Madhyabindu News App
कला-साहित्य

कम्निस्ट हुनुको दु:ख (अडियोसहित)

Madhyabindu Online


A A- A+

खगेन्द्र सँग्रौला

नेपाल सानो सानै छ । क्षेत्रफलले पनि, जनसंख्याले पनि र अर्थतन्त्रले पनि । नामले पनि, पहिचानले पनि र उद्यमले पनि । बौद्धिक सामर्थ्यले पनि, नैतिक शक्तिले पनि र दैनिक आचरणले पनि । तर अचम्म छ, यो सानो–सानो नेपालमा कम्निस्ट नामक जीवात् कतिबिधि हुन् ! यिनको संख्याको विशालताबारे सुन्दैमा त्यसैत्यसै भनन्न रिँगटा लागेर आउँछ । शासन सत्ताको विलासी गद्दामा नेपाल कम्निस्ट पार्टी अर्थात् छोटकरीमा नेकपा विराजमान छ । चलनचल्तीको जस्तोतस्तो नेकपा यो किमार्थ होइन । यो त दलका शिखरवासी स्वामीहरूलाई केवल कोष्ठबाहिर ‘नेकपा’भन्दा धित नमरेर कोष्ठभित्र पनि ‘नेकपा’ हो ! अर्थात् नाम जुराउने कल्पनाशील कमरेड पुरोहितको बुद्धिको ताछिल्यको तछिल्यका कारण नाथे सिंगल ‘नेकपा’को सट्टा ढ्याक्क डबल ‘नेकपा’ ! यो नेकपा डबलको काँडेतारको बारभित्र निर्वाचित र टीके गरी मुलुकका लगभग दुईतिहाइ सांसद छन् ।

नेकपा डबलको रङ खुइलिएर बूढा गोरुको काँधजस्तो भएको रकमी ‘लाल’ स्रेस्ता भन्छ— यी जम्मै कम्निस्ट हुन् ! नेकपा डबलका मन्त्रीहरूको त्यत्रो बगाल छ, ‘लाल’ स्रेस्तामा ती जम्मै कम्निस्ट ! नेकपा डबलको सानोतिनो मेलाजत्रो केन्द्रीय समिति छ । ‘लाल’ स्रेस्तामा समितिका जम्मै मनुवा कम्निस्ट ! नेकपा डबलमा लाखौँ सदस्य छन्, ‘लाल’ स्रेस्तामा ती जम्मै कम्निस्ट ! समग्र राज्यसत्ताको भतेरको डाडु–पन्युको एकाधिकार यही ‘लाल’ नेकपा डबलका हातमा छ । सत्ताको मिठो–मसिनो खान्की ज्युनार गर्न बडो व्यग्रता साथ घुटुक्क थुक निल्दै लाम लाग्ने आशामुखीहरूको लर्काे आँखाले नभ्याउने गरी यहाँदेखि दूर क्षितिजसम्म फैलिएको छ । त्यो लर्कोमा विविध समाजको बहुलता प्रतिबिम्बित छ । अर्थात् त्यो बहुरंगी लर्कोमा ओरको सिन्को पर नसार्ने डब्लु टी टाइपको खाइदेउ कार्यकर्ता छ, चैते छ, बिचौलिया छ, ठेकदार छ, जग्गाविद् छ, मानव तस्कर छ, कामचोर छ, चेली व्यापारी छ, लम्पट छ र चाकर पुँजीवादी छ । लामको लम्बेतान लर्कोका यी जो जे–जति छन्, यी जम्मै कम्निस्टउन्मुख जीव अर्थात् यी जम्मै ‘नेकपा डबल’का भोलिका एकसेएक ‘लाल’ कम्निस्ट !

अहो ! जीवनका यतिका दुःखहरूमाझ कति कष्टप्रद विरोधाभाष हो यो ! नेकपा डबलको ‘लाल’ स्रेस्तामा नेपालमा असंख्य कम्निस्ट छन्, तर वैचारिक एवं नैतिक स्खलनग्रस्त यथार्थ धरातलमा कताकती, कुनाकानीमा छायामा परेका एक्कादोक्का अतीव दुर्लभ अपवादसिबाय प्रस्टसँग दृष्टिगोचर हुने कुनै पनि संस्था वा संरचनामा कम्निस्ट भनिन लायकको कम्निस्ट कतै छैन । वास्तवमा यहाँ जो जे होइन, म त्यो हुँ भन्ने आडम्बरी अभिनयको बिगबिगी छ । कपटकारी एवं बाध्यात्मक यो अभिनयमा अभिनयकर्ताको असीम दुःख निहित छ । झुटबाट निःसृत दुःख, ढोङबाट निःसृत दुःख र प्रातः स्मरणीय जर्मन गुरु गोयबल्सको अन्धानुकरणबाट निःसृत दुःख । लज्जशील लोकद्वारा चोर औँलो हल्लाउँदै कुरिकुरी गरिनुको दुःख र जिब्रो निकालेर मारी गिज्याइनुको दुःख । नानाओली कोणबाट नित्य कठोर आलोचना गरिनुको दुःख र अहोरात्र अखण्ड निन्दित हुनुको दुःख । सडक–सडकमा ‘मुर्दावाद’ भइनुको दुःख र ‘फलाना चोर– देश छोड्’ समेत भनिइनुको दुःख । घृणायुक्त जनआक्रोशमा ‘यतै खायो’ र ‘उतै बजायो’ भनी कुख्यात भइनुको दुःख । अहो ! यो सानो–सानो नेपालमा म कम्निस्ट हुँ भन्ने छद्मभेषी दोपाया कति, र तिनका दुःख कति ! यी गोरुकाँधे ‘लाल’ कम्निस्ट हुन् स्वघोषित, र यिनका असीम दुःख हुन् स्वनिर्मित !

कम्निस्ट नामक संज्ञाले संकेत गर्ने सद्गुणयुक्त कम्निस्ट ठट्टा होइन । यो एक उदात्त आदर्शको संवाहक पात्र हो । एक दार्शनिक पात्र, एक राजनीतिक पात्र र एक सांस्कृतिक पात्र । यो पात्र शोषण र दोहनको सदैव प्रतिपक्षी हो । यो पात्र शासना र ताडनाको नित्य मारक हो । यो अन्याय र विभेदको हर्दम् बैरी हो । छुवाछुत र हेलाँहोचोको सदावहार काल हो यो । र हो यो अभाव एवं अकाल मरणको सर्वत्र निषेधक । कपटमुक्त लिखतका जीवन्त अक्षरहरूमा कम्निस्ट एक सुन्दर सपना हो । र, हो ऊ त्यो सपना साकार पार्न अहोरात्र यत्नशील एक तपस्वी । र, हो ऊ सामाजिक न्याय र समताको एक कल्पनाशील उपासक, एक सिर्जनशील अभियन्ता र एक व्यवहारनिष्ठ लडाका । भनिसकेँ त, कम्निस्टजस्तो कम्निस्ट कुनै ठट्टा होइन !

जिज्ञासु आलोचकहरू मलाई सोध्लान्– समकालको कुरूप राजनीतिको यथार्थ धरातलमा दृष्टिगोचर हुने कम्निस्ट हुँ भन्ने जीव अजीबको छ । यो लोकका नांगा आँखाले देखिने गरी शिरमाथि पाखण्ड, झुट, लुट र सुखभोगको पर्वत बोकेर हिँडिरहेछ । तिम्रो मनचिन्ते बयानको सुन्दर कम्निस्ट दृश्य जगत्मा खै कहाँ छ ? के कम्निस्ट नामक यो उदात्त आदर्श नित्य कपोल कल्पनाको रहस्यमय बासिन्दा हो ? द्वन्द्ववादी उत्तर भन्छ– हो पनि र होइन पनि । सत्तासीन कम्निस्ट नामक जीवात्हरूको वर्तमानको ढोंगी र सुखभोगी यथार्थलाई हेर्दा ‘हो’ भन्न करै लाग्छ । तर ‘हो’ भन्ने यो लाचार स्वीकारोक्ति शाश्वत सत्य भने किमार्थ होइन । ती थुप्रै र जाज्वल्यमान् नहोलान्, तथापि प्रमाणका भ्रूणहरू हाम्रै इतिहासको भण्डारमा उपलब्ध छन् । कुरो यो धेरै अघिको र धेरै परको होइन । कुरो यो हिजैको हो र हाम्रै आँगनको हो । हिजो हाम्रो आँगनमा हो–हो कि जस्तो कम्निस्ट अवश्य थियो । त्यो कम्निस्ट कुनै तिलस्म थिएन, त्यो कुनै रहस्य थिएन, त्यो कुनै भ्रान्ति थिएन । त्यो कम्निस्ट सादा जीवन र उच्च विचारको पैरवी गथ्र्यो । ऊ संघर्ष र त्यागको कसम खान्थ्यो । ऊ संकटमा मेरो गर्धन माथि, तिम्रो गर्धन तल भन्थ्यो । ऊ भान्सामा तिम्रो गाँस पहिले, मेरो गाँस पछि भन्थ्यो । के झरी के बादल, के जाडो के तुषारो, ऊ बाह्रैमास गाउँ र देहात, ओर र पर, माथि र तल चहाथ्र्यो । शोषित र पीडित, भोका र नांगा, विपन्न र पददलित, बहिष्कृत र वञ्चित, सुकुम्बासी र पेटीवासी नरनारीलाई जगाउन र उठाउन, समभावको सूत्रमा उन्न र मानावोचित जीवनका लागि लड्न ऊ प्रेरित गर्थ्यो, प्रोत्साहित गथ्र्यो, प्रशिक्षित तुल्याउँथ्यो र ती सबलाई न्याय–संग्राम उठाउँथ्यो । अपेक्षाकृत निष्कलंक छवि र आदर्श विचारको आकर्षणले चुनाव जितेर चप्पल पड्काउँदै ऊ सिंहदरबार पसेको हिजै मात्र त हो !

आलोचकहरू पुनः सोध्लान्– सिंहदरबार पसेको सादगीपथको त्यो चप्पलधारी कम्निस्ट अहिले खै कहाँ छ ? उत्तर किञ्चित् निराशाजनक छ– अहिले लौकिक अस्तित्वमा त्यो छैन ! त्यो धुलाबाट सत्तामा उक्लेको के थियो भीमकाय, क्रुर एवम् लुब्ध सनातनी सत्ताले गाँजेर त्यसलाई तत्क्षण आफूजस्तै बनाउन खोजिहाल्यो । भ्रष्ट र धूर्त सत्ताले त्यसलाई फकायो, लोभ्यायो, धम्कायो, भ्रमित तुल्यायो, गलित तुल्यायो, मह चटायो, आदर्शच्यूत गरायो र अन्ततः त्यो रसातलमै भासिने गरी पतित भयो । त्यो पतित अहिले कहाँ छ त ? कोही खुस होस् वा बेखुस्, यो यक्ष प्रश्नको उत्तर भनिनैपर्छ । उत्तर अप्रिय छ । र, यो अप्रिय उत्तरको उच्चारण गर्नुमा भयंकर जोखिम निहित छ । ढाँट्न नजान्ने निर्मम समय भन्छ– त्यो पतित अहिले नेकपा डबलमा छ ! त्यो नेकपा डबलको मूल प्रवाहमा छ, त्यो त्यसको प्रनिधित्वको प्रवाहमा छ । पार्टीव्यापी फलकमा त्यो विस्तारित छ । पार्टीमा पल–प्रतिपल सर्वत्र त्यो उपस्थित छ । आखिर त्यो प्रवाह, त्यो विस्तार, त्यो प्रतिनिधित्व र त्यो उपस्थितिको नाम नै त नेकपा डबल हो !

नेकपा डबलका पोटिला र चिल्ला गाला एवम् पुटुस्स र हुत्त उदरधारी प्रवक्ता फटिक सेता बत्तिसी देखाउँदै दाबी गर्लान्– हामीजस्ता थियौँ, त्यस्तै छौँ । हामी पहिले पनि असल कम्निस्ट, अहिले पनि असल कम्निस्ट । हामी सदावहार असल कम्निस्टमाथि पतनको यत्रो फत्तुर ? फत्तुरकारीसँग यसको प्रमाण के छ ? डबलका प्रवक्ताका प्रश्नको प्रत्युत्तरमा दर्शन, राजनीति र संस्कृतिका पण्डितहरूले मात्र बुझ्ने ठूला कुरा म गर्दिनँ । त्यसो त भावनात्मक र अमूर्त कुरा पनि म गर्दिनँ । म केवल व्यवहार र आचरणका एकाध ठोस कुरा गर्छु । म लोकका नांगा आँखाले देखिने, सादा कानले सुनिने र लाटो बुद्धिले बुझिने कुरा मात्र गर्छु । डबलका प्रवक्ताका वचनको यो ‘असल कम्निस्ट’ अहिले भुइँमान्छेसँग सत्सङ गर्न बसमा चढेर वा पैदल गाउँ–देहात जाँदैन । यदाकदा बडो कृपापूर्वक लोकलाई दर्शन दिन गगन मार्ग भई हेलिकोप्टरमा उसको सवारी हुन्छ । यो ‘असल कम्निस्ट’ अहिले धुले भुइँँ टेकेर पेटीमा वा गोरेटामा पाउकस्ट गर्दैन । ऊ अघि र पछि सुरक्षाकर्मीको लर्को लाएर, वायुमण्डमा साइरन आतंक पैmलाउँदै सडकमाथि एकल कब्जा कायम गर्छ ।

बस्, राजातुल्य यो ‘असल कम्निस्ट’को अहिले यसरी सवारी चल्छ । ज्यान झिल्सिएर सुकुटी हुने हपहपी गर्मी किन नहोस्, टाई कसेर सुट नलगाई यो ‘असल कम्निस्ट’लाई अस्तित्वबोध हुँदैन । यो ‘असल कम्निस्ट’ तल हेर्दैन, मािथ हेर्छ । तल के छ ? तल अभाव र भोकग्रस्त तन्नम जन छन् । तल रोगी र असक्त दुःखी मनुवा छन् । तल अभाव र अनिकाल छ । तल वेदना र काल छ । तल पसिना र आँसु छ । तल ठगी र वञ्चना छ । तल नरकको नजिक छ । माथि के छ ? माथि के मात्र छैन ? माथि बिचौलिया र ठेकदार छ । माथि दलाल र ठग छ । माथि जग्गाविद् र चेली व्यापारी छ । माथि चोर र चण्डाल छ । माथि कमिसन छ, माथि भ्रष्टाचार छ, माथि घुस छ, माथि सलामी छ । माथि धन छ, माथि गन छ । माथि धाक छ, माथि रबाफ छ । माथि मोज छ, माथि मस्ती छ । तसर्थ ‘यो’ माथि वैकुण्ठको नजिक छ । त्यसैले नेकपा डबलका प्रवक्ताको यो ‘असल कम्निस्ट’ तल पनि जन र जीवन छ भन्ने यथार्थ भुसुक्कै बिर्सिएर माथि–माथि नै मस्त छ ।

तर के लाग्छ, यो द्रव्य–पारखी, सुखभोगी एवं विलासवीर ‘असल कम्निस्ट’का पनि आफ्नै दुःख छन् । छद्म आवरणमा लुकेर केही भन्नु र आफ्नो काइते कुराको पोल खुल्न लाग्दा लाजैबेगर कुरो फेर्नु यसको दुःख हो । असत्य नै सत्य हो भनी नित्य ढाँट्नु र ढँटाइलाई ढाकछोप गर्न गोयबल्स पथको शरण पर्नु यसको दुःख हो । भ्रष्टाचारी र लुटेरा एवं ठग र जनपीडकको जीवन जिउनु र म श्रमिकजनको असल मित्र र ‘असल कम्निस्ट’ हुँ भन्न नछाड्नु यसको दुःख हो । धर्मान्धता, नश्लीय अहंकार र राष्ट्रवादजन्य संकीर्णताको ध्वजा बोकेर हिँड्नु र ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ भनी गाउन नछाड्नु यसको दुःख हो । धरातलीय अस्तित्व, सामाजिक सम्बन्ध, जीवन शैली र आचरणमा कम्निस्ट कहीँ कतै कत्ति केही बाँकी नरहनु, तैपनि आप्mनो कुरूप र कुटिल स्वार्थको रक्षार्थ ‘म कम्निस्ट हुँ’ भन्न विवश हुनु यसको दुःख हो ।

कुनै जण्ड शक्तिले हातमा कोर्रा लिएर यो ‘असल कम्निस्ट’को सक्कली चरित्रको परीक्षा गरे नतिजा के निस्केला ? भन्नु मात्र हुँदैन मान्यवर, नतिजा भयावह निस्कन सक्छ । मानौँ उक्त जण्ड शक्तिले यो ‘असल कम्निस्ट’लाई कम्निस्टका न्यूनतम गुणको पालना गर्नैपर्ने कठोर व्यावहारिक परीक्षामा राख्यो । अर्थात् मानौँ उसले यिनलाई सादा जीवन र उच्च विचार, भुइँमान्छेसँग नित्य माछा–पानीको नाता, लक्ष्यमुखी कठोर संघर्ष र कीर्तिमानी उत्सर्ग एवं उदात्त आदर्शप्रति हर्दम समर्पणको परीक्षामा राख्यो । विनाश्रम र लगन सत्ताको चोरबाटोबाट धन संकलन र सञ्चय गरी मोज र मस्ती, सोख र सान एवं दम्भ र दर्पमा अभ्यस्त र लिप्त ‘असल कम्निस्ट’ भोलिपल्ट बिहान कुन अवस्थामा, कहाँ फेला पर्ला ? निःसन्देह यो ‘असल कम्निस्ट’ स्वेच्छिक चेष्टाद्वारा वनकाली वनका हाँगा–हाँगामा फलेर तुन्द्रुंग झुन्डिएको फेला पर्नेछ । कठैबरा ! सडित र पतित, लोभी र स्वार्थी, दम्भी र ढोँगी, द्रव्य–पिचासी र विलासी यो ‘असल कम्निस्ट’को दुःख !

नयाँपत्रिका दैनिक बाट साभार ।