पञ्चाङ्ग निर्णायक समितिमा धर्मशास्त्र र ज्योतिष विज्ञलाई नियुक्त गर्न माग

युवालाई विदेश होईन देशमै रोजगारी देउ – ट्रेड युनियन कांग्रेस
काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेसले युवालाई विदेश नभई देशमै रोजगारीको ग्यारेन्टी गर्न सरकारसंग आग्रह गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा युनियनको आप्रवासन विभागले शुक्रबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा अगाडि सारेको हो ।
कार्यक्रममा दक्षिण एसियायी ट्रेड युनियन परिषद् (सार्कटुक) का महासचिव लक्ष्मण बहादुर बस्नेतले वैदेशिक रोजगारमा धेरै दुख कष्ट तर तलब सुविधा न्यून रहेकोले आप्रवासी श्रमिकलाई संगठित गरि उनीहरुको हक अधिकारको आवाज उठाउनु पर्ने बताउँदै सकेसम्म देशमै रोजगारी सृजना गराउन सरकारलाई दबाब दिनु पर्ने धारणा राखे ।
ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले सरकारले वैदेशिक रोजगारी बाट पठाएको रेमिट्यान्सलाई मिठो माने पनि श्रमिकका समस्यालाई वास्तै नगरेको बताउँदै युनियनले आप्रवासी श्रमिकको समस्यालाई प्रमुख मुद्दा बनाई अगाडि बढिरहेको बताए ।
युनियनका उपाध्यक्ष अजयकुमार राईले आप्रवासी श्रमिकको मुद्दा गरिब मुलुकको मात्र नभई सबैको भएकोले सबैसंग सहकार्य गरि अगाडि बढ्नु पर्ने बताए । महासचिव योगेन्द्र कुवरले युनियनको प्रमुख मुद्दा युवालाई देशमै रोजगारी सृजना गराउनु पर्ने रहेको बताए । साथै वैदेशिक रोजगारलाई तत्काल रोक्न नसक्ने भएकोले सुरक्षीत र मर्यादित काम अनिवार्य सर्त रहेको धारणा राख्दै आप्रवासी श्रमिकको हकहितमा काम गर्न युनियनले विभिन्न मुलुकहरूमा सपोर्ट ग्रुप बनाईरहेको जानकारी दिए ।
केन्द्रीय सदस्य बलदेव तामाङ, भन्सार विमानस्थल श्रमिक संघका अध्यक्ष केदारनाथ दाहाल , आप्रवासन विभागका सहसंयोजक सिताराम खत्री लगायतले आप्रवासी श्रमिकको समस्या समाधान गर्न गन्तव्य मुलुकको ट्रेड युनियन , सरकार , आईएलओ जस्ता निकायहरूसंग मिलि काम गर्नु पर्ने बताए । कार्यक्रममा युनियनको आप्रवासन विभागका सचिव लक्ष्मण अधिकारीले आप्रवासी श्रमिकलाई मर्यादित कामका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रम विभागका संयोजक जनक पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।