Madhyabindu News App
स्थानीय तह

सुनकोशीका पहिरोपीडितलाई दिइने घर कांग्रेस नेता बस्नेतद्वारा शिलान्यास

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – सुनकोशी गाउँपालिका ६ धुसेनीका पहिरोपीडित दुई महिनाभित्र नयाँ घरमा सर्ने भएका छन् । गएको भदौ १४ मा गएको पहिरोले घर बगाएपछि टेण्टमा आश्रित तीन परिवारले नयाँ घर पाउने भएका हुन् ।सुनकोशीको धुसेनीमा गएको पहिरोले स्थानीय खिलबहादुर भण्डारी, चेतबहादुर भण्डारी र इ बहादुर भण्डारीको घर बगाएको थियो ।

मंगलबार पूर्व सूचना तथा सञ्चार मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पहिरोपीडितका लागि नयाँ घरको शिलान्यास गरेका छन् । गाउँपालिकाले हरेक पहिरो पीडितका लागि नयाँ घर बनाउन पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप घरको शिलान्यास गरिएको हो । गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले पहिरोले घर बगाएकै दिन नयाँ घर बनाउन पाँच लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

शिलान्यास गरिएको घर एकै किसिमको हुने र अबको दुई महिनाभित्रै पीडितलाई हस्तान्तरण गरिने सुनकोशी गाउँपालिका वडा नं. ६ का अध्यक्ष रामकुमार थापाले जानकारी दिए । ‘गाउँपालिकाका प्राविधिकले बनाएको स्टिमेटअनुसारको घर बन्नेछ,’ उनले भने, ‘नक्सालगायत सबै तयारी सकेपछि शिलान्यास गरिएको हो ।’

गाउँपालिकाले दिने पाँच लाख रुपैयाँमा पीडितले तीन लाख रुपैयाँ घरको डिपीसी गरेपछि र बाँकी दुई लाख निर्माण सम्पन्न भएपछि पाउने उनले बताए ।

घरको शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापती बालकृष्ण बस्नेतले तीनै जना पीडितलाई घर बनाउनका लागि जनही पच्चीस हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

छुटाउनु भयो कि ?