Madhyabindu News App
राजनीति

ज्यानमाथि खतरा छ भन्ने प्रधानमन्त्री चाहिँदैन – गगन थापा

Madhyabindu Online


A A- A+

सर्लाही – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गगनकुमार थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिएका छन् । मङ्गलवार सर्लाहीको दक्षिण-पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आम सभामा उनले यस्तो बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका थापाले सयौं सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री आफैले ‘मेरो जीउ ज्यान असुरक्षित छ’ भन्दै हिँड्नु लज्जास्पद रहेको बताए । आफै असुरक्षित महसुस गर्ने प्रधानमन्त्रीले जनताको सुरक्षा गर्न नसक्ने भन्दै थापाले प्रधानमन्त्री ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिए । थापाले अहिलेको प्रधानमन्त्रीबाट जनताले कुनै अपेक्षा नराखेको भन्दै अब उनलाई बिदा गर्नु पर्ने बेला आएको बताए ।

थापाले पदको मोहले नेकपाभित्र अहिले भाँडभैलो मच्चिएको बताए । उनले पहिला ओलीको हरेक कदममा साथ दिएका प्रचण्ड र माधव नेपाल लोभमा पर्दा यो स्थिति आएको दाबी गरे । नेता थापाले यसअघि राष्ट्रपतिले चालेका कतिपय कदमको कांग्रेसले प्रश्न उठाउँदा प्रचण्ड र माधव नेपालले साथ दिए पनि अहिले उनीहरु राष्ट्रपतिकै कार्यशैलीबाट सशंकित भइरहेको बताए ।

पदको मोहले गर्दा नेकपाभित्र अहिले भाँडभैलो मच्चिएको भन्दै काँग्रेस केन्द्रीय सदस्य थापाले यसअघि अहिले विरोध गरे पनि पहिले भने प्रचण्ड-नेपाल समूहका नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कामकारबाहीलाई आँखा चिम्लिएर सहयोग गरेको बताए ।उनले यो बेलामा काँग्रेस सरकारमा जाने हतारो गर्नुभन्दा पनि संविधान रक्षाकै निम्ति उभिन जरुरी रहेकोमा जोड दिए ।

सभालाई पार्टीका केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, पार्टीका जिल्ला सभापति एवं सङ्घीय सांसद नागेन्द्र राय, संविधान सभा सदस्य हरेश महतो, पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायलगायतले सम्बोधन गरे ।

पार्टीको ४ नं. क्षेत्रका क्षेत्रीय सभापति राम आश्रय साहको अध्यक्षताको आयोजित कार्यक्रममा झन्डै २ हजारको सङ्ख्यामा अन्य पार्टीका नेता कार्यकर्ता काँग्रेसमा भित्रिएका कार्यक्रम सञ्चालक एवं प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले दाबी गरेका छन् ।

छुटाउनु भयो कि ?