
१६ वर्षीया किशोरीलाई एकदिनका लागि प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं – लैंगिक समानताका लागि विश्वमै उदाहरणीय मुलुक फिनल्याण्डको इतिहासमा पहिलो पटक १६ वर्षीया किशोरीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन् ।
प्रधानमन्त्री सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नका लागि यस्तो कदम उठाएको बताएकी छन् । किशोरीहरुको अधिकारलाई बढावा दिन मरिनले मात्र २४ घण्टाका लागि फिनल्याण्डको दक्षिणी क्षेत्र वास्कीकी १६ वर्षीया किशोरी आभा मुर्टाेलाई प्रधानमन्त्रीको कुर्सी सुम्पिएको थियो ।
प्रधानमन्त्रीका रुपमा आभाले चान्सलरसँग बैठक र सञ्चारमाध्यमसँग भेटवार्ता गरेकी थिइन् । आफ्नो कार्यकाल सकिएपछि आभाले देशको प्रधानमन्त्री बन्दाको क्षण निकै विशेष भएको बताएकी छिन् ।
आभाले जलवायु परिवर्तन र मानव अधिकारसँग जोडिएका मुद्दाको सक्रिय रुपमा प्रचारप्रसार गर्दै आएकी छिन् ।
उनलाई गर्ल्स टेकओभर नामक अभियानमार्फत एक दिनका लागि प्रधानमन्त्री बनाइएको हो । यो अभियानको मुख्य उद्देश्य किशोरीहरुको डिजिटल क्षमता अभिवृद्धि गरी अवसरबारे जानकारी गराउनु रहेको छ ।