Madhyabindu News App
आर्थिक

तिनाउ नदीमा एक लाख माछाका भुरा छाडियो

Madhyabindu Online

बुटवल – रुपन्देहीको तिनाउ नदीमा एक लाख माछाका भुराहरु छाडिएको छ । विश्व मत्स्य दिवसको अवसर पारेर शनिबार बेथरी पुल नजिकबाट तिनाउ नदीमा माछाका भूरा छाडिएको हो ।

लुम्बिनी प्रदेशको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोत केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई, जिल्ला मत्स्य व्यवसायी संघ लागायतले तिनाउ नदीमा माछाका भुरा छाडेका हुन् ।

मत्स्य विकास निर्देशनालयका अनुसार ४ जातका एक लाख माछाका भुरा तिनाउमा छाडिएको हो । पछिल्लो समय बाढी पहिरो, उद्योगहरुबाट निस्कने रासायनिक पदार्थ, फोहोरमैला, करेन्ट लगाउँदा नदीमा माछा घट्दै गएका छन् । जसले गर्दा जैविक विविधतामा असर गरेको छ ।

पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुल्सीराम भण्डारीले पानीको विविधतालाई सन्तुलन राख्न र मानव शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण पौष्टिक तत्व प्रदान गर्न माछा महत्वपूर्ण भएको बताए ।

रुपन्देहीमा १ हजार ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा ५ हजार हाराहारी पोखरीमा माछापालन हुँदै आएको छ । जिल्लामा मात्रै वार्षिक करीब ६ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।

Tags

छुटाउनु भयो कि ?