Madhyabindu News App
मुख्य खबर​

कोरोना नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण : मन्त्री ढकाल

Madhyabindu Online

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित ‘कोभिड–१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री ढकालले कोरोना नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताए । कोरोनाको उपचार नभएकोले यसको नियन्त्रणका लागि सरकार र स्वास्थ्यकर्मीसँगै सांसद, स्थानीय जनप्रतिनिधि र जनताको भूमिका जरुरी हुने उाले बताए ।

‘सरकारले सुरुमा जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको थियो,’ मन्त्री ढकालले भने, ‘तर, नेपालमा हालसम्म १६ लाख ५० हजारको कोरोना परीक्षण भइसकेको छ । अहिलेको अवस्थालाई हेर्दा करीब दुई प्रतिशत नेपाली संक्रमित हुन सक्ने अनुमान गरेर सरकारले तयारी गरिरहेको छ ।’

उनले संघ, प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति र सबै स्थानीय तहमा अस्पताल निर्माणको काम अगाडि बढाएको जानकारी दिए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विज्ञ डाक्टर विनोदप्रसाद गुप्ताले कोभिड–१९ पछाडिको विज्ञान बारे सांसदहरूबीच प्रस्तुतिकरण गरेका थिए ।

त्यसैगरी स्वास्थ्य संगठनका रणनीतिक, जोखिम तथा संकट सञ्चार विज्ञ डा. सुनुर वर्माले कोभिड जोखिम सञ्चार तथा समुदायको संलग्नताको महत्व र कोभिड सम्बन्धी अफवहा तथा गलत सूचनाको प्रतिकारमा निर्वाचित प्रतिनिधिको भूमिका बारे प्रस्तुतिकरण दिएका थिए ।

स्वास्थ्य संगठनका विज्ञहरूले सरकारले बिरामीको परीक्षण, आइसोलेसन व्यवस्थापन, उपचार तथा सम्पर्कमा आएका व्यक्तिहरुको खोजतलास, क्वारेन्टिनको व्यवस्थापन गर्न र जनतालाई सूचित गर्नुपर्ने बताएका छन् । सबै व्यक्तिको दायित्वका रुपमा भौतिक दूरी कामय गर्ने, मास्कको उचित प्रयोग गर्ने र बेला बेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न उनीहरुले आग्रह गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको वर्तमान अवस्था र सरकारले गरिरहेको तयारी बारे जानकारी गराएका थिए । संघीय संसद राष्ट्रिय सभाको संयोजन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बागमती प्रदेशको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रमलाई विश्व स्वास्थ्य संगठनले प्राविधिक सहयोग गरेको हो ।

यसअघि प्रदेश २, गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेशसभा सदस्यको सहभागिता कार्यक्रम सम्पन्न भईसकेको छ । मंसिर ८ गते लुम्बिनी प्रदेश र १६ गते प्रदेश १ मा सो कार्यक्रम हुनेछ ।

Tags

छुटाउनु भयो कि ?