Madhyabindu News App
पत्रपत्रिका

जब बिष्णु पौडेललाई बीष ओकल्न बाध्य पारियो

Madhyabindu Online


A A- A+

काठमाडौं – जो जिता वही सिकन्दर शैलीमा राजनीति सोचेभन्दा फरक ढंगले अघि बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अपरान्हदेखि अप्ठेरोमा पर्नुभएको सहज अनुमान लगाउन थालिएको छ । निकै तामझामका साथ राष्ट्रिय सभागृहमा आयोजना गरिएको विप्लव सार्वजनिक कार्यक्रममा विद्रोही समूहका नेता जति खुशी थिए मञ्चमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सबै सरकारी अनुहार मलिन देखिन्थ्यो । अन्तिम क्षणको चलखेलमा ल अब मिलौं, भेटौं भन्दै डेडलाइन टार्ने सम्भावना साँघुरो बनेपछि हतास मनस्थितिका साथ शुक्रबार साँझ प्रधानमन्त्री ओली बिरामी भेट्ने नाममा शिक्षा मन्त्री कृष्णगोपाल,परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली,गृहमन्त्री बादल,सल्लाहकार बिष्णु रिमाल र राजन भट्टराईको दलबलसहित वामदेव गौतम निवास,भैंसेपाटी पुग्नुभयो ।

हुनतः शुक्रबार बिहानैदेखि अघिल्लो दिन सिंहदरबारमा भएको नेता घनश्याम भुसाल र शंकर पोखरेल तथा गौतमसँग बालुवाटार समूहका नेताको भेटघाट सार्वजनिक खपतका लागि मात्रै भएको अर्थ्याउन थालिएको थियो । विगतदेखि नै अप्ठेरोमा गाँठो फुकाउन सक्ने र सप्ठेरोमा गाँठो पार्नसक्ने नेताको रुपमा परिचित अर्थमन्त्री तथा ओली समूहका महासचिव विष्णु पौडेल फागुन ११ पछि लगभग मुख बन्द गरेर बस्नुभएको थियो ।

तर, बिहीबार बुटवलमा उग्र धारणा राखेपछि सबैले राजनीतिक माहोल बालुवाटारको विपक्षमा बनेको अड्कल लगाइसकेका थिए । बालुवाटारका साइबर सेनाले समेत राजनीति अन्तिम क्षणमा आफ्नोतर्फ ढल्कने सम्भावनालाई बिहीबारबाटै माया मारेका थिए । किनभने, फैसलापछि सार्वजनिक रूपमा कहिँकतै नबोल्नुभएका पौडेलले बुटवलमा उग्र बोलेपछि त्यहि अभिव्यक्तिले धेरै कुराको संकेत गरेको हो ।

बालुवाटारको किचेन क्याबिनेटका कमरेडहरुले पनि भन्न थालेका छन् ‘गर्नसक्दा उहाँ नै हो । माधवदेखि प्रचण्डसम्मका नेतालाई मिलाउनसक्ने पौडेल नै एक्लो हो । शंकर र प्रदिपहरूको पहललाई माधवले एक कौडीको भाउ दिँदैनन् । त्यसैले पौडेलसँग हाम्रो पक्षका नेताहरूले ठूलै अपेक्षा गरेका थिए ।’ पौडेल मौन रहेको विषयलाई ओली पक्षका केही नेताले गलत व्याख्या गरेको समेत बताइन्छ ।

उनीहरुले भित्रभित्रै पौडेलको माधव र प्रचण्डसँग निकटता चलिरहेको शंकासमेत गरेका थिए । पार्टीभित्रै नकारात्मक धारणा बनेकाले पनि उहाँले बिहीबार बुुटवलमा कुनै स्पेश नराखी कित्ताकाट गरेको बताइन्छ । लामो समयसम्म तत्कालीन एमाले महासचिव रहेका अध्यक्ष माधवकुमार नेपालप्रति उहाँले अस्वाभाविक ढंगको आरोप लगाउनुभएको थियो ।

तर, शुक्रबार उत्पन्न नयाँ ढंगको राजनीतिक समीकरणको छनकपछि नेकपा (बहुमत) का एकथरि नेताले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरे के हुन्छ ? भनेर ‘हाइपोथेटिकल’ जिज्ञासा राख्न थालेको समेत देखिएको थियो । तर, अधिकांशले भने प्रधानमन्त्री ओलीले राजीनामा दिएर परिस्थितिलाई सहज बनाउनुको सट्टा जेरीझैँ जेल्ने बाटो खोजिरहेको अनुमान लगाएका छन् ।

उनीहरुको तर्क छ ‘हामीसँग के छ र पहल गर्ने ? सबै कुरा उनीसँगै छ । हाम्रो हातमा के छ ? प्रतिनिधिसभा विघटन गरे,हामीले बिरोध गर्यौं । भदौ २६ को सहमति उनैले उल्लंघन गरे, हामीले बिरोध गर्यौैं । अहिले उही बालुवाटार काँग्रेससँग प्रधानमन्त्री बचाउने दाउमा हिँडिरहेको छ । उसले पहल गर्दा सबैथोक चोखो हुने, अरुको त्यहि पहल बिटुलो हुने अचम्मको सिद्धान्त देखिएको छ ।’

नेकपा (बहुमत) स्रोत भन्छ ‘के चुनाव हुने भएको भए नेकपाले जित्थ्यो ? ओलीले जे भने पनि काँग्रेस नै आउँथ्यो । बरु कोरोनाको यो महामारीमा अदालतको आदेशपछि अरबौं रुपैयाँ जोगिएको छ । मण्डले पृष्ठभूमिका युवराज खतिवडालाई अर्थमन्त्री बनाएर पुलपुलाएको परिणाम अहिले ओलीले मुलुकको आर्थिक बृद्धिदर ऋणात्मक पाएका छन् ।’

बुधबारसम्म निकै गर्जिंदै आउनुभएका प्रधानमन्त्री ओली बिहीबारबाट हतास मनस्थितिमा देखिनुभयो । शुक्रबार झापाको सुखानीमा आयोजित कार्यक्रमलाई हापेर काठमाडौंमै बस्नुले पनि त्यो पुष्टि गरेको छ । आफ्नो विपक्षमा कसिलो बन्दै गएको राजनीतिक परिस्थितिबारे बिहीबार राती राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

पछिल्ला केही दिनदेखि उहाँले अरु सबै छाडेर प्रचारमुखी कार्यक्रममा ध्यान केन्द्रित गरेको देखिएको छ । ठेक्का नलागेको आयोजना उद्घाटन गर्नु र विप्लवसँगको सम्झौता आफूलाई केन्द्रमा राखेर ध्यान अन्यत्र मोड्ने प्रयास हो । किनभने हतारमा गरिएको तीन बुँदे सम्झौताको उद्देश्य अन्तरिम सरकारको ‘झ्याउलो’ उठाउन सकिन्छ कि भन्ने अन्तिम प्रयास हो । जन आस्था बाट ।

छुटाउनु भयो कि ?