Madhyabindu News App
बागमती प्रदेश

राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवारी दिन हेलिकप्टरबाट हेटाैँडा पुगे बादल

Madhyabindu Online तस्वीर : बाबुराम दाहालको फेसबुकबाट।


A A- A+

काठमाडौं- अन्तत: नेकपा (एमाले)ले आउँदो जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

गृहमन्त्री थापालाई बागमती प्रदेशको अन्यतर्फ रिक्त पदमा हुन लागेको निर्वाचनमा उम्मेदवार बनाउने  निर्णय भएको एमालेका कार्यालय सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए ।

माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाएको हो। पहिले पनि थापाले नै चुनाव जितेको सिटमा फेरि पनि उनलाई नै उम्मेदवार बनाएको तामाङले बताए।

शुक्रबार उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएकोले बादल काठमाडाैंबाट हेलिकप्टर चढेर हेटाैँडा  पुगिसकेका उनका प्रेस संयोजक किरण भट्टराईले बताए ।

उम्मेदवारी दर्ता गर्न जानुअघि गृहमन्त्री थापाले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरूसँग छलफल गरेका थिए।

यता, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षले भने खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ। देवकोटा उम्मेदवारी दर्ताका लागि यसअघि नै हेटौँडा पुगिसकेका छन्।

तत्कालीन माओवादीबाट निर्वाचित बादल एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो। उनलाई कारबाही गरेपछि सांसद पद समेत गुमेको थियो। बादललाई कारबाही गरिएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो।

छुटाउनु भयो कि ?