Madhyabindu News App
कला-साहित्य

बा ! देश बोक्नु पहिले भोक बोक्न सिक

Madhyabindu Online राजबाबु श्रेष्ठ 'सागर'


A A- A+

-रुँदै सेता हातहरूले ओखती होइन,
जब फोक्सोका कथा लेख्छन्
जब कविहरू रगतमा चोपेर अक्षरहरू
कविता होइन मुखबाट राँको ओकल्छन्,
महजोडी कलाकार हाँस्न छाडेर
भरोसाको अस्पतालमा बिस्कुनझैँ सुकाइएका
सेता लासहरू देखेर जब रङ्गमञ्चमै ढल्छन्
तब बुझ्नुपर्छ बा तिमीले,

कठै मेरो देश आईसीयुमा छट्पटाइरहेछन् ।
मेरो बेहोसीमा भित्रिएका मृत्युसँगै
एक अञ्जुली रगत आँखाबाट उबाउँदै
जब सहिदहरू रुँदै भन्छन् – कोमामा गए हाम्रा भरोसा र विश्वासहरू

साँच्चै भनूँ ! विभूति भएछन् हाम्रा सबै ती त्याग र वलिदानहरू ।

ए बा ! सुन्दैछौ तिमी ।।।।

उदास छन् मेरा देशका लाली गुराँशहरू
गाउन बिर्सिएका छन् ती कोइलीहरूले
आफ्नै देशका ती मौलिक सँस्कृतिहरू
बिर्सिएका छन् माउहरूले आफ्नो लाम्टो चुसाउन
आफ्नै काखका बचेराहरूलाई

ए बा ! सुन्दैछौ तिमी ।।।।

टेक्न बिर्सिएका छन् ती कङ्गारूहरूले
आफ्नै घरको प्राङ्गण पनि
बिर्सिएका छन् बिहान ब्युँझाउन देशलाई
अचेल ती राता भालेहरूले पनि ।

ए बा ! सुन्दैछौ तिमी ।।।।

उदास छन् ठिङ्ग उभिएका ती सालिकहरू
अलमलामा छन् अहिले सबै
सहरका ती भोकका फूटपाथहरू
ए बा ! भनन तिमी
कसलाई जोडुँ म ती अक्सिजनको नली ?
तड्पिरहेका देशलाई कि ?
देशसँग बाघचाल खेलिरहेका खेलाडीलाई ?

ए बा भनन तिमी
म कसलाई जोडुँ ती अक्सिजनको नली ?

भो, बा !
अब छाडिदेऊ देश बोक्न तिमी
अब बिर्सिदेऊ उखान खोक्न तिमी
सबै बिर्सी उठ जुरुक्क जीवनको बीउ रोप्न तिमी

साँच्चै भनूँ बा,
खाएर देशले अघाउन्जेल तिम्रो भाषण
छादिरहेछन् अहिले लासहरू ।

ए बा ! साँच्चै भनूँ,
देश बोक्नुभन्दा पहिले
तिमी भोक बोक्ने भरिया हुन सिक
जब पिठ्युँमा भोकको भारी
तिमी बोक्न सक्छौ नि बा
म बुझ्छु किस
तिमी त्यस दिन देश बोक्न सक्छौ ।

काठमाडौं

छुटाउनु भयो कि ?