्छे ?

Madhyabindu Online

भवनाथ आचार्य – म आजभन्दा चार दशक अगाडि नेपालमै जन्मेको मान्छे । म जन्मेकै बर्ष अर्थात २०३६ साल । नेपालमा पञ्चायती व्यबस्था रोज्ने कि बहुदलीय ब्यबस्था रोज्ने भनेर जनमत संग्रह भएको रहेछ । मेरा बा आमा लगायत सम्पुर्ण परिवार जो मतदानका लागि योग्य थिए उनीहरु सबै दुबिधामा रहेछन् । किनकी उनिहरु कसको मान्छे हुन रु पञ्चायतको अथवा बहुदलको अझै बिपि कोइरालाको कि सुर्य बहादुर थापाको रु सायद जन्मदै दुबिधामा जन्मेको कारण होला । आजका मितिसम्म मलाई त्यही कुराले हरपल लखेटिरहेको छ, म कसको मान्छे ?

आम नागरिक जस्तै पञ्चायत, बहुदल,लोकतन्त्र, गणतन्त्र हुँदै आजका मितिमा संघिय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा, यति धेरै परिवर्तित ब्यबस्थाको हिस्सेदार हुन पाउने अहोभाग्य प्राप्त गर्दैगर्दा यो अनुत्तरित प्रश्न मथिंगलमा घुमिरहनुलाई मैले अर्थपूर्ण रूपमा लिन बाध्य हुनुपरेको छ । समयको गति सँगै परिवर्तन हुनसक्नु त्यो मानिसको क्षमता मापनको आधार मान्दै गर्दा त्यसलाई वर्गमा लगेर जोड्नु कति न्यायोचित हो ? जस्तै एउटा नागरिकले पटकपटक पार्टी परिवर्तन गर्दा दहिचिउरेको संज्ञा पाउने यो समाजमा नेतृत्वले पार्टी परिवर्तन गरे उ समयसँगै चल्न सक्ने डाइनामिक मानिन्छ । आफुले कुनै दल रोज्दै गर्दा त्यो दलको नेताले गरेका हरेक कुकृत्य तथा अवाञ्छित क्रियाकलापको साक्षी मात्रै होईन कि समर्थनको स्वर नअलाप्ने यदि हो भने उसको कित्ताकाट गरेर अंशबण्डा गरिन्छ । मान्छे को विद्वता,क्षमता, दक्षतालाई मापन गर्ने आधार केवल नेतृत्वको नजरमा र त्यसको अनुमोदन चिया पसल वा चोक चौतारोमा हुने प्रवृत्ति जुन छ त्यसले आगामी समाज कता जाँदै छ भन्ने सुचित गरिरहेको हुन्छ ।

आजको एक्काइसौं शताब्दी को युग भनिंदै गर्दा बोलिको युगले के निष्कर्ष निकाल्ला त ? अभिव्यक्ति स्वतन्त्रताको डंका पिटेर नैसर्गिक अधिकारको पाठ पढाँउदै गर्दा आफ्नो बिचार निर्भयका साथ राख्न नपाउने कस्तो लोकतान्त्रिक गणतन्त्रात्मक व्यबस्था अनि कस्तो वैधानिक राज्यव्यवस्थामा छौं हामी ? स्वतन्त्रताको नाममा केही छाडापनका क्रियाकलाप पनि नभएका भने पक्कै होइनन् तथापि बिचार र सिद्धान्त मिल्दा समर्थन र असहमति हुँदा फरक मत राखेकै आधारमा फलानो पार्टी, फलानो गुट, फलानो कित्ता, भनेर चोक चौतारो चिया दोकान बाट भाग लगाएर काखापाखा गर्ने परिपाटीले आगामी दिनमा राजनीतिक दलप्रती नागरिकको आकर्षण कसरी बढ्ला ? लोकतन्त्रको सच्चा पहरेदार भनिने एउटा कांग्रेस कार्यकर्ताले कम्युनिस्ट पार्टीको कुनै दृष्टिकोण मन पराउनुलाई अपराध मानिन्छ। एउटा कम्युनिस्ट नेता कार्यकर्ताको कांग्रेस नेता कार्यकर्ता सँगको सामिप्यतामा शंका गरिन्छ । अनि स्वतन्त्रताको वकालत गर्न सुहाउला र ?

वर्तमान सन्दर्भमा म एउटा दल बिशेष आवद्ध भैरहँदा के मैले मेरो वैयक्तिक स्वतन्त्रता सेलाउनु पर्ने हो ? कि मेरा लागि राज्यले ब्यबस्था गरेको मानव अधिकारको धारा निलम्बन भएको छ ? अथवा पढेको देखेको, सुनेको, भोगेको, अनुभव गरेको भन्दा पनि, रेडिमेड रोबर्ट को भुमिकामा प्रस्तुत हुनुपर्ने हो ? यसको मतलब अब म आफू आफ्नो मान्छे छैन हो अब ? यदि हो भने भन्दिनुस महोदय म कस्को मान्छे हो ?

नेपालको संबिधानमा ब्यबस्था भए अनुसार म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वभौम नागरिक, कानुनको परिधिभित्र रहेर लेख्न,बोल्न, हिंड्न, राजनीतिक दल खोल्न वा आवद्ध भएर आफ्ना भनाइ राख्न, संगठित वा असंगठित रूपमा आफ्ना बिचार निर्बाध रूपमा सार्वजनिक गर्न पाउनु मेरो नैसर्गिक अधिकारभित्र पर्ने कुरा हो । तर संविधानमा ब्यबस्था भएअनुसार म र म जस्तै आम नेपाली नागरिक स्वतन्त्र रूपमा निर्भयकासाथ प्रस्तुत हुन सकेका छन् त ? यो महत्त्वपूर्ण विषय हो । बहुलवादमा आधारित बहुदलीय ब्यबस्थामा आफुलाई मन परेको राजनीतिक दल रोज्नु, धर्म निरपेक्ष राज्यमा आफुलाई मन परेको धर्म मान्न पाउनु,जाति, भाषा, लिङ्ग, वर्ण आदिका आधारमा विभेद नहुनु,लोकतान्त्रिक ब्यबस्थामा आवधिक निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनु, यी सबै त लोकतन्त्रका अवयबहरु भित्र पर्लान । तथापि यी लोकतन्त्रका सुन्दर सिद्धान्तहरु ब्यबहारिक रूपमा कार्यान्वयन नभएको अवस्थामा यस्ता विषयहरुलाई लिएर म लोकतान्त्रिक गणतन्त्रको सार्वभौम नागरिक भएर ढुक्क हुने अवस्था कहाँनेर भयो त ?

सामुहिक अवधारणाका आधारमा सहभागीमुलुक ढंगले चल्ने जिवन्त संगठन, पार्टी, संघ-संस्था आदिलाई समेत आफ्नो पैत्रिक सम्पत्तिको रूपमा लिएर पुस्तान्तरण गर्ने परिपाटीको बिकास हुँदै जान थालेको वर्तमान परिप्रेक्ष्यमा संविधानले ब्यबस्था गरेको मेरो स्वतन्त्रता कुन दुलोमा पुर्याइन्छ ? त्यति मात्रै हो र बिषय र बिचार मिल्दा वा भनौं आफुलाई चित्तबुझ्दो कुरामा समर्थन वा मन नपरेको कुरामा असहमति राख्न समेत अवरोध सिर्जना गर्ने यो संस्कारमा जगडिएको समाजमा के अधिकार के न्याय ?

परापुर्व कालदेखिनै आफ्ना हुक्के, चम्चे, बैठके,आसेपासे, नातागोता,कुल कुटुम्ब हरुलाई काखी च्याप्ने परम्परा रहेको त पढ्न सुन्न पाइन्छ । अनि पटकपटक हजारौंको बलिदानिले परिवर्तन गरेको ब्यबस्थामा परिवर्तन हुने चाहिँ चित्र मात्रै हो त ? के चरीत्र परिवर्तन आजको आवस्यकता होइन ? पात्र भन्दा प्रवृत्तिको परिवर्तन आम नागरिकले महसुस गर्ने होइन ? मैले जानिकन पनि मुलुकमा पञ्चायतको पतन भयो, बहुदलको विकल्प खोजियो, राजतन्त्रको राज सकियो, भने गणतन्त्र गनाउन लागिसक्यो के अबको पुस्ता पनि ब्यबस्था बिरोधि आन्दोलनमा होमिनुपर्ने हो ? सधैं परिवर्तन गरिएको ब्यबस्थाको स्थायित्व खोज्नु जरुरी छैन ? प्राप्त उपलब्धिको संस्थागत विकास हुनु पर्दैन ? आर्थिक समृद्धि बजेटमा समेटेर वा रोष्टममा बोलेर अनि सञ्चार माध्यम र सामाजिक सञ्जालमा  सार्वजनिक गरेर मात्रै हुन्छ ? त्यसका लागि आवस्यक पहल लिन ढिलो भएन ?

Tags

छुटाउनु भयो कि ?