एमालेका नेताहरुकाे कार्यविभाजन, नेपाल पक्षको जिम्मेवारी खोसियो (सूचीसहित)
थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू
काठमाडौं – सरकारले बुधबारबाट थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको जनाएको हो ।
बोर्डका अनुसार ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङसँगै ७५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । यो कार्यक्रममा सहभागी भएका बिमितले औषधि र उपचार सेवामा सहुलियत पाउने छन् ।
५ जना सम्मको परिवार भएको बिमितले प्रतिवर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पूर्ण सुविधा लिन पाउने बोर्डले जनाएको छ । बुधबार थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करीब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भइसकेको बोर्डले जनाएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्री स्वास्थ्य मन्त्री ह्देयश त्रिपाठीले स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले धेरै नै महत्व दिएको भन्दै सो कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी लाग्नुपर्नेमा जोड दिए ।
मन्त्री त्रिपाठीले स्वास्थ्य बीमामा सहभागी भएका बिमितको सेवा सुविधामा हेलचेक्र्याइँ नगर्न समेत निर्देशन दिए । सरकारले २०७२ चैत्र २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।
पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो । स्वास्थ्य बीमा सेवालाई सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ ।