Madhyabindu News App
विचार-ब्लग

भट्ट्याउने नेता स्वर मिलाउने कार्यकर्ता

Madhyabindu Online ध्रुब पाण्डे


A A- A+

एकजना सज्जनका तीन भाइ छोरा रहेछन। जेठो राजनीति गर्दो रहेछ,माइलो साहित्य क्षत्रमा लागेको रहेछ। कान्छो ले खेती किसानी गरेर सबै परिवार लाई पाल्दै आएको रहेछ। एकदिन ती सज्जनका पुराना मित्र भेट्न आएका रहेछन। ती मित्रले एक आपसमा भलाकुसारी पछि सज्जन लाई सोधेछन,तपाईंको सन्तान चाहिँ कति भए नि ? सज्जन ले उत्तर दिएछन।तिनभाइ छोरा छन,एउटा राजनीति गर्छ ,ठुलोठुलो नेता भैसकेको छ। कुनैपनी बेला मन्त्री बन्न सक्छ। अर्को साहित्यकार बनेकोछ उस्ले पनि ठूलो पुरस्कार पाँउने सम्भावना छ। मित्रले पुनः सोधेछन अनि अर्को नि ? सज्जन ले उत्तर दिए, भो त्यो पाजिको त कुरै नगर्नुस खत्तम छ।खेत जोतेर खाइरहेको छ।

जस्ले हलो जोतेर,कडा परिश्रम गरेर घर परिवार पालेको छ उस्लाइ घृणा गर्ने हाम्रो समाज।नेता भन्ने लाई ठूलो मान्छे,अब्बल दर्जाको ठान्ने हाम्रो समाज।आजसम्म को अवस्थामा आइपुग्दा नेतालाई घृणा गर्ने परिस्थितिमा पुग्नु राजनीतिक नेताका बिकृत आचरण र व्यबहार नै मुख्य कारक हुन सक्दछ।यति चाहिँ नेपाली को बुद्धि फिरेको नै भन्नू पर्दछ।

हामी सानो छँदा दशैं तिहार जस्तो ठुलोठुलो चाडपर्व आउँदा खुबै रमाउथ्यौं। किनकी नयाँ नयाँ लुगा लगाउने अवसर,पिङ्ग खेल्ने रहर। अनि आफुभन्दा मान्यजनको हातबाट टीका लगाउने रहर। दशैमा बिजयादशमी को दिन हजुरबुबा को हातबाट टीका लगाइन्थ्यो। हजुरबुबा ले आशिर्वाद दिनुहुन्थ्यो। मेरो नाति जर्नेल कर्णेल भएस। तर ठूलो नेता भएस भनेर कहिले पनि आशिर्वाद दिनु हुन्थेन। किनकी हाम्रो हजुरबुबा लाई पनि नेता भन्दा सैनिकको कर्णेल जर्नेल नै ठूलो लाग्थ्यो होला। हाम्रा पुर्वजहरुले कुनै कुराको दृष्टान्त भन्ने गरेको भनाइअहिलेपनी त्यत्तिकै सान्दर्भिक लाग्छ। तर सबैभन्दा ठूलो टाठोबाठो ,जान्नेसुन्ने,मान्यगन्य त नेता मात्रै हुन भन्ने संस्का्र को बिकास भएको छ। अहिले नेता बन्नको लागि आकर्षण बढ्दो छ।भुंइफुट्टे झोले नेता देखि संसद्को हैसियत राख्ने सम्मका ठुटे नेताका हाउभाउ,लवाइ खवाइ,ठाँट ,रबाफ दरवार को भन्दा कमिछैन।

अर्को ठूलो चाडपर्व तिहार आउँथ्यो,तिहारमा मासको फुलौरा र सेलरोटी खाने रहर,देउसी भैलो खेल्ने रहर हुन्थ्यो। भाइटिकाको दिनमा दिदीबहिनीको हातबाट टीका लगाइन्थ्यो। टीका लगाइसके पछि राती अबेरसम्म पनि देउसी भैलो खेलिन्थ्यो। त्यतिबेला देउसी भैलो भट्ट्याउने पनि राम्रो वाचन शैली भएको नै हुन्थ्यो। प्रखर,बोलिमा तिखार भएको,छन्द र अनुप्रास पनि मिलाउन सक्ने हुन्थ्यो। उस्ले देउसी भैलो भट्ट्याउन सुरु गर्थ्यो,हामी स्वरमा स्वर मिलाउदै वाचक अगुवा ले भन्थ्यो भनभन भाइ हो देउसुरे,हे भन मेरा भाइ हो देउसुरे,हे छानामाथी घिरौंला के के दिन्छन हेरौंला,हे यो घर कत्रो सिंहदरबार जत्रो भन्दै घरबेटि बाट अलि धेरै दक्षिणा झार्न सकिन्छ कि भन्दै प्रसंशा पुर्वक भट्ट्याउथ्यो।

यथार्थमा हामी सबै भ्रान्त धारणा मा बांचिरहेकाछौं। हामी यस्तो छौं कि जस्ले भ्रमित बोल्न,सिकाउन जानेको छ, उसैको पछि लागिरहेका छौं। वर्तमानमा काम गर्दैनौं,तर भविष्यमा रकेट उंडाउने भाषण दिइरहेका हुन्छौं। बर्तमान लाई बिगारेर वा वास्ता नगरेर भविष्य को सपना देख्छौं। जुन सपना देख्नु भनेको खरायो को सिङ्ग खोज्नु जस्तै हो। यतिबेला हामी दुनियाँ लाई सुनाइरहेका हुन्छौं कि हामी नयाँ नेपाल बनाउने अभियानमा छौं। बर्तमान संरचना भत्काएर नयाँ नेपालको परिकल्पना गर्छौं। तर कस्तो हो नयाँ नेपालरुकसरी बन्छ नयाँ नेपाल ? भएको संरचना सदुपयोग गरेर बन्छ कि बिगारेर बन्छ ? कि नयाँ नेपाल भनेको कतैबाट फुत्त आउने बनिबनाउ वस्तु होर ? हामिसबै नेपाली ले बुझ्नुपर्ने गांठी कुरो यहि हो। नेताले जेजे भट्ट्याएपनी ताली पिट्न बन्द गर्ने र आफ्नो स्वविवेक ले चल्ने कार्यकर्ता हुने हो भने नयाँ नेपाल बनाउने आधार तयार हुन्छ।

जस्तैः दुधलाइ बिगारेर दहि बन्छ,दहिलाइ बिगारेर घिउ बन्छ। त्यसपछि अरुकुनै परिकार बनाउनु छ भने घिउलाइ पनि बिगार्नु पर्छ। तर बिगार्नु पर्छ भन्दैमा दूध दिने गाइभैंसी कै नाश गरिदिने,अन्डा पार्ने कुखुरा नै मासिदिने हो भने कसरी बन्छ नयाँ नेपाल ? बर्तमानमा बिनाकारण,बिना काम बेरोजगारी लाई पछि लगाउने नेता अनि पछि लाग्ने पछुवा को बथान भएपछी नारा र भाषणमा बन्छ नयाँ नेपाल। नयाँ नेपाल बनाउन त कडा परिश्रम गर्नु पर्छ,धेरै दुख र मेहनत गर्नुपर्छ। देशको युवा जनशक्ति लाई पार्टिको झन्डा बोकाएर,नेता स्वयंले बेरोजगार उत्पादन गरेर आफ्नो जयजयकार मात्र गर्न लगाएपछिआम्दानी कसरी प्राप्त हुन्छ ? आयस्रोत कांहाबाट आउँछ ? रोजगार बिना नेताको झोला बोक्ने हरिलठुवा कार्यकर्ता भएसम्म देशले दुख पाउंछ,जनता ले सास्ती भोगिरहन्छन।

एक कौडिको सीप र ब्यबसाय नभएका का पाछुवा हरुलाइ ती नेता भनौंदा ले उनको लालनपालन काहांबाट गर्छन ? त्यस्को लागि राज्यको ढुकुटी बाटै गर्नुपर्ने हुन्छ। अनि भ्रष्टाचार नभए के हुन्छ ? तपाईं हामी दुई चार जना सज्जन,इमान्दार र देशभक्ति हुंदैमा केही फरक पर्ने वाला छैन। यो देश बन्छ कि बन्दैन हामिले चिन्ता लिएरपनी केही हुँदैन। चिन्ता लिनुको सट्टा थोरै समय कुनै उर्जाशिल क्षत्रमा लगाउंदा देशको लागि केही सिन्को भांचेको ठहरिएला। जुन सरकार आएपनी देश र जनताको लागि केही लछारपाटो लगाएको देखिएन। कसैलाई गाली र कसैलाई ताली ठोक्दै घोक्रो फुलाउनु बेकार छ।

देश र जनताप्रती उत्तरदायी सरकार बनेहुन्थ्यो भन्ने गांडेगुंडे कुराको पनि कुनै अर्थ छैन। गरिब र निमुखा जनताको लागि कोहि उत्तरदायी हुनेवाला छैन। भकारीमा धान छउन्जेल मुसाको तांती लाग्छ,तब भकारी रित्तिन्छ,मुसाहरु अन्तै अनाजको खोजी तिर लागे जस्तै कार्यकर्ता हरु नेताको ढोकामा लम्पसार पर्नेछन। शिक्षित युवायुवती हरु पनि नेताको ढोका चाहार्दै हिंड्ने छन। नेताको मुखारबिन्दु बाट थोत्रो आश्वासन सुनेर आ आफ्नो तुम्लो काम्लो भिरेर आफ्नै गन्तव्य तिर लाग्नेछन। मर्ने,दुख भोग्ने त गरिब निमुखा हरु नै हुन। तिनिहरुको दुख पिडा बुझ्ने कस्लाइ के मत्लबरुमर्ने मरिरहन्छन बांच्ने बांचिरहन्छन।

२०४६,साल चैत्र २७,गते को कुरा हो, ठमाडौं को टुंडिखेलमा सङ्गै बहुदलीय नेताहरुले भाषण गर्ने खुलामंच थियो। त्यो खुलामञ्चमा हामि पनि नेताको भाषण सुन्न भेला हुन्थ्यौं। नेताले घोक्रो फुलाइ फुलाइ दरवार(राजा) लाई गाली गर्दै भाषण गर्थे। हामी तररर ताली ठोक्थ्यौं। भाषण गर्ने मध्यका पुराना बामपंथी नेता (सर्वहारा) भनिने कम्युनिस्ट नेता निर्मल लामा को भाषण मैले सुनेको थिएँ। वहाँको भाषण यस्तो थियो ‘यहाँ दुइथरी भाषा बोल्नेहरु छन।एउटा भुजा ज्युनार गरिबक्सिन्छ अर्को भात खान्छन।एउटा सवारी होइबक्सन्छ अर्को जान्छन’ जस्ता भाषणले राजालाई ब्यांग्यात्मक गाली गर्थे।

अहिले उनै निर्मल लामा जस्ता वा उनका शिष्य हरु(सर्वहारा) भनिनेहरु नै सत्तामा बिराजमान छन।सर्वहारा को नाम जप्नेहरु खरबपती बनिसकेका छन।कुनैपनी पांचतारे होटेल को भन्दा कम बिलाशी बंगला छैन। बिदेशी महंगा मदिरा ले सजि सजावट बार छन।यसरी सर्वहारा को परिचय सुरु हुन्छ।’मुखमा सर्वहारा व्यबहार मा जनतामारा’।अब यो भन्दा धेरै बिरोध,आलोचना ,विश्लेषण,संस्लेषण गर्नुपर्छ जस्तो पनि लाग्दैन।

मैले मेरो यति विवेक प्रयोग गर्दा कम्युनिस्ट तथा गैरकम्युनिष्ट नेताको आँखा खुल्छ कि खुल्दैन थाहा छैन।तर दुई चार जना मेरा शुभचिन्तक हरुले पढेर तितो मीठो प्रतिक्रिया चाहिँअवश्य दिन्छन भन्ने मलाइ बिश्वास छ।त्यति भए पनि म कृतज्ञ हुनेछु।

धादिङ्ग।

छुटाउनु भयो कि ?