Madhyabindu News App
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले यमनमा शान्ति योजनाको प्रस्ताव अघि बढायो

Madhyabindu Online


A A- A+

काठमाडौं – साउदी अरेबियाले यमनमा भएको झण्डै ६ वर्ष लामो युद्ध अन्त्यका लागि एउटा नयाँ शान्ति योजना प्रस्ताव गरेको छ ।

साउदी अरेबियाले आफू समर्थक यमनको सरकार र इरानको समर्थन रहेको हुथी विद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न प्रस्ताव गरेको छ ।

यो प्रस्तावमा राजनीतिक वार्ता सुरु गर्न र महत्त्वपूर्ण हवाई तथा जलमार्ग पुन: खोल्ने विषय पनि समेटिएको छ । यमन सरकार र संयुक्त राष्ट्रसंघले यो योजनाको स्वागत गरेका छन् ।

बीबीसीका अनुसार यो प्रस्तावको घोषणा साउदी राजधानी रियादमा विदेशमन्त्री फैसल बिन फरहानले गरेका हुन् । उनले यमनको ठूलो भू-भागलाई नियन्त्रणमा लिएको हुथीहरूलाई यो प्रस्ताव स्वीकार गर्न आह्वान पनि गरेका छन् ।

विदेशमन्त्री फैसल बिन फरहानले हुथीहरूले स्वीकार गर्ने बितिक्कै युद्धविराम कार्यान्वयनमा जाने पनि बताए । तर हुथी विद्रोहीहरूले भने यसमा केही नयाँ नभएको प्रतिक्रिया दिएका छन् । हवाई र जलमार्गमा लगाइएको नाकाबन्दी पहिला हटाउनुपर्नेमा उसको जोड रहेको छ ।

हुथीका प्रमुख वार्ताकार मोहम्मद अब्दुसलामले रोयटर्स समाचार संस्थासँग आफूहरूले साउदी, अमेरिका र मध्यस्थकर्ता ओमानसँग शान्ति सम्झौताका लागि निरन्तर कुरा गर्ने बताए ।

साउदी अधिकारीहरूले आफ्नो कदमबारे संयुक्त राष्ट्रसंघ र अमेरिकासँग समन्वय गरिरहेको बताएका छन् । विश्वकै खराब मानवीय सङ्कट निम्त्याएको युद्ध अन्त्य गर्ने प्रयासमा संयुक्त राष्ट्र संघ र अमेरिका पनि जुटेका छन् ।

छुटाउनु भयो कि ?