Madhyabindu News App
नयाँ समाचार

सम्धी कोइराला जत्तिकै सातौंपटक अवसर पाउने भाग्यमानी डा.युवराज खतिवडा

Madhyabindu Online

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा पटक पटक अवसर पाउनेमा उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी प्राडा. उपेन्द्र कोइरालापछि डा. युवराज खतिवडा हुन् । सम्धी कोइरालाले २०५१ मा खाद्य संस्थानको महाप्रबन्धक हुँदै २०७७ सम्म सातौं पटक राष्ट्रिय बाणिज्य बैंकको संचालकमा नियुक्ति पाएका छन् । यद्यपि उनलाई अध्यक्ष बनाउने निर्णय भने बैंक संचालक समितिले अहिलेसम्म गर्न सकेको छैन ।

सम्धी कोइराला जत्तिकै अवसर पाउने भाग्यमानी भएका छन्, डा युवराज खतिवडा छन् । उनले सम्धीले जस्तै सातौं पटक नियुक्ति पाएका छन् । सोमबार सरकारले उनलाई विशेष आर्थिक सल्लाहकार नियुक्ति गरेको छ । सोमबारको नियुक्ति उनको सातौं राजकीय अवसर हो । सुरुमा २०५९ असोज १८ मा राजा ज्ञानेन्द्र शाहले गरेको ‘सफ्ट कू’ पछि उनी राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भए । राष्ट्रबैंकका जागिरे खतिवडाले दरबारियाहरुको चाकडी गरी उक्त नियुक्ति पाएका थिए । उनले सो नियुक्ति पाउन राजाको कृपामा प्रधानमन्त्री भएका लोकेन्द्रबहादुर चन्दका अति निकट जोगमेहर श्रेष्ठको घरमै चाकडी गर्न पुगेको राप्रपाका नेताहरु अहिले पनि भन्ने गर्दछन् ।

त्यसपछि शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बनाए । देउवाको सरकारमा एमाले पनि सामेल भएको थियो । अर्थमन्त्री थिए भरतमोहन अधिकारी । खतिवडाले एमालेका नेताहरुसँग याचना गरी योजना आयोगको सदस्यमा निरन्तरता पाए । राष्ट्रबैंकको पद लियनमा राखेर उनी योजना आयोगको सदस्य नियुक्त भएका थिए ।

योजना आयोगको सदस्यबाट कार्यकाल सकिएपछि उनी श्रीलंकामा एशियाली विकास बैंकको जागिर खान गए । २०६६ मा माधव नेपाल प्रधानमन्त्री भएपछि उनको खोजी भयो । उनी तुरुन्तै नेपाल फर्किए । फर्किनासाथ योजना आयोगको उपाध्यक्षमा नियुक्त भए । योजना आयोगको उपाध्यक्ष हुँदाहुँदै फेरि राष्ट्रबैंकको गभर्नर पद खाली भयो । उनले आयोगको उपाध्यक्षभन्दा मर्यादाक्रममा तल्लो मानिने गभर्नरको पदमा नियुक्ति हुन रहर गरेपछि तत्कालीन प्रधानमन्त्री नेपालले उनलाई गभर्नर बनाए । गभर्नर उनको तेस्रो नियुक्ति थियो ।

२०७२ असोज ३ मा केपी ओली प्रधानमन्त्री भए । ओलीले उनलाई पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए । दोस्रो पटकको योजना आयोगको नियुक्ति उनको चौथो अवसर हो । खतिडाले आयोगमा पुनः नियुक्ति भएपछि राज्यमन्त्री सरहको उपाध्यक्ष पदलाई मन्त्रीसरहको बनाए । ब्यक्तिगत लाभका लागि खतिवडा केसम्म गर्दछन् भन्ने यो दृष्टान्त हो । उनी २०७४ मा नकेपाले दुईतिहाई बहुमतसहितको सरकार बनाएपछि राष्ट्रियसभाको सांसद हुने मौका पाए । राष्ट्रियसभा सांसद उनको पाँचौं राजकीय सुविधाको पद हो । राष्ट्रियसभाको सांसदपछि प्रधानमन्त्री ओलीले उनलाई अर्थमन्त्री नै बनाएर सबैलाई चक्मा दिए ।

पार्टीमा जेलनेल भोगेका र राजनीतिमै जीवन बिताएकाभन्दा ओलीका लागि खतिवडा प्यारा भए । अर्थमन्त्रीको पद उनको छैटौं छलाङ थियो । खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने चाहना ओलीको थियो, तर उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने हठ देखाएपछि उनी राजीनामा दिन बाध्य भए । प्रधानमन्त्री ओलीले सातौं पटक खतिवडालाई मन्त्री सरहको विशेष आर्थिक सल्लाहकारमा नियुक्ति दिएका छन् ।

कोइराला र खतिवडाको लोकतन्त्र ल्याउन रौं बराबर योगदान छैन । तर हजारौंको बलिदान र त्यागपछि प्राप्त लोकतन्त्र सबैभन्दा बढी अवसर नेकपामा यी दुई पात्रले पाएका छन् । एक दुई पटकमात्र होइन, सात सात पटक अवसर पाएका छन् । लोकतन्त्रका लागि लडेका नेकपाका समर्थकलाई एकपटक नियुक्ति दिएपछि दोस्रो पटक नदिने मापदण्ड बनाइएको छ । तर कोइराला र खतिवडाको हकमा त्यो मापदण्ड लागू भएको छैन ।

Tags

छुटाउनु भयो कि ?