Madhyabindu News App
समाज

१०० ग्रुपद्वारा काभ्रेमा विपन्न परिवारलाई राहत वितरण

Madhyabindu Online

धुलिखेल – कोरोना भाईरसका कारण अहिले कयौँ मानिस प्रभावित भएका छन् । काम गरेपछि मात्रै घरमा चुल्हो बल्ने घर परिवारलाई त झनै छाक टार्न नै धाउ धाउ भएको छ । यस्तै परिस्थितीलाई मध्यनजर गरी पछिल्लो समय १०० ग्रुपले विपन्न तथा खान मुस्किल भएका परिवारहरुलाई विभिन्न स्थानमा राहत वितरण गरिरहेको छ । आईतबार काभ्रे जिल्लाको धुलिखेल ५ श्रीखण्डपुरमा १०० ग्रुपले राहत वितरण गरेको छ । ग्रुपले श्रीखण्डपुरका करीव १ सय घर परिवारलाई राहत वितरण गरेको ग्रुपका सदस्य प्रकाश मैनालीले जानकारी दिए । राहतमा दैनिक उपभोग्य खाद्यान्न बितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममै ग्रुपको काभ्रे जिल्लाको संयोजकमा प्रजेश कार्की चयन भएका छन् । साढे ४ बर्ष अघि स्थापना भएको १०० ग्रुपले यस अघि पनि धेरै सामाजिक कार्य गर्दै आइरहेको छ । उपत्यकामा ब्लड अभाव भएपछि कलेजका साथीहरु मिलेर ग्रुप बनाएर ब्लड डोनेशन गरेपछि यो ग्रुप सक्रिय भएको ग्रुपका सदस्य मैनालीले जानकारी दिए । नेपालमै पहिलो पटक हाल सम्म ६६ वटा कपडा बैंक स्थापना गरेको छ ।

कार्यक्रममा धुलिखेल नगरका प्रमुख अशोक व्याञ्जु, उपप्रमुख विमला शर्मा, अभिनेताहरु सुनिल थापा र मुकुन्द थापा, धुलिखेल ५ का अध्यक्ष गंगासागर रञ्जित, छायाँकार गौरीशंकर धुजु, प्रकाश पुस्तकालयका अध्यक्ष अशोकचन्द्र धुजु, १०० ग्रूपका सल्लाहकार मदनगोपाल धुजु लगायतले राहत वितरण गरेका थिए । १०० ग्रुपका सल्लाहकार मदन गोपाल धुजु श्रेष्ठको पहलमा राहत संयोजक दिपेश धुजु श्रेष्ठ लगाएत १०० ग्रुपका युवा समाजसेवीहरु बाट राहत बितरण गरिएको थियो । कार्यक्रममा स्थानीय मदन श्रेष्ठले स्वास्थ्य चौकीलाई ६ सय थान मास्क समेत उपलब्ध गराएका थिए ।

यसैबिच, कोरोना भाईरसका कारण सरकारले गत चैत्र ११ बाट गरेको लकडाउनको अवधिभरमा काठमाडौंमा दैनिक मजदूरी गरी खाने र उनका परिवार, अस्पतालका विरामी कुरुवा, सडक बालबालिकाहरु, मागी खानेका परिवार लगायतहरुलाई रत्नपार्कमा रहेको पुरानो बसपार्कमा खाना खुवाईरहेको छ । १०० ग्रुपका समूहरुले दैनिक ६ सय जनालाई खाना खुवाईरहेको १०० ग्रुपले जानकारी दिए ।१०० ग्रुपले दिउँसो ४ बजे असहाय, निमुखा, एकल महिला, दैनिक ज्याला मजदूरी गरी विहान बेलुकाको छाक टार्ने परिवारहरु, वीर अस्पतालका विरामी कुरुवाहरु र खान नपाएका जो–जो आउँछन्, सबैलाई खाना, तरकारी, दाल, अचार, दही र सलाद सहित हरेक दिन बसपार्कमा खाना खुवाने गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?