Madhyabindu News App
कला-साहित्य

पर्दा उघारी हेरौं न

Madhyabindu Online


A A- A+

सुशीला शर्मा

मनहरुका कुरा
अनि धनहरुका कुरा
साँच्चै खोजिरहेछौं त हामी
बराबरी र समानताका कुरा ?
मनसायहरु सब सार्वजनिक छन
या केवल एक व्यक्ति भएर
सोचिन्छन अनि भनिन्छन
यो समाजकै लागि हो ?

आफू र अस्तित्व आफैंबाट
सञ्चालन गर्ने भन्दा पनि
रंगिन “कभर” बाट चलिरहेका
बेमतलव र बेतालका चाहना
र उत्कण्ठाहरु सलबलाईरहेछ
भ्रमजालले हो कि
खै के के तालले हो
नबुझि आफैंलाई
मोह छ प्रदर्शनको
त्यहाँ गरिवी छैनन
पीडा छैनन,पीडाको विरुद्ध
अभिव्यक्ति छैन
छ त केवल उही
उक्साउने र भड्काउने
दुई थरी आवाज
यस्तै गरी चलिरहेछ भो
बर्तमान ।

यान्त्रिक मन
अनि यान्त्रिक चेतना
साँच्चै मनभित्रका आवाजहरु
के हुन त ?
केवल एक व्यक्ति अनि
केवल शरीर र
शरीरको बस्तुकरण ?
तरङ्ग ल्याउनुपर्ने
छाल उठ्नुपर्ने
कयौं दुःख र महामारीका
पेटाराहरु, कुनामा थन्किएर
सायद, मिति सकिएको
खाद्यान्न झैं
एक कुनामा ढुसी लागिरहेछन् ।
लाग्दैछ हाम्रो आवाज
मत्थर भएको छ केवल
रमझम र रंगिन पर्दाभित्र
एक पटक सोचिहेरौं न
यथार्थ ढाक्ने पर्दा
उघारी हेरौं न ।