Madhyabindu News App
राजनीति

बलात्कारीलाई दण्ड दिने कडा कानून ल्याउँछौं : प्रधानमन्त्री

Madhyabindu Online

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारका घटना मिलापत्र गराउने र छोपछाप पार्ने कुरा सह्य नहुने भन्दै बलात्कार विरुद्ध पनि त्यस्तै कडा कानून ल्याइने बताएका छन् ।

नेपाल प्रहरीको ६५ औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दे उनले बलात्कारका घटनामा कुनै पनि प्रलोभनमा नपर्न पनि प्रहरीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले एसिड आक्रमणका विरुद्ध नयाँ कानून ल्याएर कडा कदम चाल्ने सरकारले अठोट लिएको जानकारी गराउँदै बलात्कार विरुद्ध पनि त्यस्तै कडा कानून ल्याइने बताए ।

“बलात्कारका घटना निन्दनीय र मानवता विरोधी अपराध रहेकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार अझ कडा कानुन ल्याउने तयारीमा छ”, प्रधानमन्त्री ओलीले भने, “बलात्कार जस्ता घटना मिलापत्रका नाममा छोपछाप गर्ने काम सह्य हुन सक्तैन ।”

प्रधानमन्त्री ओलीले यस्ता घटनामा भनसुन र सामाजिक दबाबबाट टाढा रहन नेपाल प्रहरीलाई निर्देशन दिए । उनले कानून कार्यान्वयन गर्दै अपराधविहीन समाज निर्माण गर्न र दिगो शान्तिमा योगदान पु¥याउनेतर्फ केन्द्रित हुन प्रहरीलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलाप विरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गरे । उनले यस्ता गतिविधितर्फ नागरिक समाज सचेत  र सजक रहनु उत्तिकै जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताए ।

Tags

छुटाउनु भयो कि ?