Madhyabindu News App
राजनीति

कोरोना बारे सचेतना फैलाउन जनप्रतिनिधि घर–घरमा पुगौं : अध्यक्ष तिमिल्सिना

Madhyabindu Online

काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित ‘कोभिड–१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने बताए ।

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए । ‘जनताले आफ्नो प्रतिनिधिलाई बढी विश्वास गर्छन्,’ उनले भने, ‘आफ्ना मतदातालाई स्वास्थ्य अनुशासनमा राख्न तथा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सरकारको मात्र नभई तपाई हामी सबैको हो ।’

अध्यक्ष तिमिल्सिनाले कोरोनाको महामारी सुरु हुँदा र अहिले लाखौंको संख्यामा पुग्दा एउटै धारणा वा तयारीले नपुग्ने भएकाले परिस्थिति अनुसार सरकारले योजना बनाउनुपर्ने बताए । त्यसैगरी जनप्रतिनिधिले पनि विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड तथा सरकारको निर्देशनलाई कार्यन्वयनमा साथ दिनुपर्ने उनको भनाई थियो ।

‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्नै आग्रह गर्‍यौं,’ उनले भने, ‘अहिले संक्रमण लाखौंमा पुगिसकेको र उपचार नभएको अवस्थामा जनप्रतिनिधिले भोट माग्न पुगेजस्तै घर–घरमा जनचेताना फैलाउन पुग्न जरुरी छ ।’

महामारीलाई नियन्त्रण सम्बन्धी सचेता फैलाउनका लागि राजनीतिक दलले आफ्ना संगठनहरूलाई पनि गाउँगाउँमा परिचालिन गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए । ‘आपत परेको बेला हामी जनतामा पुगेर आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ,’ उनले भने, ‘राजनीतिक दलसँगै नागरिक समाज र निजी क्षेत्रले पनि महामारी नियन्त्रणका लागि सकारात्मक सहयोग गर्न सक्दछ ।’

कोरोना विकसित मुलुकमा समेत भयावह भैरहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले पैसाले नभई स्वास्थ्य मापदण्डको पालना गर्दा कोरोना नियन्त्रण हुने बताए ।

Tags

छुटाउनु भयो कि ?