Madhyabindu News App
अन्तर्राष्ट्रिय

म्यानमारका मुख्य सहरमा सेना, इन्टरनेट फेरि अवरूद्ध

Madhyabindu Online


A A- A+

काठमाडौं – दुई साताअघि ‘कू’ मार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले प्रदर्शनलाई निस्तेज पार्न सडकमा बख्तरबन्द गाडी निकालेको छ । फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि पछिल्लो साता म्यानमारमा दिनदिनै ठूल्ठूला प्रदर्शनहरू भइरहेका छन् ।

‘कू’ को विरोध गरिरहेकाहरूलाई लक्षित कारबाही सुरु गरिन सक्ने सङ्केतहरू देखा परेका बेला उत्तरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा स्वचालित हतियारबाट गोली चलेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आइतबार साँझ राजधानी नेपिद असहित व्यापारिक सहर रंगुन, राखिन प्रान्तको राजधानी लगायत सहरका सडकमा बख्तरबन्द गाडी गुडेका छन् ।

सबैभन्दा ठूलो सहर याङ्गुनमा सैन्य अधिकारीहरू सडकमा उत्रेको विवरण आइरहेका बेला म्यान्मारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले भने हिंसाको प्रयोग नगर्न आग्रह गरेका छन् । स्थानीय समय अनुसार दिनको १ बजेदेखि त्यहाँ इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ । संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले सेनाले जनताविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् ।

अमेरिका, बेलायत, क्यानडा, इयूसहितका राजदूतहरूले आइतबार एक विज्ञप्ति जारी गर्दै गत साता सेनाले गरेका गिरफ्तारी र इन्टरनेट बन्दजस्ता विषयमा चासो राखेका थिए । युरोपेली संघ (इयू), अमेरिका र यूकेले हस्ताक्षर गरेको एउटा वक्तव्यमा भनिएको छ, “हामी सुरक्षा निकायलाई वैध सरकार हटाइए विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी भएकाहरू माथि हिंसा नगर्न आग्रह गर्छौँ ।”

दूरसञ्चार सेवा प्रदायकहरूका अनुसार उनीहरूलाई स्थानीय समय अनुसार आइतबार १ बजे देखि सोमवार ९ बजेसम्म इन्टरनेट सेवा बन्द गर्न निर्देशन दिइएको छ ।

छुटाउनु भयो कि ?