Madhyabindu News App
आर्थिक

बुधबार पनि नेप्से दोहोरो अंकले उकालो लाग्यो

Madhyabindu Online

काठमाडौ – धितोपत्र बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ । बजार परिसूचक नेप्से आज १३ दशमलव ९४ अंकले उकालो लागेर एक हजार ५ सय ९७ दशमलव ७१ बिन्दुमा पुगेको छ ।

नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ३६ करोड रुपैयाँले वृद्धि भएको छ । हिजो १३ दशमलव २२ अंकले उकालो लागेको नेप्सेमा एक अर्ब २७ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज कारोबार भएका होटल, जलविद्युत, वित्त र उत्पादन मूलक बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । दशैंको लागि खर्च जोहो गर्न शेयर बिक्री गर्ने लगानीकर्ताहरु बाहिरिएसँगै शेयर बजारमा सुधार देखिएको जानकारहरु बताउँछन् ।

यस दिन जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस इन्स्योरेन्सको शेयर मूल्य निरन्तर छौठौं दिन कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी, यस दिन नेपाल हाइड्रो, सांग्रीला डेभलपमेन्ट बैंक र एनआईसी एशिया बैंक लिमिटेडको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै शेयर कारोबार बढेको हो । यस दिन सो बैंकको २४ करोड २९ लाख ५७ हजार रुपैयाा बराबरको शेयर खरिदबिक्री भएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ६४ दशमलव २८ अंकले बढेको छ ।

यस्तै, जीवन बीमाको ५७ दशमलव ९४, व्यापारको २३ दशमलव ४ र बैंकिङ कम्पनी समूहको उपसूचक २१ दशमलव ५५ अंकले बढेको छ । नेप्सेमा आज कुल एक सय ९२ कम्पनीका २२ हजार ४ सय ८२ कारोबारबाट ५५ लाख ९ हजार ४ सय ४८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?