फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

भगवान ! मेरो घरबेटीलाई कोरोना नलागोस !
भवनाथ आचार्य
स्थायी घर सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँ पालिका वडा नं- ५ भएपनि केही रहर र केही बाध्यताले भुकम्पको महा विपत्ति पश्चात् म मेरा ३ बालबच्चा सहित काठमाडौंको बुढानिलकण्ठ नगरपालिका- १२ कपन बस्दै आएको छु । अक्सर नेपाली जस्तै मेरी श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा युरोप छिन भने म तिनै बालबालिकाको अभिभावकिय जिम्मेवारी पुरा गरेर जेनतेन काठमाडौं बसेको छु ।
स्वास्थमा सामान्य भन्दा असहज परिस्थिति सिर्जना भएपछि मैले काठमाडौंको धुम्बाराहिस्थित हेम्स अस्पतालमा स्वास्थ परिक्षण गराँदा म कोरोना संक्रमित भएको सूचना कार्तिक १ गते अस्पतालको फोन मार्फत पाएँ । अस्पतालको सुचना लगत्तै मैले आफू बसेको वडाको वडा अध्यक्षलाई फोन गरेर आफू कोरोना संक्रमित भएको र बस्नको लागि कुनै सुरक्षीत स्थान भए जानकारी पाउँ भन्दा त्यस्तो व्यवस्था नभएकोले आफू बसेको घरमै सुरक्षीत बस्ने सल्लाह पाएकोले आफ्नै डेरामा बस्ने निधो गरें ।
त्यसपछि घरबेटीलाई आफू संक्रमित भएको जानकारी गराएँ । जब मैले म आफू कोरोना संक्रमित भएको जानकारी गराएँ तब मैले थाहा पाएँ घरबेटी र डेरावालको अन्तर । तब मैले देखें वर्गीय असमानताको बढेमानको खाडल । तब मैले बुझ्ने मौका पाएँ म जस्तै लाखौं डेरावालको यथार्थको धरातल अनि अनुभव गर्ने अवसर पाएँ कथित शहरी सभ्यता । र बिचार गर्ने मौका पाएँ घरबेटी हुनका लागि चाहिने वाञ्छनीय योग्यता ।
शारीरिक बनावटलाई आधार मानेर मात्रै मानवको उपाधी दिन सकिने काठमाडौंमा घर भएका साहु महोदयको महानवाणी थियो – कोरोना लागेको लाई बस्न त दिन नहुनी निस्केर जानु भन्न पनि मिलेन बर्बाद पो पर्ने भो त ? खान त सायद अन्न नै खाँदा हुन् तथापि त्यो पक्षपाती अन्नले कसैको दिमाग यति सम्म क्रूर र अमानवीय बनाउँदो रहेछ जुन मैले कल्पना सम्म पनि गरेको थिइनँ । एउटा मानव ले अर्को मानवलाई विपत्तिको समयमा गर्ने यो दुर्व्यवहारले पुगेको आत्मसम्मानको चोट कस्ले निको पार्छ ? सामाजिक प्राणी हुनुको नाताले स्वभाविक रूपमा मानिसले आफुलाई गाह्रो साँघुरो पर्दा सहारा खोज्छ । त्यस कारण त समुदाय बनेर बस्छ त मान्छे । तर धन दौलत र सम्भ्रान्त पारिवारिक विरासतको आडमा एउटा हुनेखाने कहलिएको वर्गले हुँदाखाने वर्गलाई शाशन गर्न खोज्छ यदि भने त्यो एकदिन अवश्य बिस्फोट हुनेछ ।
म दाबीका साथ भन्न सक्छु ती मानव आकृति बोकेका घरधनी महोदयको अन्नदाता हुँ म । अनि घमण्डका साथ भन्न सक्छु मानवीय समवेदनाका आधारमा मुल्यांकनको कसिमा राख्ने हो भने मेरो खुट्टामा पनि सुहाउँदैनन ती महाशय । आफ्नो भौतिक शरीर सबल भएदेखि मुलुकका हरेक परिवर्तनको हिस्सेदार हुँ म, तिनी हुन र? आम नागरिक का जिवनयापनका सवालमा होस् अथवा विद्यार्थी, महिला, मजदुर जो कोहिका हक अधिकारका बिषयमा होस हरेक क्षेत्रमा मेरो प्रत्यक्ष परोक्ष योगदान छ , तिनको छ ?
हामी देश र जनताका लागि सडकमा लडिरहँदा टेलिभिजन हेरेर आनन्द लिने मध्येका शहरिया कहलिएका हुतिहारा पात्र यिनै होइनन् ? अनि छलछाम र व्यक्तिगत स्वार्थ केन्द्रित भएर कमाएको नाथे कंकृटको थुप्रोमुनि हामीले डेरामा बसेकै नाममा सबै मानवीय मुल्य र मान्यताको तिलाञ्जली दिनुपर्ने ? यो सरासर असम्भव छ ।
अहिले बिश्वब्यापी रूपमा फैलिएको कोरोना संक्रमित हुनु मेरो दोष हो ? संसारको कुन जिवित प्राणी लाई आफ्नो ज्यानको माया हुँदैन र ? अनि रोग, गरिबी, पिडा सँग खेलवाड गर्न, हेप्न, तिरस्कार गर्न चाहिने मापदण्ड चाहिँ काठमाडौंको घर हो ? म अलि समाजको सचेत ठानिएको नागरिकको त यो हविगत छ भने आम शोषित पीडित भरिया,मजदुर, श्रमजीवी नागरिकको आवाज बोल्ने को ? तिनको प्रतिनिधित्व गर्ने कस्ले यो यक्ष प्रश्नको जवाफ खोजिनु आजको आवस्यकता हो ।
मुलुकको केन्द्रविन्दुमा बसोबास गर्ने नागरिकको त यो हालत छ भने आम नेपालीको आजको अवस्था के होला ? कति विभेद होला ? वर्गीय आसमानताको खाडल पुरिने आधार के हो ? श्रमजीवी मजदुरको प्रतिनिधित्व गर्ने भनेर चिनिएको दलको करिब दुई तिहाईको सरकार कुन देशका नागरिकको समृद्धिको सपना बुन्दै छ अनि कसलाई खुशी बनाउँदै छ ? आज सामान्य रोग लागेकै कारण एउटा नेपाली नागरिक डेरा बसेकै नाममा यति अपहेलित हुन बाध्य छ भने देश कता जाँदै छ ? यो विचारणीय कुरा होइन ?
यो कोरोनाको महामारी त निश्चित अवधिमा साम्य होला मान्छेको चेतना नि ? विवेक नि ? चित्र मात्रै परिवर्तन भएर के काम चरित्र उस्तै भएपछि । पात्र परिवर्तनको के अर्थ प्रवृत्ति यथावत रहेपछि । म त जसोतसो परिस्थितिको सामना गरौंला कि मेरो घरबेटी कहलिएको असामाजिक मनुवालाई यो रोग लागेपछि को हालत के हुन्छ ? घर खाएर कोरोना निको हुन्छ कि पैसाको जलप लाएर ? त्यसैले त मेरो भगवान सँग एउटै प्रार्थना छ – भगवान मेरो घरबेटीलाई कोरोना नलागोस ।