Madhyabindu News App
गण्डकी प्रदेश

पदभार ग्रहण गरेलगत्तै प्रदेश प्रमुख पौडेलले सभामुखको राजिनामा मागेपछी…

Madhyabindu Online


A A- A+

काठमाडौं – गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा तानिएकी छन् । पदभार ग्रहण गरेलगत्तै पदीय मर्यादा विपरित सभामुखले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएपछि उनी आलोचित भएकी हुन् ।

बुधबार सहिदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभामुखले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएकी हुन् । प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ ।

सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै नवनियुक्त प्रदेश प्रमुख पौडेलले ‘असंवैधानिक’ अभिव्यक्ति दिएकी हुन् । ‘गण्डकी प्रदेश सभा अवरुद्ध गराउने काम त सत्ता पक्षले गरेको होइन । यो अवरुद्ध गराउने काम त प्रतिपक्षीले नै ग¥यो । सत्ता पक्ष त यसलाई नियमित गरौं भन्ने पक्षमै छ नि ! सरकारलाई थाहा नदिएर कसैलाई थाहा नदिइ के त्यस्तो घडी प¥यो कि सभामुखले अनिश्चितका लागि सूचना जारी गरेर लथालिंग पार्ने काम त सभामुखले गर्नुभयो ?’ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेकी छन् ।

प्रदेश सभामा विचाराधीन अविश्वास प्रस्तावसमेत निश्क्रिय भइसकेको ठोकुवा गर्दै प्रदेश प्रमुख पौडेलले अगाडि भनेकी छन्, ‘सभामुखको राजीनामा माग्ने घडी त आइसक्यो त । कम्तीमा पनि मिलाउनु प¥यो, अहिलेलाई बैठक स्थगित गरौं भनेर सल्लाह गरेको भए यो परिस्थिति आउने थिएन होला नि । त्यही भएर सभामुखमा धेरै समस्या थियो, त्यो के हो, सहजीकरण गर्ने, फुकाउनेमा मेरो भूमिका रहन्छ ।’

नवनियुक्त प्रदेश प्रमुखको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कार्यकर्ताभन्दा तल्लोस्तरमा पुगेर प्रदेश प्रमुखले अभिव्यक्ति दिएको प्रतिक्रिया दिए ।उनले भने, ‘प्रदेश प्रमुखजस्तो संवैधानिक पदमा आसिन भएर पनि उहाँले कार्यकर्ताभन्दा तल्लोस्तरमा गएर बोल्नुभो । संविधानको धज्जी उडाएर क्षेत्राधिकारभन्दा बाहिर जानुभयो ।’

नवनियुक्त प्रदेश प्रमुखको अभिव्यक्ति सार्वजनिक भएलगत्तै माओवादी केन्द्रका सांसद दीपक कोइरालाले सभामुखको राजीमा माग्ने वा नमाग्ने अधिकार प्रदेश प्रमुखको नभएको प्रतिक्रिया दिए । उनले भने, ‘उहाँको अभिव्यक्ति मर्यादाविपरित छ । सभामुख ज्यूको राजीनामा दिनुपर्ने, नपर्ने । अविश्वास प्रस्ताव चाँडै सुल्झिनुपर्ने वा नपर्ने भन्ने उहाँको सरोकारको कुरा होइन ।’

जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य राज्यको संवैधानिक अंगमा बसेर अहिलेसम्मै असंवैधानिक अभिव्यक्ति दिएको प्रतिक्रिया दिए । ‘संवैधानिक अंगमा बसिसकेपछि अभिव्यक्ति त्यसरी दिने होइन । यो त अहिलेसम्मकै असंवैधानिक अभिव्यक्तिको पराकाष्ठा नाघ्यो,’ उनले  भने, त्यो पदीय हैसियत नपचेको हो ।’

छुटाउनु भयो कि ?