Madhyabindu News App
विचार-ब्लग

“पैसा नहुनेले किन राजनीति गर्नु त” ?

Madhyabindu Online भवनाथ आचार्य


A A- A+

बिहानको ६ नबज्दै हातेफोन हुन्हुनायो । हातेफोनको अनुहार नहेरी फोन उठाउन यस अर्थमा पनि हिम्मत आउँदैन कि ! त्यो फोन कि अस्पतालमा आइसियु खोज्नका लागि हुन्थ्यो अथवा कसैको कारुणिक देहावसानको नमिठो खबर सुन्न ।

यी दुई कुरालाई अहिलेको मौसमले सामान्य रुपमा ग्रहण गर्न हजुर हामीलाई बाध्य पारिसकेको अवस्थामा त्यो फोन पनि यसै बिषयमा केन्द्रित हो भन्ने मानसिकता बनाएर उठाउने दुस्साहस गरें । दुस्साहस यस अर्थमा कि ! मानिसहरू केही न केही आशा अभिलाषाका साथ फोन गरिरहेका हुन्थे तर म बाट अपवाद बाहेक उनिहरुका समस्या समाधान हुँदैन थिए ।

ती अधिकांश समस्याका समाधानहरु मेरो कावु भन्दा बाहिर थिए तर त्यो कुरा मेरा केहि समकक्षी साथीहरू बाहेक करिब मलाई मात्रै थाहा थियो । हुन त यो महामारी बाहेकका अन्य बिकास निर्माण लगायतका विषयमा पनि अपवाद बाहेक खासै केही गर्न सकिएको होईन तथापि बारम्बार मानिसहरू किन आश गरिरहेका छन् म सँग ? अनि मलाई नै भरोसा गरेर पटकपटक किन झस्काईरहन्छ्न स्थानीय गाउँले हरु यो प्रश्नले आजभोलि अलि बढी नै माथा खराब गरिरहेको छ मलाई । ठ्याक्कै उत्तर मिलाउन नसके पनि यी यक्ष प्रश्नका उत्तरहरु दिमागमा आउँदै नआएका भने पक्कै होइनन् ।

प्रथमतः मैले आफैं आफुलाई गाउँमा बस्नेहरु भन्दा अब्बल दर्जाको नागरिक अथवा नेता बनाउने दुश्प्रयास पटकपटक गरेको रहेछु । जस्तै चुनावी सभामा कमिज सुरुवाल, सट कट्टु, इस्टकोट लाउने भन्दा उच्च दर्जाको बन्दै कोट पाइन्ट ढल्काउँदै मैले खोकेको रहेछु तपाईहरु गाँस, बास र कपास को कुनै चिन्ता नगर्नुस् हाम्रो पार्टी छ, हामी छौं, अनि म छु। केहि समस्या पर्दा मलाई सम्जिनुस म तपाईंहरुको जस्तोसुकै समस्या समाधान गर्न तयार छु । अझै एउटा आमसभामा त बिकास लगायत स्वास्थ, शिक्षा, खानेपानी, मल, बीउ, बाटो के के समस्या हो सबैको जिम्मा आफैं लिएको रहेछु अर्थात ती गाउँलेका हाताहाती भोट सँग यी उधारा आश्वासन सौंसठ्ठी साटेको रहेछु । अनि त्यो फोन मलाई न आएर कसलाई आओस् त ?

गाउँमा समाजसेवीको दर्जा जमाएका हाम्रै पार्टीका अगुवा एकजना दाइको फोन थियो त्यो । सामान्य आराम कुशलको औपचारिकता पछि ती दाइले भने “बाबु गाउँ कहिले आउनी हो ?” “सामान्यतया जस्तै मैले भनें यस्तो महामारी छ दाइ निषेधाज्ञा छ । अहिले खासै काम पनि छैन तत्काल आउने योजना छैन दाइ ।”

मैले ती दाइको परिवारको बारेमा सोध्न नपाउँदै उच्च स्वरमा चर्किंदै भन्न थाले, “अस्तिन के भन्या थ्यो ? बिपत्तिमा म छु भन्या होइन ? गार्हो सार्हो पर्दा मलाई सम्झिनु भन्या होईन ? अर्को पार्टीका नेताकार्यकर्ताले के के राहत बाँडिसके । पटकपटक गाउँ आएर मास्क, साबुन, पञ्जा, दाल चामल, बिस्कुट के के हो के के बाँडिसके । हाम्रो चैं लाजमर्नु न कोहि आउँछन् ? न केहि ल्याउँछन् ?त्यही हातेफोनमा यसो र उसो लेख्या भरमा हुन्छ त ? यस्तै चालाले कसरी गर्छौ राजनीति ?” आदि-इत्यादी ।

दाइको आक्रोशित अर्ती धैर्यताका साथ सुनेपछि मैले भनें ” दाइ म सँग पनि पैसा छैन कहिँ कतै साथिभाई संघ संस्थालाई हार गुहार गर्दा केही भयो भने दाइलाई भन्छु नि म ” मेरो उत्तर पछी झन जंगिदै दाइले भने ” पैसा नहुनेले किन राजनीति गर्नु त ? तेसै हुन्छ राजनीति ? अहिले जाबो अलिअलि राहत त किन्न नसक्नेले भोलिपर्सी टिकट कसरी किन्नी ? टिकट मात्रै किनेर भो ? भोट कसरी किन्नी ? भोट किन्न पैसा चाहिँदैन ? तेसै जितिन्छ चुनाव ? यस्तो पाराले त उही हो ?” दाइ जंगिदै मैले म सकेसम्म कोशिस गर्छु भनेर फोन राखें ।

फोन त राखें तर मन राख्न सकिन । मनमा धेरै अनुत्तरित प्रश्नहरु मडारिइरहे । के मैले यो महामारीमा मास्क र साबुन लगेर जनता स्वास्थ राख्न नसकेकै हो ? राहतका नाममा केहि खाद्यान्न नबाँढेर जनतालाई भोकै राखेकै हो ? अनि केहि गर्न सकन् भएपनी त कोरोना छलेर जान त कसरी सकिएला ? कि त्योभन्दा पनि महत्त्वपूर्ण त भोटसँग साटेको उधारो बाचा पुरा नगरेको हो ? अनि मन भन्छ बिपत्तिमा केही नगर्ने भए बाचा किन गरेको ? के त्यो बाचा भन्नको लागि मात्रै भनेको हो ? अनि यो असहजतामा केही साथ दिन नसके सहजताको दैनिकी त उनिहरु आफैं चलाउछन नि होइन र ?

आफ्नो मन त जसोतसो बुझाउँला कि ! तर ती फोन गर्ने दाइ जस्तै कयौं दाइ भाइ, दिदीबहिनी, आमा बा सबै सँग भोलिका दिनमा फेरि झुट बोल्नुको विकल्प के हुन सक्ला ? किनकि चुनाव त फेरि पक्कै आउँछ । राजनितीको परिभाषा फेरियो की म फेरिन सकिन यो प्रश्न चाहीँ अनुत्तरित नै रह्यो ।

छुटाउनु भयो कि ?