Madhyabindu News App
आर्थिक

नेपालको अर्थतन्त्र १.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

Madhyabindu Online

काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले आगामी वर्ष नेपालको अर्थतन्त्रको वृद्धिदर झन् खस्किने प्रक्षेपण गरेको छ । आगामी वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने अनुमान एडीबीले गरेको छ ।

एडीबीले मंगलबार प्रकाशन गरेको एसियन डेभलपमेन्ट आउटलुकमा आगामी वर्ष सन् २०२१ मा नेपालको अर्थतन्त्र वृद्धिदर १.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण आर्थिक गतिविधि खुम्चिँदा यस्तो प्रभाव परेको हो ।

यसअघि विश्व बैंकले गरेको अनुमान २.१ प्रतिशत आर्थिक वृद्धिको छ । यी दुई निकायले गरेको अनुमान सरकारको लक्ष्य भन्दा निकै कम पाइएको छ । सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको वर्ष अर्थतन्त्र वृद्धिदर १.५ प्रतिशतमा सीमित हुने एडीबीले प्रक्षेपण गरिएको छ ।

एडीबीले सन् २०२० मा पनि नेपालको अर्थतन्त्रको वृद्धिदर सम्बन्धी प्रक्षेपणमा संशोधन गरेको छ । यसअघि प्रकाशित प्रतिवेदनले सन् २०२० मा नेपालको अर्थतन्त्रको वृद्धिदर ५.३ प्रतिशत र सन् २०२१ मा ६.४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो । एडीबीको पछिल्लो प्रक्षेपणअनुसार सन् २०२० मा नेपालको अर्थतन्त्रको वृद्धिदर २.३ प्रतिशत र २०२१ मा १.५ प्रतिशत मात्रै हुनेछ ।

एडीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महामारीका कारण गरिने लकडाउनले आर्थिक क्रियाकलाप सीमित हुने भएकाले यस्तो अवस्था लामो समयसम्म रहिरहे आर्थिक वृद्धिदर थप खुम्चनेछ । कोरोना भाइरस संक्रमणको प्रभावस्वरूप निर्यात, रेमिट्यान्स तथा पर्यटन क्षेत्र प्रभावित भएकाले नेपालको आर्थिक वृद्धिदर घट्ने देखिन्छ ।’

Tags

छुटाउनु भयो कि ?