Madhyabindu News App
अन्तर्राष्ट्रिय

भारतमा देखियो ‘डबल म्युटेन्ट’ कोरोना भाइरसको नयाँ प्रकार

Madhyabindu Online


A A- A+

काठमाडौं – भारतमा ‘डबल म्युटेन्टु’ अर्थात्‌ उही भाइरसमा एक साथ दुई वटा उत्परिवर्तन हुने कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ ।

भारतका विभिन्न १८ वटा राज्यबाट सङ्कलित दश हजार ७८७ नमूना परीक्षण गरिएकोमा ७३६ जनामा यूके भेरिअन्ट, ३४ जनामा दक्षिण अफ्रिकी र एक जनामा ब्रजिली भेरिअन्ट देखिएको अधिकारीहरूले बताएका छन् ।

भारतमा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको तथ्याङ्क आइरहँदा कोरोनाका नयाँ प्रकार देखिएको हो । तर सरकारले नयाँ प्रकार र पछिल्लो सङ्क्रमण दरबीच सम्बन्ध नदेखिएको जनाएको छ ।

बुधबार मात्रै भारतमा ४७ हजार २६२ जना सङ्क्रमित थपिएका छन् भने २७५ जनाको कोभिडका कारण मृत्यु भएको छ । पछिल्लो वृद्धि सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

भाइरसहरू उत्परिवर्तित हुनु सामान्य हुन्छ र अधिकांश उत्परिवर्तन चिन्ताको विषय हुँदैन तथा त्यसले सङ्क्रमण फैलाउने दरमा परिवर्तन ल्याउने अथवा गम्भीर सङ्क्रमण निम्त्याउने हुँदैन ।

तर यूके र दक्षिण अफ्रिकी भेरिअन्ट अझ बढी सङ्क्रामक हुन सक्ने र कतिपय अवस्थामा घातक हुन सक्ने पनि बीबीसीले उल्लेख गरेको छ ।

भारतमा हालसम्म एक करोड १७ लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने एक लाख ६० हजार व्यक्तिको ज्यान गइसकेको तथ्याङ्क छ ।

पछिल्लो समय सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण तथा रोकथाम गर्ने प्रयासमा थुप्रै राज्यले पुनः प्रतिबन्धात्मक कदम चाल्न थालेका छन्। त्यसमा कर्फ्यूदेखि लकडाउन सम्मका कदम रहेका छन् ।

छुटाउनु भयो कि ?