मुख्य खबर​

प्रधानमन्त्री ओलीले गरे एकैपटक १६५ सडकको शिलान्यास

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोह मार्फत ओलीले १६५ वटै संघीय निर्वाचन क्षेत्रमा सडक शिलान्यास गरेका हुन् ।

१६५ निर्वाचन क्षेत्रमाई आधारभूत रुपमा सडक पूर्वाधारले समृद्ध बनाउने सडक विस्तार कार्यक्रमको लक्ष्य रहेको छ । हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए । सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

हरेक निर्वाचन क्षेत्रका सांसदहरुको सिफारिसमा सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । निर्माण गर्न लागिएका सडकमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकाम, अन्तर्राष्ट्रिय विमानस्थल, र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानलाई जोड्ने किसिमका रहेको भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्बाङले बताए ।

देश विकासमा महत्वपूर्ण टेवा पुग्ने लक्ष्यसाथ एकीकृत रुपमा निर्वाचन क्षेत्र विकास गर्ने लक्ष्य राखिएको नेम्वाङले बताए । बहुवर्षीय ठेक्का अन्तर्गत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन ।

त्यस्तै शिलान्यास गरिएका सडकको कुल लम्बाई २ हजार २ सय १० किलोमिटर रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले ५७ अर्ब १० करोड रुपैयाँको लागतमा निर्माणमा सो सडक आगामी तीन वर्षभित्र सम्पन्न हुने जानकारी दिए । शिलान्यास कार्यक्रममा मन्त्री तथा प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय सभा सदस्यको उपस्थिति थियो ।

छुटाउनु भयो कि ?