Madhyabindu News App
प्रदेश २

वीरगञ्जको गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद

Madhyabindu Online

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका-५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट करीब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ ।

केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो । सो क्रममा अपार्टमेन्टबाट करीब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको हो ।

रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २२ किलो ५ सय ७६ ग्रामबराबरको सुनका तीनवटा बिस्कुट, ६ सय ८१ ग्राम बराबरको सुनका विभिन्न गरगहना र २ किलो २ सय ६२ ग्राम बराबरको चाँदीका विभिन्न भाँडा बरामद गरिएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

उनका अनुसार सुन कसको हो खुलिसकेको छैन । सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन् । बरामद सुनमध्ये २२ किलो बिस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारत पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेको उक्त फ्लैटमा तलासी गर्दा उक्त धातु फेला पारी बरामद गरेको हो ।

सो फ्ल्याटमा सुन रहेको विशेष सूचनाका आधारमा प्रहरी पुगेको थियो । तर, सिन्हा भने फेला परेका छैनन् ।

Tags

छुटाउनु भयो कि ?