Madhyabindu News App
मुख्य खबर​

खर्च बेहोर्न नसक्ने संक्रमितको उपचार नि:शुल्क गर्नु : स्वास्थ्य मन्त्रालय

Madhyabindu Online

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च बेहोर्न नसक्ने कोरोना संक्रमितको उपचार नि:शुल्क गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पताल र मेडिकल कलेजलाई खर्च बेहोर्न नसक्ने संक्रमितको नि:शुल्क उपचार गर्न निर्देशन दिएको हो ।

सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार नि:शुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।

खर्चका अभावमा कुनै पनि संक्रमितलाई उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने मन्त्रालयको भनाई छ । कतिपय अस्पतालले कोभिड–१९ संक्रमितलाई भर्ना गर्दा धरौटी माग गरेको, रकम जम्मा गर्न नसक्नेलाई उपचारबाट वञ्चित गरेको र अस्पतालले रकम जम्मा गर्न सूचना सार्वजनिक गरी खर्च बेहोर्न नसक्नेले उपचारबाट वञ्चित भएको गुनासो आएको थियो ।

मन्त्रालयका आइसीएस संयोजक डा गुणराज.लोहनीले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले तोकेका लक्षित वर्गका कोरोना संक्रमितले उपचार नगरी स्वास्थ्यमा असर पर्न गएमा अस्पताल स्वयं जिम्मेवार हुने बताए ।

उनले सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार नि:शुल्क गर्नु हुन यो विज्ञप्ति जारी गरिएको छ ।’

गरीब, विपन्न, अशक्त, असहाय र ज्येष्ठ नागरिकको उपचार सरकारले नि:शुल्क गर्ने र सोका लागि बिरामीका तर्फबाट स्वयं घोषणा भए मात्रै पनि मान्य हुने उनले बताए ।

Tags

छुटाउनु भयो कि ?