Madhyabindu News App
अन्तर्राष्ट्रिय

बीमा रकमका लागि आफ्नै हात काटेपछि …

Madhyabindu Online

काठमाडौं – स्लोभेनियाकी एकजना महिलाले नियतवश आफ्नो हात काटेर अवैध ढङ्गले बीमा बापतको रकम दाबी गरेको आरोपमा दोषी ठहर गरिएको छ ।

राजधानी लुब्लियानास्थित अदालतका अनुसार २२ वर्षीया जुलिया एडलेसिकले घटनाको अघिल्लो वर्षमात्र पाँच वटा बीमा नीति खरिद गरेको पाइएको थियो । एडलेसिकका अनुसार काठ काट्ने क्रममा उनको हात काटिएको थियो । हातको बीमा बापत उनले दश लाख अमेरिकी डलर भन्दा धेरै पाउने थिइन् ।

बीबीसी हिन्दीका अनुसार आरोप प्रमाणित भएपछि, एडलेसिकलाई दुई वर्ष कैद र उनका प्रेमीलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१९ मा नाडीभन्दा माथिको भाग काटिएको हालतमा एडलेसिकलाई अस्पतालमा पुर्‍याइएपछि उनी र उनका केही आफन्त पक्राउ परेका थिए ।

अदालतका अनुसार ती महिलाको अपाङ्गता स्थायी होस् भन्ने उद्देश्यले उनी र उनका प्रेमीले हातको काटिएको भाग जानाजान छाडेर अस्पताल पुगेका थिए । तर, अधिकारीहरूले समयमै काटिएको उक्त भाग फेला पारे र अस्पतालले त्यसलाई जोडिदिए ।

अभियोजनकर्ताहरूका अनुसार सो घटनाको केही दिन अगाडि ती महिलाका प्रेमीले इन्टरनेटमा कृत्रिम हातबारे जानकारी खोजी गरेको पाइएको छ । त्यसले पनि उक्त घटना नियोजित भएको प्रमाण मिल्ने उनीहरुले बताएका छन् । ती महिलाकी प्रेमीका बुबालाई पनि एक वर्षे जेल सजाय सुनाएपनि उनीविरुद्धको सजाय भने लागू गराइएको छैन ।

ती महिलाले जानाजान हात काटेको अस्वीकार गरेकी थिइन् । यदि यो दुर्घटनामा हात काटिएको भनेर प्रमाणित भए उनले एक पटकमा बीमा कम्पनीहरूबाट ४ करोड भन्दा बढी पाउने थिईन । बाँकी रकम प्रत्येक महिना किस्तामा पाउने थिईन ।

Tags

छुटाउनु भयो कि ?