Madhyabindu News App
अन्तर्राष्ट्रिय

११ दिनपछी रोकियो इजरायलमा रकेट हानाहान

Madhyabindu Online


A A- A+

एजेन्सी – ११ दिनपछि इजरायल र गाजापट्टीको आकाशमा रकेट ओहोरदोहोर हुने क्रम रोकिएको छ। इजिप्टको मध्यस्थतामा इजरायल र गाजालाई नियन्त्रणमा लिएको विद्रोही सैन्य  समूह हमास शुक्रबारदेखि युद्धविराम गर्न सहमत भएका हुन्।

युद्धविरामको घोषणा भएपछि ११ दिनदेखि इजरायलका रकेटले त्रसित भएका प्यालेस्टाइनीहरू गाजाको सडकमा निस्किएका थिए।

युद्धविराम सुरू हुनै लाग्दैसम्म पनि दुबै तिरबाट रकेट हानाहान भइरहेको थियो। दुबै पक्षले युद्धविराम उल्लंघन भए आफू जवाफी प्रतिरोधका लागि तयार रहेको चेतावनी दिएका छन्। युद्धविरामको मध्यस्थता गरेको कायरोले युद्धविराम पालना भए/नभएको हेर्न दुई टोली पठाउने बताएको छ।

मे १० मा पछिल्लो तनाव सुरू भएको थियो। सन् १९६७ मा अरब-इजरायल युद्ध हुँदा इजरायलले पूर्वी जेरूसेलम आफूले लिएको सम्झनामा मनाइने ‘जेरूसेलम डे’मा हजारौं यहुदीहरूले मार्च गर्ने गर्छन्। तनाव कम गर्न प्रहरीले यसपालि मार्चको रूट परिवर्तन गरेको थियो।

त्यसपछि इजरायल र गाजाको आकाशमा रकेटको लर्को देखिएको थियो। यो ११ दिनमा गाजामा ६५ बालबालिकासहित २३२ जनाले ज्यान गुमाएका छन् भने १ हजार ९ सयभन्दा बढी घाइते भएका छन्। तीमध्ये १६० जना विद्रोही रहेको इजरायलको दाबी छ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजापट्टीको पुनर्निर्माणमा लागि आफ्नो प्रशासनले सघाउने बताएका छन्। उनले गाजामा मानवीय सहायता उपलब्ध गराउन र यसको पुनर्निर्माण गर्न अमेरिकाले संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर काम गर्ने बताएका छन्।

छुटाउनु भयो कि ?