Madhyabindu News App
अन्तर्राष्ट्रिय

अमेरिकामा बस्ने सबै नेपालीको अभिभावक बन्न तयार छु – सुवेदी

Madhyabindu Online


A A- A+

काठमाडौं – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको महासचिवमा नवराज सुवेदीको उम्मेदवारी रहेको छ । दोलखाको मकैबारिमा जन्मिएर नेपालमा उच्च शिक्षा हासिलगरी लामो समयसम्म प्राध्यापनसमेत गरेका सुवेदी डिभी परेर अमेरिका पुगेका हुन् ।

विगत तीन वर्षदेखि अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका सुवेदीले अमेरिकामा जाने प्रायःनेपालीलाई आफ्नो क्षेत्रबाट आफूसक्दो सहयोग गर्ने गर्दछन् । नेपालमै हुँदा विभिन्न संघ संस्थामा कामगरेको आधारमा आफुले संगठनलाई नेतृत्व दिनसक्ने भन्दै महासचिवमा उम्मेदवारी दिएको उनले बताए ।

तीन वर्षदेखि अमेरिकामा रहदै गर्दा उनले बाढी–पहिरो, भूकम्पलगायतका विभिन्न दैविक प्रकोप तथा अन्य समस्यामा परेका नेपालीको लागि आर्थिक सहयोगसमेत गरेका कारण यस्ता निर्णय गर्नमा आफू सजग रहदै एनआरएनएको हितमा काम गर्न आफूले उम्मेदवारी दिएको उनको भनाइ रहेको छ ।

सहयोगी भावना र कुशल नेतृत्व शैली भएका सुवेदीले आफ्नो नेतृत्वले अमेरिकामा रहेका हरेक नेपालीको समस्यामा साथ दिने दाबी गरेका छन् । एनआरएनएले बालुवाटारको सरकारी जग्गामा लगानी गरेर संस्थाको बदनाम गर्ने काम गरेको उनको तर्क छ । साथै नेपालका भूकम्प पीडितलाई घर बनाइदिएर मात्रै नपुग्ने उनको मत रहेको छ ।

करिब ५ लाख नेपाली बसोबास गर्ने अमेरिकामा लगभग २० हजार मात्रै (एनआरएनए) मा आवद्द भएको भन्दै सुवेदिले आफ्नो नेतृत्वले अमेरिकाबासी आम नेपालीको प्रतिनिधित्व गर्ने बताए । आफुले कुनै गुटको पुच्छर नसमातेको बताउँदै उनले नेपालीको हकहित र अधिकारको पक्षमा गठित यो संस्था संस्थाको मर्म अनुसार नचली व्यवसायिक ढंगले अघि बढेकोले त्यसलाई संस्थागत गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

अबको एजेण्डा के हुन्छ भन्ने प्रश्नको जवाफमा सुवेदिले अमेरिका जस्तो मुलुकमा छरिएर रहेका आम नेपालीहरुलाई (एनआरएनए)को छातामुनी गोलवद्ध गर्नु, नेपाल सरकार सँगको समन्वयमा अमेरिकामा शिपमुलक तालिमहरु सञ्चालन गर्ने, अमेरिकाका विभिन्न ५ स्थानहरुमा उद्योग कलकारखाना सञ्चालन गरेर रोजगारीको सृजना गर्ने र संस्थालाई प्रविधिमैत्री बनाउने आफ्नो प्रतिवद्धता रहेको सुवेधिले बताए ।

अबको योजना के हुन्छ भन्ने प्रश्नको जवाफमा नेपालीको समस्यासँग प्रत्यक्ष रुपमा सहभागी रहनुका साथै शैक्षिक क्षेत्रमा सहयोग तथा समन्वय गर्ने, हरेक नेपालीलाई सीपमूलक तालिमको व्यवस्था गर्ने, संघमा कम्तिमा ५० प्रतिशत नेपाली सहभागी बनाउने, सूचना प्रवाहको लागि एनआरएनए एप बनाउनेलगायतका आफ्ना योजना रहेको उनले बताएका छन् ।

संस्था सीमित व्यक्तिको हातमा नभएर विदेशमा रहेका हरेक नेपालीको साथमा रहनुपर्ने बताउँदै त्यहाँस्थित नेपालीहरुमा आपसी सद्भाव कायम गर्न नेपाली, भाषा, परम्परा संस्कृतिको संरक्षणमा लागिपर्नेसमेत बताएका छन् । गैह्र आवासिय नेपालीको नागरिकताको सन्दर्भमा नेपाल – अमेरिका सरकार सँग आवश्यक समन्वयकारी भुमिका खेल्ने बताए ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिसद (एनआरएनए) अमेरिकाको कूल नौ पदाधिकारीको लागि हुने सो निर्वाचनमा करिब दुई दर्जनको उम्मेदवारी रहेको छ । यस्तै परिषदको अमेरिका स्थित २९ ओटा राज्य च्याप्टरको लागि करिब ४ सय जनाको उम्मेदवारी दर्ता भएको हो ।

छुटाउनु भयो कि ?