Madhyabindu News App
अन्तर्राष्ट्रिय

हङकङका सांसदले सामूहिक राजीनामा दिएपनि चीनद्वारा निन्दा

Madhyabindu Online

काठमाडौं  – चीन सरकारले हङकङका अधिकांश विपक्षी सांसदहरुको सामूहिक राजीनामालाई खुला चुनौतीका रुपमा निन्दा गरेको छ ।उनीहरूको सामूहिक राजीनामालाई चीनले हङ्‌कङमा चिनियाँ अधिकारलाई “खुला चुनौती” दिइएको अर्थमा बुझेको छ ।

हङकङका विपक्षी १५ सांसदले आफ्ना सहकर्मीलाई बर्खास्त गरेको भन्दै बुधबार सामूहिक राजीनामा दिएका थिए । चीनको संसदबाट अदालती प्रक्रिया विनै सांसदहरुलाई बर्खास्त गर्न सक्ने कार्यकारी अधिकार सहितको विधेयक पारित भएसंगै हङकङका ४ जना विपक्षी सांसदलाई अयोग्य ठहर्‍याइएको थियो ।

चार जना विपक्षी सांसद राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै बर्खास्त गरेको बेइजिङले स्पष्ट पारेको छ । स्वतन्त्रताको समर्थन गर्ने चार जना सांसद एल्भिन यिङ, डेनिस खोक, खोक काकी र केन्नेथ लिङ बर्खास्तीमा परेका हुन् ।

सन् १९९७ मा हङकङ चीनमा गाभिएपछि सामूहिक राजीनामा दिईएको यो पहिलो पटक हो । सो कदमलाई हङकङको स्वतन्त्रतामा प्रतिबन्ध लगाउने चीनको नवीनतम प्रयासका रुपमा चित्रण गरिएको छ ।

बेलायत सरकारले चीनले हङ्‌कङको स्वायत्तताको संरक्षण गर्ने प्रतिबद्धता उल्लङ्घन गरेको आरोप लगाएको छ । हङ्‌कङ पहिला ब्रिटिश उपनिवेश थियो । सन् १९९७ मा चीनलाई हस्तान्तरण गरिँदा बेइजिङले ५० वर्षसम्म हङ्‌कङको स्वतन्त्रता कायम राख्ने वाचा गरेको थियो ।

बेलायतका विदेशमन्त्री डोमिनिक राबले चार सांसदलाई अयोग्य ठहर गर्ने बुधवारको निर्णयपछि चीनको आलोचना गरेका छन् ।तर हङ्‌कङ सरकार र चिनियाँ अधिकारीहरूले चार सांसदलाई अयोग्य ठहर गर्ने नियम वैधानिक भएको दाबी गरेका छन् । गत वर्ष हङ्‌कङमा विशाल प्रदर्शन र हिंसा भएपछि मुख्यभूमि चीनले हङ्‌कङमा दमनको उपाय अवलम्बन गर्न थालेको छ ।

Tags

छुटाउनु भयो कि ?