Madhyabindu News App
विचार-ब्लग

गाली सँग जोडिएको नेपाली राजनिती

Madhyabindu Online


A A- A+

भवनाथ आचार्य

नेपाली राजनीति असल संस्कार एवं समाजका लागि उपयोगी संस्कृति भन्दापनी गालि-गलौज रआरोप प्रत्यारोपमा गुज्रीरहेको अवस्था छ ।नेपालमा तिस बर्षे पञ्चायती व्यवस्थाको अन्त्य सँगै ०४६ सालमा आएको प्रजातन्त्र पश्चातका दशकभन्दा बढी समय कांग्रेस–कम्युनिष्टको आपसी कलह र झगडामा सकियो । उता, दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रको शाही कु पछि ‘राजाको जयजयकार’ गर्ने भजन मण्डली हरूले ताली बजाउँदै लोकतन्त्र र राजनीतिक दलतर्फ धारे हात लगाएर देखावटीनै किन नहोस सरापेरै आफ्नो मानो पचाए ।

पछी सशस्त्र समूहको नेतृत्वकर्ता माओवादीको उग्र परिवर्तनकारी भनिएको नारा र आन्दोलनको गाली एकातर्फ थियो भने तिनै माओवादीलाई ‘आतंककारी’ को संज्ञा दिंदै गाली गर्दैै दुत्कार्नेहरूको पनी कमि थिएन  । परिवर्तित व्यवस्थाका रुपमा गणतन्त्र आएपछि पनि नयाँ संस्कार र संस्करणमा गालीको संस्कार तथा संस्कृति कम हुनुको साटो झन बढ्न पुग्यो ।नेपाली नागरिकको लामो संघर्ष र वलिदानी बाट प्राप्त उपलब्धिको रक्षा गर्नुको साटो त्यसैको जगमा टेकेर त्यहि व्यवस्थाको मर्ममै प्रहार गर्न लागीपरेको देखिए नेपालका अधिकांश राजनितिक दल र त्यसको नेतृत्व तह ।

केही अतिवादी र व्यवस्था विरोधी तत्वहरुले गणतन्त्र भनेकै अर्कालाई गाली गर्नका लागि आएको राजनीतिक प्रणाली हो भन्ने प्रमाणित गर्ने दुश्प्रयास गरिरहे । गणतन्त्रमा जसलाई जस्तोसुकै गाली गर्ने छुट हुन्छ भन्ने मान्यतानै स्थापित गर्ने खालको गलत बाटोमा दलिय नेतृत्वनै जानिनजानी लागी रह्यो यद्यपी यो कायमै छ। पछिल्लो समय आफूलाई गणतन्त्र, प्रणाली, विधि, पद्धति र राजनीतिक संस्कृतिको वाहक भन्न रुचाउने शक्ति र समूहले संसद्को विघटन भएपछि गालीको वर्षा ओकल्न थालेका छन् ।  कति गाली गर्ने ? कसलाई गाली गर्ने ? के के गाली गर्ने ? कस्ता शब्द–वाक्यमा गाली गर्ने ? केसम्म आरोप लगाउने ? भन्ने कुराको यहाँ कुनै ठेगान र टुंगो हुन छाड्यो ।

नेपालमा संसद् विघटनपछि नेकपाका दुवै समूहले एकअर्काेलाई लगाएको आरोप–प्रत्यारोपको श्रृंखला हेर्दा सुन्दा हेर्ने सुन्नेलाईनै लाज लाग्ने अवस्था छ ।मुलुकको कार्यकारी प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली एउटा कलाकारको शैलीमा आजका मितिसम्म आफ्नै समकक्षीका रुपमा रहेका अर्का अध्यक्ष प्रचण्डलाई ‘हत्यारा, ज्यानमारा, लुटेरा’ आदि-इत्यादी शब्द प्रयोग गरी निर्लज्ज ढंगले प्रस्तुत भएका छन् भने उता, अर्का अध्यक्ष प्रचण्ड लगायतका शिर्ष नेतृत्व प्रधानमन्त्रीलाई राजावादी, भारत परस्त देखि लिएर पागल सम्मको आरोप र गाली गरिरहेका छन् ।

आफ्नो समूह वा पार्टीको नीति यो हो,अबको हाम्रो योजना, आधार, गन्तव्य, र लक्ष्य यी–यी हुन् भन्ने कुरा जनता सामु प्रष्ट रुपमा राख्दा के बिग्रिन्छ ? किन यस्ता पक्षमा बहस, क्रिया, छलफल र तर्क-वितर्क हुन्नन् ? आफूअगाडि उभिएका वा आफ्ना वरिपरि रहेका मानिसलाई गालीको भरमा उत्तेजित पारेर अरुमाथी प्रहार गर्नु मात्र राजनीतिक संस्कृति हो त ? यसले हामीलाई कस्तो राजनीतिक संस्कार देला ? पछिल्लो पुस्ताका राजनितिमा चासो र चिन्ता लिनेहरुका लागी यस्ता कार्यले के सन्देश देला ? यस्ता सवाल नेपाली राजनीतिमा गम्भीर भएर चुनौतिकासाथ उभिएका छन् ।

राजनीति सबै नीतिको पनि नीति हो । राजनीतिमा भएको संस्कृतिको प्रभाव समाजका सबैजसो नीति, संगठन, समूह र नागरिक समाजको तहमा पुग्ने हुन्छ । यस्तो महत्वपूर्ण उपरी संरचनामा हुने निष्कृष्ट गालीको वर्षाले हाम्रो समाज ध्वस्त बन्न कतिबेर लागछ ?राजनितिको मूल उद्देश्य भनेकै भोलिको युवा पुस्तालाई सुसंस्कृत बनाउने, असल चरित्रको बनाउने र सभ्य नागरिक बनाउने र यिनैको जगमा समृद्ध मुलुक बनाउने भन्ने हो ।  तर,यो तरिकाले हाम्रा कलिला विद्यार्थी, नेपाली समाज र सिंगो मुलुकमा त्यसको के–कस्तो असर र प्रभाव पर्ला ? यो अति नै संवेदनशील विषय हो ।

भर्खर नयाँ संविधान जारी गरी गणतन्त्र र संघीयतामा गएको नेपाली राजनीतिमा प्रयोग भइरहेका यस्ता गाली-गलौजको संस्कृतिले हाम्रो मुलुकमा लामो संघर्ष र वलिदानिबाट प्राप्त उपलब्धी अनि सभ्यता र संस्कारनै धरापमा पर्नसक्नेतर्फ बेलैमा सम्बन्धित सबै सचेत बन्नु जरुरी छ । अन्यथा हतारमा गरेको गल्तिका कारण फुर्सदमा पछुताउनु वाहेक कुनै विकल्प हामिसँग बाँकी हुने छैन ।

 

छुटाउनु भयो कि ?