आर्थिक

४ वर्षमा पनि सकिएन नलगाड जलविद्युत आयोजनाको डीपीआर

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जाजरकोटमा निर्माण हुन लागेको नलसिंहगाड जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् ।

शनिबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले ४ सय १७ मेगावाट क्षमताको सो आयोजनाको डीपीआर निर्माण तत्काल सक्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, ऊर्जा मन्त्रालयका सह–सचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल लगेजु सहभागी छलफलमा मन्त्री पुनले तत्काल डीपीआर सक्न निर्देशन दिएका हुन् ।

सो आयोजनाको डीपीआर निर्माणको काम ४ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । ३२ महिनामा सक्ने गरी काम सुरु गरिएको ४ सय १७ मेगावाट क्षमताको सो आयोजनाको डीपीआर निर्माण ४ वर्ष भईसक्दा पनि सम्पन्न हुन नसकेको भन्दै ऊर्जा, मन्त्री पुनले असन्तुष्टि जनाए ।

एमडब्लुएच कन्सलटेन्टले ३२ महिनाभित्र डीपीआर सक्ने गरी नलगाड हाइड्रोपावर कम्पनीसँग सम्झौता गरेको थियो । मन्त्री पुनले कर्णाली प्रदेशको मुहार फेर्ने आयोजना भएकाले डीपीआरको काम तत्काल सकेर आयोजना निर्माण थाल्नुपर्नेमा जोड दिए ।

नलगाड आयोजना क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुंगा हुने मन्त्री पुनको भनाइ थियो । उनले आयोजना निर्माणका लागि वैदेशिक लगानी जुटाउन सरकार प्रयासरत रहेको जानकारी पनि दिए ।

जापानी सहयोग नियोग (जाइका) ले नलगाडमा लगानीको इच्छा देखाएको भन्दै उनले विभिन्न चरणमा मन्त्रालय र जाइकाबीच लगानी बारे संवाद भइरहेको जानकारी दिए ।
यस्तै, वन तथा वातावरण मन्त्री बस्नेतले जाजरकोट र समग्र कर्णालीको मुहार फेर्ने आयोजना निर्माणमा ढिलाई हुन नहुने बताए ।

सम्बन्धित क्षेत्रको प्रतिनिधिसभा सदस्यको हैसियतमा आफूले आयोजना निर्माणको काम अघि बढाउन संघ, प्रदेश, स्थानीय तह र स्थानीय प्रभावित क्षेत्रका जनताबीच समन्वयको काम गर्ने उल्लेख गरे । यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आयोजना निर्माणमा आवश्यक सबै प्रकारको समन्वय गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाए । छलफलमा कम्पनीका अध्यक्ष पन्तले कन्सलटेन्टसँग समन्वय गरेर डीपीआरको काम तत्काल सक्ने जानकारी दिए ।

नलगाड गाउँपालिका–७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ आधेरी खोलामा आयोजनाको बाँधस्थल छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुनेछ ।

६ किलोमिटरको जलासय र २ सय १० मिटर अग्लो ड्याम तथा ८ं.२ किलोमिटर लामो सुरुङ बन्नेछ । बाँधस्थलदेखि विद्युत गृहसम्मको पहुँच मार्ग निर्माणको काम यसअघि नै सकिएको छ ।

यस्तै, कुल ४ हजार ६ सय ५ रोपनी जमिनका लागि वितरण गरिनुपर्ने २ अर्ब ७६ करोड रुपैयाँ मध्ये २ अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरण सकिएको छ । यो कुल मुआब्जाको करिब ९० प्रतिशत हो । ठूलो भेरी नदीको शाखा नदीमा बन्ने आयोजना निर्माणका लागि १ सय ४२ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान छ ।

छुटाउनु भयो कि ?