
कपिलवस्तुमा आजबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
कपिलवस्तु – कपिलवस्तुमा आइतबार (आज) बाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता वाणगंगा नगरपालिकास्थित पिपरामा आईतबारबाट हुँदैछ ।
प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिबल प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले ७० हजार, तृतीयले ४० हजार र सान्त्वना हुनेले २० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ६ वटा मावि सहभागी हुने छन् । त्यस्तै पोखराको शान्ता भलिबल क्लब र काठमाडौंको होङसी न्यूडायमन्ड महिला भलिबल क्लब गरी ८ टोली सहभागी हुनेछन् ।
३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा त्रिभुवन आर्मी, सशस्त्रको एपीएफ आबद्ध र राष्ट्रिय प्रतियोगिता खेलेका उत्कृष्ट खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक हिलबर्ट बोडिङ स्कूलका अध्यक्ष दिपक खनालले बताए ।