Madhyabindu News App
आर्थिक

माघ २१ गतेदेखि जुत्ता, चप्पल तथा व्यापार मेला हुँदै

Madhyabindu Online


A A- A+

काठमाडौं – आगामी २१ गतेदेखि काठमाडौंमा जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा माघ २१ गतेदेखि काठमाडौंको भृकटीमण्डपमा जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना हुने भएका हो ।

स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त यस एशोसिएसनले हरेक वर्ष झै यस वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने भएको हो । आम उपभोक्ताबीचमा आफ्ना उत्पादनहरु पुर्‍याउने परिचित गराउने मुख्य उद्देश्यका साथ समग्र बिग्रिएको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारीक र व्यावसायीक कृयाकलापलाई सहज बनाउन मेला आयोजना गर्न लागिएको हो ।

एशोसिएसनको आयोजनामा हुने मेला फागुन १० गते सम्म चल्ने आयोजकले जनाएको छ । काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एफम्यानका अध्यक्ष कृष्ण कुमार फुयालले भने, ‘हामीले विषम परिस्थितिमा समेत गर्दै आएको यस प्रकारको मेला गत वर्ष फैलिएको कोभिड–१९ को माहामारिका कारण गर्न नसक्दा आम उपभोक्तालाई पर्न गएको असरलाई मध्य नजर गर्दै हामीले सुरक्षालाई ध्यानमा राखेर फुटवेयर विजनेस एक्स्पो २०२१ आयोजना गर्न गइरहेको छौं ।’

मेलाले नेपाली जुत्ता चप्पल प्रेमीलाई एकै स्थानमा सबै ब्राण्डका जुत्ता चप्पल आर्कषक छुटका साथ उपलब्ध गराउने आयोजकले जनाएको छ । कार्यक्रममा एफम्यानका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले भने, ‘विगत एक वर्षदेखि अर्थतन्त्र थलिएका कारण नेपाली ग्राहकको क्रयशक्तिमा आएको ह्रासलाई ध्यानमा राखेर फुटवयर क्षेत्रलाई चलायमान बनाउँदै लैजाने उद्देश्यका साथ एक्स्पो आयोजना गरेका छौं ।’

स्वदेशी वस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ सुरु हुन लागेको यो एक्स्पोमा ग्राहकले भारी छुटका साथ सामान खरिद गर्न पाउने छन् । फुटवेयर एक्स्पो २०२१ मा नेपाली ब्राण्डहरु फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक/आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बीएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायत सहभागी रहेका छन् ।

छुटाउनु भयो कि ?