Madhyabindu News App
मुख्य खबर​

आइतबारको आकस्मिक बैठक, मन्त्रीगणको ठुलै खड्गो टरेको दिन

Madhyabindu Online

काठमाण्डौं – आइतबार प्रधानमन्त्रीले दिउँसो १२ बजे आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाउन मुख्यसचिवलाई निर्देशन दिएलगत्तै मन्त्रिपरिषद् सचिवालयका उपसचिवले सबै मन्त्रीका निजी सचिवहरुलाई बैठकबारे खबर गरे । यतिञ्जेलमा कतिपय मन्त्रीले त नित्यकर्म पनि सिध्याएका थिएनन् । तर, केही मन्त्रीहरु खबर पाउनासाथ मन्त्रालय दौडिए । बैठकको एजेण्डाको तयारीमा जुटे ।

मन्त्रिपरिषद्को नियमित बैठक बस्ने अघिल्लो दिन मन्त्रिपरिषद् सचिवालयले नेपाली कागजको एफोर साइजको खाममा रातो मसीले ‘अति गोप्य’ को छाप लगाउँदै ‘सम्बोधित व्यक्तिले मात्र खोल्नुहोला’ लेखिएको खाम प्रत्येक मन्त्रीको सचिवालयमा जान्छ । त्यसभित्र बैठकका एजेण्डा उल्लेखित हुन्छन् ।
तर, आइतबारको बैठकका लागि त्यस्ता कुनै खाम मन्त्रालयहरुमा पुगेका थिएनन् । त्यसैले मन्त्रीहरु विहानैदेखि हतास मनस्थितिमा देखिन्थे ।

कतिपय मन्त्री मन्त्रालय नपुगी सीधै बैठकका निम्ति बालुवाटार पुगेका थिए । उनीहरुको अनुमान थियो कि, ‘यो बैठक आकस्मिक र औपचारिकताका लागि हो, हामी यहीँबाट झण्डा छोपेर जाँदैछौँ । मन्त्रिपरिषद् बैठकमात्र हैन, दुई अध्यक्षबीच भएको छलफल पनि त्यस्तै आकस्मिक रुपमा तय भयो । सामान्यतया भोलिपल्ट विहान अध्यक्षहरुको भेट हुँदैछ भने अघिल्लो दिन राति नै समय टुंगो लगाइन्छ । तर, आइबार विहानको छलफल त्यसरी भएन ।

आइतबार गर्न खोजिएको थियो, मन्त्रिपरिषद्को अन्तिम बैठक । त्यहीँ प्रधानमन्त्रीले उपस्थित मन्त्रीहरुलाई धन्यवाद ज्ञापन गर्ने र लगत्तै मन्त्रिपरिषद् पुनर्गठनको काममा लाग्ने । यतिसम्मकी, शपथ पनि आजै साँझ गर्ने सुरसार चलेको बुझिन्थ्यो, गृह मन्त्रालयको माहोल हेर्दा । यो कुरा कसरी पनि पुष्टि हुन्छ भने, आइतबार आकस्मिक रुपमै मन्त्रिपरिषद् बस्नुपर्ने र निर्णय नगरी नहुने त्यस्तो कुनै विषय थिएन । भएका निर्णयहरु नियमित बैठकमै गर्दा हुनेखालका थिए ।

विहान आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाइएपछि गृहले सम्पूर्ण हलुका सवारी चालकलाई १० बजे नै कार्यालयमा हाजिर हुन निर्देशन दियो । सबै चालक भनेकै समयमा पुगे ।

सामान्यतया मन्त्रिपरिषद् गठन वा पुनर्गठन हुँदा मन्त्रीहरु सवार हुने औपचारिक गाडी (कालो रंगको) गृह मन्त्रालयबाट पठाइने गरिन्छ । तर, बहाली हुँदाको दिनमा लगिएकै गाडी मन्त्रीहरुले चढ्नुपर्ने बाध्यकारी व्यवस्था भने छैन । गृहले मन्त्री बहाली हुने दिनका लागि शपथ ग्रहण स्थलमा लैजाने गाडीको इञ्जिन चेकजाँच गर्दै धुने, पखाल्नेजस्ता काम गर्छ । र, शपथ ग्रहण शुरु हुनुअघि शपथ स्थलमा पुगिसकेको हुनुपर्छ ।

सरकारी तथा संस्थान सवारी चालक एसोसिएसनका गृह विभागीय अध्यक्ष ताराप्रसाद अर्याललाई जनआस्थाले दिउँसो २ बजे सोध्यो, तयारीबारे । उनले भने, ‘हामी सवारी चालकहरु विहानैदेखि तयारी अवस्थामा छौँ । तर, गाडी तयार पार्नु भन्ने कुनै खबर छैन । यतिबेलासम्म खबर नआएपछि आज नहोलाजस्तो भयो ।’
गृहमा मात्र हैन, सिंहदरबारभित्रका अन्य मन्त्रालयमा पनि मन्त्री र सल्लाहकारका गाडीको दौडधुप अन्य दिनभन्दा बाक्लोसँग बढेको थियो ।
त्यसो त मन्त्रिपरिषद् पुनर्गठनको विषय राष्ट्रपति कार्यालयसँग जोडिन्छ । तर, त्यहाँ भने यसबारे कुनै चालचुल थिएन ।
‘यदि हो भने निर्धारित समयभन्दा कम्तिमा चार–पाँच घण्टाअघि चिया, खाजा तयार पार्नु, हल सफा गर्नु भन्ने खबर आउँथ्यो’, राष्ट्रपति कार्यालय समारोह प्रवन्ध शाखाका एक कर्मचारीले भने, ‘हल्ला त हामीले पनि सुन्यौँ, तर यता केही भनिएको छैन ।’

त्यहाँको सुरक्षा सेवा निर्देशनालय (सुसेनि) ले नवनियुक्त मन्त्रीका लागि निजी सुरक्षा अधिकृत (पिएसओ) खटाउँछ । मन्त्रिपरिषद्को सचिवालयले नवनियुक्त मन्त्रीहरुको नाम पठाएपछि ती मन्त्रीका लागि खटिने पिएसओ उक्त निर्देशनालयले छान्छ ।

आइतबार सुसेनि दरबन्दी भई कतै नखटिएका सई र असई दर्जाका कर्मचारीलाई स्ट्याण्डबाई राखियो । तर, कतैबाट औपचारिक पत्र वा खबर केही आएन ।
‘हामी त कुनै पनि बेला कर्मचारी खटाउन तयारै छौँ, तर आजचाहिँ खटाइहाल्नु पर्ला कि भन्ने हल्लाले अलिक बढी चासो भयो’, सुसेनिका एक प्रहरी अधिकृतले बताएको खबर जनआस्थामा प्रकाशित छ  ।

 

Tags

छुटाउनु भयो कि ?