

संसद विघटनको ट्रेड युनियन कांग्रेसद्वारा विरोध
काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेसले प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको संसद विघटनको विरोध गरेका छन् । युनियनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै विरोध जनाएका हुन् ।
युनियनका महासचिव योगेन्द्र कुवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०७२को धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको भन्दै धारा ७६ को उपधारा (५) बमोजिम दाबीकर्ताहरु माननीय केपि ओलि र माननीय शेर बहादुर देउवाको दावी नपुग्ने भन्ने राष्ट्रपतिको ठहर यथार्थपरक नरहेको र धारा ७६ को उपधारा (५) बमोजिम वैकल्पिक सरकार निर्माणको यथेष्ट सम्भावना हुँदा हुँदै प्रतिनिधि सभाको विघटन गर्नु नेपालको संविधानको मुल्य र मान्यता विपरीत लोकतन्त्रप्रतिको ठुलो उपहास भएको छ ।’
यसैगरी विज्ञप्तिमा उल्लेख गरिएको छ ,’नेपाली जनता कोभिड-१९ बाट आक्रान्त भई जीवन र मृत्युको दोसाँधमा छ । प्राणवायु अक्सिजन , भेन्टिलेटर, आइसियु, सामान्य बेड नपाई अकालमा ज्यान गुमाउनु परेका छन् । लामो समयको निषेधाज्ञाले गरिखाने मजदुर वर्ग भोकै रहनु पर्ने अवस्था छ । यस विषम परिस्थितिमा राहत , स्वास्थ्य उपचार लगायत भ्याक्सिनको व्यवस्था गर्नुपर्ने बेलामा राजनीतिक खेलमा रम्नु र अरबौं खर्चेर निर्वाचनमा जाने निर्णय जनताको स्वास्थ्यमाथी गरिएको गम्भीर खेलवाड हो ।’
विज्ञप्तिमा प्रतिनिधिसभाको असंवैधानिक विघटनले मुलुकको संवैधानिक प्रक्रियालाई मात्र अवरुद्ध पारेको छैन,स्थायित्व , समृद्धि र विकासको पक्षमा जाहेर भएको जनमतको समेत घोर अवमूल्यन भएकोले संविधानको रक्षाकालागि लोकतन्त्रवादिहरुलाई संघर्षको मैदानमा उत्रिन अपील गर्दै ट्रेड युनियन कांग्रेस अग्रपंक्तिमा उभिने जनाएको छ ।