Madhyabindu News App
राजनीति

मंसिरभित्र क्रियाशील विवरण पठाउन कांग्रेस जिल्ला सभापतिलाई निर्देशन

Madhyabindu Online

काठमाण्डौं – नेपाली काँग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नविकरणको विवरण यही मंसिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ ।

काँग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार जिल्ला कार्यसमितिले केन्द्रको परिपत्रको सबै प्रक्रिया पूरा गरेर नामावली सूची प्रकाशित गरी विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मंसिरभित्र  केन्द्रमा पठाउन निर्देशन गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेस मुख्य सचिव पौडेलका अनुसार गत फागुन १३ र साउन २२ गते केन्द्रबाट जारी गरिएको क्रियाशील सदस्यता वितरणसम्बन्धी परिपत्रअनुसारको प्रक्रिया पूरा नगरी वितरण गरिएका र केन्द्रमा पठाइएका क्रियाशील सदस्यताको नामावली (नयाँ र नविकरण) स्वीकृत नहुने भएको छ ।

काँग्रेसको क्रियाशील सदस्यता सङ्ख्या हाल करिब पाँच लाख रहेका छन् । काँग्रेस केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नविकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो सङ्ख्या दोब्बर हुने छ ।

काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरी सोहीअनुसार कार्यतालिका सार्वजनिक गरिसकेको छ । काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो । काँग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्को व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ ।

Tags

छुटाउनु भयो कि ?