
मंसिर दोस्रो सातादेखि स्कूल लिग खेलाउने एन्फाको तयारी
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी मंसिर दोस्रो सातादेखि स्कूल लिग खेलाउने तयारी थालेको छ । एन्फाले मंगलबार एक सूचना जारी गर्दै स्कूल लिग खेल्नका लागि विद्यालयहरुलाई नाम दर्ता गर्न आह्वान गरेको छ ।
एन्फाले मंगलबार एक सूचना जारी गर्दै प्रतियोगिता खेल्न इच्छुक उपत्यकाको तीन जिल्लासहित काभ्रे जिल्लाका विद्यालयलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।
सूचना प्रकाशित भएको १५ दिनभित्र एन्फा सचिवालयमा प्रतियोगिता खेल्न इच्छुक काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोकका विद्यालयहरुलाई नाम दर्ता गर्न आह्वान गरेको छ । एन्फाले विद्यालय लिगबाट खेलाडी छनोट गरी उमेर समूहको राष्ट्रिय टिमसम्म लैजाने उद्देश्यसहित लिग आयोजना गर्न लागेको जनाएको छ ।
प्रतियोगितामा सहभागी जनाउन विद्यालयले एसियाली फुटबल महासंघ (एएफसी) को मापदण्डमा अनुसार चल्नुपर्नेछ । सहभागी स्कूलले प्रशिक्षकमा न्युनतम एएफसी सी लाईसेन्स कोर्ष पूरा गरेका प्रशिक्षक टिममा हुनुपर्ने नियम लगाएको छ ।
एन्फाले युवा फुटबल खेलको विकास र विस्तार गर्न यसवर्षदेखि १५ वर्षमुनिका उमेर समूहको काठमाडौं उपत्यका र काभ्रे जिल्लामा रहेका मापदण्ड पूरा गरेका विद्यालयका विद्यार्थीको सहभागितामा अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता मंसिर दोस्रो सातादेखि गर्ने तयारी गरेको हो ।
विद्यालयको आफ्नै यू-१५ टिम र टिममा २३ देखि ३० जनासम्म खेलाडी रहनुपर्ने बताएको छ । यस्तै, प्रतियोगितामा सहभागी जनाउने विद्यालयको आफ्नै खेल मैदान (चौडाई कम्तिमा ३५ देखी ५० र लम्बाईमा कम्तिमा ६० देखि १०० मिटर ) हुनुपर्नेछ । त्यहाँ होम म्याच खेलाउन सक्ने सम्भाव्यता हुनुपर्नेछ ।
