
महराको सभामुख पद सिध्याएकी रोशनीको भान्जासँगको अर्को काण्ड पर्दाफास
काठमाडौं – गत २०७६ असोजमा रोशनी शाहीको जताततै चर्चा भयो। त्यसअघि कहिले पनि मिडियामा समेत नसुनिएको शाहीको नाम चर्चामा आउनुको कारण तत्कालिन सभामुख कृष्णबहादुर महरा हो। उनै महरासँग जोडेर शाहीको चर्चा भएको थियो।
जतिबेला शाहीले आफूलाई महराले जबर्जस्तीकरणी प्रयास गरेको आरोप मिडियामार्फत सार्वजनिक गरिन्। अनि एकाएक शाहीलाई मिडियाले पछ्याउन थाले।
यसरी महरासँगको नाम जोडेर चर्चामा आएकी शाहीको अर्को त्यस्तै प्रकरण बाहिरिएको छ। पछिल्लो समय उनले आफ्नै भाञ्जा पर्नेलाई जबर्जस्तीकरणी प्रयासको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएको घटना बाहिरिएको हो।
महरा प्रकरणजस्तै शाहीले पछि फेरि घटना अस्वीकार गरेको पाइएको छ। उनले ‘रिसको झोकमा’ जाहेरी दिएको भन्दै प्रहरीसमक्ष घटना नभएको बताएकी हुन्। घटना जाजरकोटको हो।
रोशनी पछिल्लो समय श्रीमानसँग सम्पत्ति संरक्षणसम्बन्धी मुद्दाका कारण जाजरकोट पुगेकी थिइन्। उनको वारेसका रुपमा लोकेन्द्र शाही थिए। भान्जा नाता पर्ने लोकेन्द्र रोशनीलाई लिन नेपालगञ्ज पुगेका थिए।
कोहलपुरबाट जाजरकोट जाने क्रममा उनीहरु कोहलपुरमा बास बसेका थिए। त्यसक्रममा विवाद भएपछि रोशनीले इलाका प्रहरी कार्यालय कोहलपुरमा लोकेन्द्रले आफूमाथि जबर्जस्तीकरणी प्रयास गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।
लगत्तै प्रहरीले पनि लोकेन्द्रलाई पक्राउ गरेर जाहेरीसहित जाजरकोट पठाइदिएको जाजरकोटका प्रहरी निरीक्षक (इन्सपेक्टर) यमबहादुर मल्लले जानकारी दिए।जाजरकोट प्रहरीसमक्ष जाहेरी पुगेपछि भने घटनाले अर्कै मोड लियो।
प्रहरीसमक्ष रोशनीले आफूमाथि बलात्कार प्रयास नभएको बयान दिइन्। रिसको झोकमा जाहेरी दिएको रोशनीले बताएको मल्लको भनाइ छ। त्यसपछि वकिलको रोहबरमा मिलापत्र गरेर दुवै जनालाई छाडिएको प्रहरी निरीक्षक मल्लले बताए।
त्यतिमात्र होइन जाजरकोटको एक होटलमा रोशनीले आत्महत्याको प्रयास समेत गरेको पाइएको छ। खलंगा बजारस्थित होटल र्याडिसनमा भाञ्जा लोकेन्द्रसँगै विवाद भएपछि उनले होटलको सिलिङ फ्यानमा सलको पासो लगाएर आत्महत्याको प्रयास गर्दै गरेको दृश्य मोबाइलमा खिचेर छोरीलाई पठाइन्।
त्यसपछि छोरीले अमेरिकाबाट आत्तिएर बुबालाई जानकारी गराएको र रोशनीका श्रीमानले प्रहरी र जाजरकोटका सिडीओलाई खबर गरेपछि प्रहरीले होटलमा पुगेर उनको तत्काल उद्दार गरेको थियो। प्रहरीले उनलाई भेट्दा उनको घाँटीमा पासो बेरिएकै अवस्थामा थियो ।
प्रहरीले उनलाई त्यहाँबाट नेपालगञ्जसम्म सुरक्षा दिएर पुर्याएपछि काठमाडौं पठाइएको थियो।
एकपछि अर्को घटनामा अरुलाई अरोप लगाउने र बयान बदल्ने गर्नुले रोशनीमा मानसिक समस्या रहेको बुझ्न सकिन्छ। झूठो जाहेरी दिएपनि उनको मानसिक अवस्थाकै कारण रोशनीमाथि प्रहरीले कारबाही गर्न सकिरहेको छैन।