Madhyabindu News App
कला-साहित्य

किम्फको १८ औं संस्करण आजबाट सुरु हुँदै

Madhyabindu Online


A A- A+

काठमाडौँ – काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १८ औं संस्करण भर्चुअल रुपमा आजबाट सुरु हुँदैछ । आजदेखि आगामी २९ गते (डिसेम्बर १० देखि १४) सम्म यो महोत्सव हुने भएको हो । यो पटक १५ देशका १८ फिल्महरु प्रदर्शनका लागि छानिएका छन् ।

त्यस्तै ‘नेपाल पानोरामा’ अन्तर्गत १३ कथानक र डकुमेन्ट्री देखाइनेछ । फिल्म प्रदर्शनसँगै भर्चुअल रुपमा अन्तर्क्रिया र परिसंवाद कार्यक्रम पनि संचालन गरिने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय फिल्महरुमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक क्रिडाकर्म समेटिएका छन् । नेपाल पानोरामामा प्रतिभाशाली युवा नेपाली फिल्मकर्मीको प्रस्तुति देखाइने छ ।

कोरोना महामारीले उत्पन्न गरेको संकटसित जुध्दै आशा र विश्वासका साथ अघि बढ्ने ध्येयअनुसार फेस्टिलको यसपालीको सन्देश ‘तमसोमा ज्योतिर्गमय’ राखिएको छ । किम्फको उद्घाटन चर्चित भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ फिल्म ‘लुकिङ फर अ लेडी विथ ल्याङ्गस एन्ड अ मुस्ट्याच’को प्रदर्शनबाट हुनेछ । फिल्मको सम्पूर्ण छायांकन नेपालमै गरिएको थियो । फेस्टिभलमा रिम्पोचेले भर्चुअल प्रवचन दिनेछन् ।

अन्तर्राष्ट्रिय खण्डमा १५ देशका १८ वटा चलचित्र र नेपाल पानोरामातर्फ १२ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । अन्तर्राष्ट्रिय खण्डतर्फ पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः रु २ लाख, रु १ लाख ५० हजार र रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट ठहरिने नेपाली कथानक चलचित्र र उत्कृष्ट डकुमेन्ट्रीको पुरस्कार राशी क्रमशः १ लाख रुपैयाँ र ७५ हजार रुपैयाँ रहेको  छ र पुरस्कार रकम क्रमशः मिला प्रोडक्सन्स तथा चलचित्र विकास बोर्डले उपलब्ध गराएको हो ।