Madhyabindu News App
विचार-ब्लग

ओलीतन्त्रको विनिर्माण

Madhyabindu Online सुदर्शन आचार्य


A A- A+

विश्वामित्रको आदर्श साधुताका माध्यमबाट मुक्ति प्राप्ति थियो । जब मेनकासँग साक्षात्कार भयो, निमेषभरमा उनको आदर्श चकनाचुर भयो । राजनीतिमा पनि यस्तै हुन्छ । जनताकै मुक्तिका खातिर १४ वर्ष जेल बसेका केपी शर्मा ओलीका कारण उनकै सहयात्री पनि आश्चर्यचकित छन् ! उनका क्रियाकलापले दुनियाँलाई आश्चर्यमा पारेको छ । विषय आचरणको भन्दा पनि आदर्शको हो । राजनीतिमा ओली भाग्यमानी रहे– झन्डै दुईतिहाईको बहुमत, दुई–चार थान सरकारी नियुक्तिमै रमाउने प्रतिपक्ष ! राष्ट्रवादको पुरिया दिएपछि त्यसै–त्यसै पुलकित भइजाने ठूलो जनमत । तर, अहिले समय यस्तो आएको छ– जब उनी बोल्छन्, सामाजिक सञ्जालमा टीकाटिप्पणीको ओइरो लाग्छ, प्रशंसाका शब्द विरलै भेटिन्छन् । उनका शब्द टिकटकमा ठट्यौलीका लागि उपयोग हुन्छन् । प्रधानमन्त्री ओलीले बोल्दै आएका आदर्शको मस्तुल ढलेको छ । स्वार्थवश जानाजान जे–जे भइरहेका छन्, भित्रभित्रै भयानक षड्यन्त्रको आभास हुँदै छ ।

कार्ल मार्क्सले भनेका थिए– दार्शनिक र राजनीतिज्ञमा फरक यति मात्रै हुन्छ, दार्शनिकले इतिहासको व्याख्या गर्छन्, राजनीतिज्ञले इतिहासको निर्माण । मुलुक परिवर्तनमा निर्णायक हुने नेताले जब गल्ती गर्छन्, दुष्परिणाम सिंगो देशले भोग्नु पर्दाेरहेछ । संविधानको धारा ७६ का उपधाराहरूमा लेखिएको छ, सर्वोच्च अदालतले फैसलामा भनेको छ– सरकार बनाउने विकल्प रहँदासम्म संसद् भंग गर्न पाइनेछैन । तर, जानाजान नियतवश पुनः संसद् भंग गरेका छन् । तिनै केपीलाई साथ दिन जसपाको एउटा गुट तयार भई भगीरथ यत्नशील छ । राजनीतिको लक्ष्य सत्ताप्राप्ति त हुन्छ नै, तर सत्ताप्राप्ति भने देशको अवस्थामा सुधारका खातिर हुनुपर्ने हुन्छ । टाढा जानैपर्दैन, चीनमा माओले च्याङकाइसेकलाई साथ दिए, केवल जापानी आक्रमण रोक्नका निम्ति । आज महन्थ–महतो गुट कोभिडले आक्रान्त मधेसी जनताको प्राणरक्षार्थ होइन, डगमगाएको ओलीको सत्तामा टेको लगाइदिन सतिसाल भएर खडा छ ।

सन् १९४९ मा स्वतन्त्र भारतमा कम्युनिस्ट पार्टी (तेलंगना)का महामन्त्री पिटी रणदीपेले पार्टीको महाधिवेशनमा लामो कार्यपत्र प्रस्तुत गर्दै भारतीय किसानले स्वतन्त्र संघर्ष अर्थात् उनको आशयमा सशस्त्र संघर्ष गर्नुपर्ने बताए । पार्टीका परिपक्व एवं बौद्धिक नेताहरूले समय सशस्त्र क्रान्तिको हुँदैहोइन भन्दै उनको प्रस्तावमा गम्भीर असहमति व्यक्त गरे । तर, केपी ओलीको झैँ बहुमत भएको महाधिवेशनले सशस्त्र क्रान्तिको लाइन पास गर्‍यो । क्रान्ति सफल हुने सम्भावनै थिएन, अन्ततः असफल भयो । बरु त्यसले भारतभर कम्युनिस्ट पार्टी क्षतविक्षत हुन मलजल गर्‍यो । नेपालका सन्दर्भमा पनि ओलीको कदमले कम्युनिस्ट शब्द राखेर दर्ता भएका दलका लागि भोलि जनतामा जाने बाटो त असहज बनाई नै सक्यो, गणतन्त्रसमेत पनि धर्मराउने स्थितिमा पुर्‍याउन खोजेको भान भइरहेको छ ।

उग्र वामपन्थी तथा उग्र दक्षिणपन्थी विचार लोकतन्त्रका लागि प्रीतिकर छँदैछैन । पश्चिम बंगालको नक्साल आन्दोलन होस् वा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासन, दुवैले आफ्नो उद्देश्य टिकाउन सकेनन् । आज ओली वामपन्थी विचारको आडमा जुन दक्षिणपन्थी अभ्यास गर्दै छन्, त्यो केही समयको खपतका लागि मात्र हो । दैनिक सयौँको संख्यामा जनता मरिरहेको समयमा देखाइएको राजनीतिक नौटंकी रत्नपार्कमा बाँदर नचाएभन्दा फरक देखिँदैन । संकटका वेला नै हो नेतृत्वको परीक्षण हुने, संकटले नै हो नेतृत्व निर्माण गर्ने । तनहुँबाट प्रदेश सभामा पराजित प्रदीप पौडेलले सयौँ बेडको आइसोलेसन सेन्टर तयार पार्दा विजेता कतिपय सांसद मोबाइल अफ गरेर घरमा बसेका छन् ! मृत्युसँग डर त सबैलाई लाग्छ, तर सके मतदातालाई सहयोग, नसके ढाडस मात्रै भए पनि दिन चुक्ने नेतृत्व त किन चाहिएको छ र !

समग्रमा जति पनि युगपुरुष पैदा भए, तिनको ध्येय समाज रूपान्तरण हो, केवल बाटो मात्र फरक । द्वापरका कृष्णकै सन्दर्भमा एउटा सामान्य गाईगोठालो देखिने कृष्णमा कान्छी औँलामा गोवद्र्धन पर्वत नै उचालेर डुब्न लागेको बस्ती रोक्ने क्षमता थियो भन्ने धार्मिक विश्वास छ । तैपनि, ओलीले जस्तो शक्तिको हुंकार उनले त गरेनन्, शक्तिको दुरुपयोग गर्न चाहेनन् । ओलीको सत्ता कोभिडबाट सात हजारले मृत्युवरण गरिसक्दा, दैनिक गुजारा गर्नेहरू भोकभोकै मर्ने अवस्था सिर्जना हुँदासमेत निरोझैँ बाँसुरी बजाइरहेछ !

सत्तामा नपुगेका नेता–पार्टीप्रति मतदाता अक्सर आशावादी सुनिन्छन् । तर, सत्तामा पुगेपछि कार्यकर्ता बिर्सिएर तिनै पार्टी ‘यती–ओम्नी’ सम्झिन थाल्छन् । यसपछि मतदाताका आँखा त खुले, तर खुल्दा यति विलम्ब भइसकेको छ कि संसद् नै बारम्बार भंग भइसकेको छ । समाजवादी नेता डा. राममनोहर लोहियाले भनेका थिए– ‘समान तर अनुपयुक्त विचारवालाको विशाल संस्थाभन्दा असमान तर उपयुक्त विचारवालाहरूको सानो संस्था प्रजातन्त्रका लागि ज्यादा हितकर हुन्छ ।’ हिजो केपी ओलीलाई सत्तामा पु¥याउन बलियो शक्तिसहित माओवादी केन्द्र पनि एमालेमै मिसियो । जसबाट ओली यति शक्तिशाली भए कि राष्ट्रपतिको आडमा नेपालको संविधानको खिलाफ जाँदा रोक्न कांग्रेस, माओवादी केन्द्र, एमालेकै एउटा हिस्सा र जसपाको बहुमत हिस्सासहितको गठबन्धन लाग्दासमेत हम्मे–हम्मे परेको छ ।

पहेँलो वस्त्र लगाउने सबैलाई सन्न्यासी देखियो ! लोकतन्त्रका खातिर जेलजीवन बिताएका ओली र संघर्षकै मैदानबाट आएकी तथा जनताकै छोरी राष्ट्रपति भएको भ्रम राजनीतिक दलमा पैदा हुँदाको परिणाम आज सिंगो देशले भोग्दै छ । चुनाव जित्दैमा प्रजातन्त्रवादी भइने होइन भन्ने बलियो प्रमाण ओली भएका छन् । बुद्धले मेरो विचारको अनुसरण गर भनेनन्, तर विश्वभर बुद्धका अनुयायी करोडौँमा छन् । यती, ओम्नीजस्ता प्रवृत्तिको घेराबन्दीमा रामराज्यको सपना देख्ने पात्रलाई समयमै चिन्न नसक्नु सबैको कमजोरी भयो ।

मुलुकको अस्थिरताको एउटै पक्ष सत्ता मात्र होइन, प्रतिपक्ष पनि जिम्मेवार छ । सत्ताको कार्बनकपी बन्न छाडेर प्रतिपक्षले भूमिका निर्वाह गर्न सकेको भए नेपालीले प्रतिगमन भाग–२ व्यहोर्नुपर्ने अवस्थै आउने थिएन । प्रतिपक्षले सरकारी नियुक्तिमा र्‍याल चुहाउँदा सत्ता प्रतिपक्षलाई करिब अन्तिम समयसम्म आफ्नो वशमा राख्न सफल भयो । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवामा त उमेर र सम्भ्रान्त साइनोको कारण संघर्षको ऊर्जा देखिएन नै, दोस्रो र तेस्रो तहका नेताको समेत पार्टीभित्र आवाज मधुरो बन्दै गयो । विचारले हस्तक्षेपकारी भूमिका खेल्नबाट विचार र उमेर दुवै तहका नेता चुक्दै गए । त्यसैको फाइदा सत्ताले भरपुर उठायो । प्रतीपक्षी दलहरूका लागि गणतन्त्रको स्थायित्व जीवनमरणको सवाल हो, अब उसले आफैँभित्र घनीभूत एकता खोज्ने वेला आएको छ । कूटनीतिक हिसाबले उत्तर वा दक्षिणतिर ढलक्क होइन, सन्तुलनयुक्त विश्वासयोग्य वातावरण निर्माणबाट मात्र गणतन्त्रको स्थायित्व सम्भव छ । विपक्षीले अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न नसके जनआन्दोलन भाग–३ को प्रतीक्षाबाहेक विकल्प छैन । सत्ताको सन्दर्भमा सत्ताको आदर्शको मस्तुल ढलिसकेकाले सत्ताबाटै बेथिति–करेक्सनको सम्भावना छँदैछैन । नयाँपत्रिका बाट ।

छुटाउनु भयो कि ?