Madhyabindu News App
मुख्य खबर​

राष्ट्रपति भण्डारीद्वारा रानीपोखरीको उद्घाटन

Madhyabindu Online

भवनाथ आचार्य/काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । मल्लकालीन शैलीमा पुनर्निर्मित रानीपोखरी परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गर्दै उद्घाटन गरेकी हुन् ।

सो क्रममा राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राण प्रतिष्ठा पूजाको आरती लिएकी थिईन् । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल एवं अन्य मन्त्रीहरुले पनि विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल अर्पण गरेका थिए ।

उद्घाटनपछि शुभकामना दिंदै राष्ट्रपति भण्डारीले विभिन्न समस्या र परिस्थितिसँग पौठेजोरी खेल्दै पुनर्निर्माण महाअभियानले निरन्तर गति लिएको बताईन् । त्यसैको परिणति आज ऐतिहासिक रानीपोखरीको पुरानै शैली, स्वरुप र प्रविधिमा जीर्णोदार एवं पुनर्निर्माण सम्पन्न भएको उनले बताईन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको बृहत्तर गुरुयोजना सरोकारवाला पक्षसाग समन्वय गरी कार्यान्वयनमा लैजान शुभकामना दिईन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास, सम्पदालगायतका पुनर्निर्माणका विभिन्न क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराए । कार्यक्रममा उपस्थिति अन्य अथिति एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारी एवं कर्मचारीहरुले विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल पोखरीमा अर्पण गरेका थिए । त्यसअघि बालगोपालेश्वर मन्दिरको प्राण प्रतिष्ठा र क्षमा पूजा गरिएको थियो ।

रानीपोखरी निर्माण कार्य उपभोक्ता समिति मार्फत् तथा बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको सौन्दर्यकरण कार्य निर्माण व्यवसायी मार्फत् गरिएको हो । यस कार्यको डिजाइन तथा सुपरीवेक्षणका लागि विभिन्न विषयगत विज्ञहरुसहितका परामर्शदाता परिचालन गरिएको थियो । पुनर्निर्माणका लागि भक्तपुर नगरपालिका क्षेत्रबाट समेत कालिगढ ल्याइएको थियो ।

रानीपोखरी पुनर्निर्माणका सम्पूर्ण कार्यहरुको समन्वय, सहजीकरण एवं अनुगमनका निम्ति प्राधिकरणको नेतृत्वमा पुरातत्व विभाग, काठमाडौा महानगरपालिका, सम्पदाविद्हरु समेत रहेको समन्वय तथा अनुगमन समिति गठन गरि परिचालन गरिएको थियो । रानीपोखरी एवं बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा करिब २८ करोड रुपैयाँ खर्च भएको छ ।

प्राधिकरणले रानीपोखरीको पुनर्निर्माणलाई विस्तार गरेर यसलाई रत्नपार्क, खुलामञ्च, टुाडिखेल, भृकुटीमण्डप, शहिदगेट र दशरथ रंगशालासाग एकीकृत गर्दै बृहत्तर गुरुयोजनाको खाका तयार पारेका छ जसलाई विभिन्न सरोकारवालाहरुको सुझावसहित अन्तिम चरणमा पुर्‍याएका छ ।

रानीपोखरी टाइमलाइन
 १७२६ – तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लद्वारा निर्माण ।
 जंगबहादुर राणाद्वारा बेलायत भ्रमणपछि गुम्बज शैलीमा पुनर्निर्माण ।
 १९९० सालको भूकम्पबाट मन्दिरको गजुर भत्केपछि जुद्धशमशेर राणाद्वारा गुम्बज शैलीमै पुनर्निर्माण ।
 २०७२ बैशाख १२ – गोरखा भूकम्पबाट क्षतिग्रस्त ।
 २०७२ माघ २–भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरी पुनर्निर्माणको शिलान्यास ।
 २०७४ पुस १३–काठमाडौं महानगरको कार्यपालिका बैठकद्वारा रानीपोखरीको पुनर्निर्माण बारे सुझाव दिन पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन ।
 २०७४ माघ ७–कार्की संयोजकत्वको समूहद्वारा बालगोपालेश्वर मन्दिरलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्नुपर्ने रायसहित प्रतिवेदन पेश ।
 २०७५ कार्तिक २० गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकद्वारा मल्लकालीन शिखर (ग्रन्थकुट) शैलीमा पुनर्निर्माण गर्ने निर्णय ।
 २०७५ माघ १४–मन्त्रिपरिषद्द्वारा रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी ।
 २०७५ फागुन १५–रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन ।
 २०७५ फागुन १८–रानीपोखरीको पिंध र पानी रहने वरिपरिको पर्खाल पुनर्निर्माणका लागि अजयरत्न स्थापितको संयोजकमा पााच सदस्यीय उपभोक्ता समिति गठन ।
 २०७६ असार २४–रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर र पुलको पुनर्निर्माण तथा सौन्दर्यकरणका लागि सीए/तुलसी कन्ट्रक्सन जेभीसाग ठेक्का सम्झौता ।
 २०७७ असोज १५–बालगोपालेश्वर मन्दिरको शीर्षमा १२३.७ केजी तामाबाट बनेको र सुनको जलप लगाइएको गजुर स्थापना ।
 २०७७ कात्तिक ५–सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन ।

दरबार स्कूल हस्तान्तरण
राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कूलको पुनर्निर्मित भवनको उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले भवनको मूल ढोका छेउमा रहेको ताम्रपत्र अनावरण गरी विद्यालयको उद्घाटन गरेकी हुन् । भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्‍याएकोमा राष्ट्रपति भण्डारीले चीन सरकारलाई धन्यवाद दिएकी छन् ।

विद्यालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा विद्यालय भवन निर्माण गर्ने चिनियाँ कम्पनी सांघाई कन्सट्रक्सनका प्रतिनिधिले विद्यालयको साँचो पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हस्तान्तरण गरेका थिए । त्यसपछि उक्त साँचो काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरिएको थियो । चिनियाँ सरकारको ८५ करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण भएको भव्य भवन चार तले छ । साढे ९ रोपनी क्षेत्रफलमा निर्मित नयाँ भवनमा ४५ वटा कोठा छन् ।

Tags

छुटाउनु भयो कि ?