Madhyabindu News App
अन्तर्राष्ट्रिय

म्यानमारमा एक वर्षका लागि संकटकाल घोषणा

Madhyabindu Online


A A- A+

काठमाडौं – म्यानमारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो ।

गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ । नेतृ आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घन्टापछि सेनाले उक्त जानकारी दिएको हो ।

नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक ‘कू’ को खबर आएको छ । सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ ।

स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्ट लगायत नेतालाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ ।

सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो । गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो ।

सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ । नयाँ निर्वाचित तल्ल सदनको पहिलो बैठक पहिलो पटक आज बस्ने योजना थियो । तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो ।

नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको बिबिसीले जनाएको छ ।

छुटाउनु भयो कि ?