Madhyabindu News App
कला-साहित्य

कथा – नमस्कार बाजे !

Madhyabindu Online राजबाबु श्रेष्ठ 'सागर'


A A- A+

अचेल आफ्ना व्यापार, बिजनेस, उद्योगधन्दा र जागिरबाट फुर्सद् पाएपछि प्राय मान्छेहरू सेतो भित्तो चलाउने गर्छन् । साँच्चै भन्नुपर्दा अचेल सेतो भित्तो नचलाउने को होलान् र ? बच्चा होस् या वृद्ध यिनीहरू सबैका लागि सेतो भित्तो एउटा ड्रग्स बनिसकेका छन् ।

यो यौटा नराम्रा कुलत् हुन् अचेल पूरै विश्वकै लागि । मानिस बरु शारीरिक रोगबाट उपचारपछि मुक्त हुन सक्छन् तर यी कुलतको मानसिक लतबाट भने मुक्त हुन सायद असम्भव नै होला भन्ने लाग्छ मलाई ।

कुलत भन्दैगर्दा – साउदी अरबबाट फर्केको एकजना मेरो मन मिल्ने साथीले सुनाएको कुरा अझै म झलझली सम्झिन्छु । उसले कुरैकुरामा मलाई भनेको थियो – “हेर् साउदीमा त आइमाईहरू गर्भवती भयो भने बच्चाहरू पेट बाइर निस्कनै मान्दैनन् रे, बुझिस् ।”

मलाई भने उसको कुरा सुनेर हाँसो उठ्यो र अनौठो लाग्यो पनि मनमा । अनि उल्टै उसैलाई नै छेड हान्दै भनेँ – “बाहिर ननिस्केर के पेटभित्रै बसिरन्छन् रे त ? तेसैले होला, यौटै बाउका साउदीहरूका चालीस-‍चालीस बच्चाहरू भएका । त्यै बाइर निस्कन नमाने र पो रै’छ हगि ?

“तलाइँ कसरी था भो ? यी सब कुरा ।” उसले मलाई मेरो दायाँ तिघ्रामा प्याट्ट हान्दै फ्याट्टै सोधिहाल्यो ।
“था हुन्छ नि हौ, मलाई पनि अलिअलि त ।” मैले व्यङ्ग्यपूर्वक दुईटै आँखी भुइँ माथि उचाल्दै भनेँ ।

मलाई हेरेर ऊ मुस्कुरायो मात्रै ।

“अनि भन्न त, बच्चा बाइर नआउने कारण ?” म आफैँले उसलाई झकझकाउँदै भन्न आग्रह गरेँ ।
“सुन्छस् त, लौ सुन् ।” उसले सनाउन सुरु गर्यो ।

“हेर् । साउदीमा गरिब होस् कि धनी सप्पैले कार चढ्छन् । बच्चा-बच्चाले पनि थोत्रो कार किन नहोस् कुदाएकै हुन्छन् । उनीहरूका हिसाबले उनीहरूलाई कार किन्न तेति महङगा पनि पर्दैनन् । पुराना-पुराना राम्रै कारहरू पन्ध्रसय देखि दुई हजार रियालमा आईहाल्छन् ।

उनीहरूलाई तेतिजाबो रुपिया कुन ठुलो करा हुन् र ? उनीहरूलाई कार किन्नु भनेको त नि याँ नेपालमा साइकल किन्याजस्तै हो, बुझिस् ।
सुन् । तेसैले त्याँ कुन गरिब, कुन धनी सप्पैले कार चढ्छन् । कुन बुढो, कुन बच्चा सप्पैले कार कुदाउँछन्, बुझिस् ।”

उसले यति भनेर पैन्टको खल्तीमा हात घुसार्यो । यौटा चुरोटको डब्बा निकाल्यो । र डब्बाबाट यौटा खिल्ली निकाल्यो र सोध्यो मलाई – “म्याचिस् छ ?”
मैले म्याचिस् दिएँ उसलाई । उसले टेबुलको य्राग तानेजस्तै गरी म्याचिस्को य्राग तान्यो र यौटा तिल्ली झिकेर छ्यास्स गरी मसला पट्टिको भागमा कोर्यो । तिल्ली झिर्र गरेर बल्यो । त्यही बलेको तिल्लीमा चुरोटको खिल्ली सल्कायो र एक सट् तान्यो । फुलेको मुख आकाशतिर फर्केर एक मुस्लो धुवाँ छोड्यो र फेरि भन्यो उसले ‍- “अनि था’छ ? साउदीका बच्चाहरू हामी लेपालीका बच्चाजस्ता सोझा हुँदैनन् नि, बुझिस् ? लास्टै जिद्दी हुन्छन्, जिद्दी । प्रसव पीडाको अवस्थामा बाउले बोलाउँछन् रे बच्चालाई तर बच्चा पेट बाइर मारिकाटे आउनै मान्दैनन् रे ।”

बाउले भन्छ रे – “यल्ला ताल्, हामी .. हामी .. बर्रा । यल्ला ताल् ।”
पेटको बच्चाले भन्छ रे –”ला.. ला.. । अना अब्गा आओल सयारा । बादिन् अना इजि”
बुझिस् ।”

म उसको कुरा सुनेर अक्क न बक्क तीन छक्क परेँ । बुझेको भए मारिदिम् मलाई । मलाई उसको कुरा सुनेर निकै रमाइलो लाग्यो पनि । “ती भनेका के हुन् होलान्” मनमा मलाई सोधुँ-सोधुँ पनि भन्ने भयो ।

उसले चुरोटको दोस्रो सट् पनि तान्यो र त्यसरी नै धुवाँ छोड्यो आकाशमा । आकाशमा उसले छोडेको चुरोटको धुवाँले एक छुट्टै राम्रो आकार लियो बादलको । सायद, उसलाई यसरी चुरोटको धुवाँको बादल बनाउने सोखै थियो क्यारे । जहिले जहिले म उसँग हुँदा यसैगरी नै चुरोटको धुवाँले आकाशका बादलजस्तै विभिन्न बादलहरू बनाउने गर्थ्यो उसले । उसको यो कलै थियो धुवाँको बादल बनाउने ।

कहिलेकाहीँ मलाई भन्थ्यो – “हेर् । म अब तँलाई कसरी धुवाँको बादल बनाएर देखाउँछु ।” भन्दै स्वाट्ट चुरोट तानेर आकाशमा बादल बनाएर देखाउँथ्यो पनि । म हेरेर तीन छक्कै पर्थेँ ।

“ऐ, क्या हो ? त्यो भनेको, भन्त” मैले उतिर फर्कैदै फेरि सोधेँ ।
“ला तान् ।” उसले चुरोटको ठुटो मलाई थमाउदै भन्यो । मैले पनि एक सट् तानेँ र एक मुस्लो बादल छोडेँ हावामा उसलेजस्तै गरी ।

उसले फेरी सुरु गर्यो – “त्यो भनेको चाहिँ – “आइज .. । आइज .. । छिट्छिट्टो बाइर निस्की” भनेको हो । र बच्चाले भनेको चाहिँ – “नाइँ .. । नाइँ .. । जब सम्म मलाई कार किनिदिदैनस् नि तबसम्म म आमाको पेटमा नै बस्छू”, भनेको हो ।” उसले मलाई हातमा चुरोट् थमाउदै अरबी भाषाको अर्थ अर्थ्यायो ।
मलाई उसको कुरा सुनेर नराम्रो गरी हाँस उठ्यो । म मुर्छा परीपरी हाँसेँ । ऊ पनि म सँगसँगै हाँस्यो । र फेरि भन्यो उसले – “सुन् । अनि नि.., बाउले हत्त न पत्तो प्लास्टिक्को कारको खेलौना लगेर बच्चा पाउने ठाउँमा देखाइदिन्छ रे । अनि पो बच्चा खुसी भएर फुत्त बाइर आउँछ रे, बुझिस् ।”

हा…हा…हा… ।
हा…हा…हा… । हामी फेरि पुनः मज्जाले मुर्छा परीपरी दुवै जना हाँस्यौँ ।
उसले भन्यो मलाई अन्तमा – “बुझिस्, लत भनेको उ ..त्यस्तो हुन्छ । साउदीका आइमाईहरूका पेटभित्रका बच्चाहरूजस्ता, कारबिना बाइर आउनै नमान्ने । हरेक कुराका लत हुन्छन् । त्यो पनि यौटा नराम्रो लत नै हो ।” उसले यति भनेर कुरा टुङ्ग्यायो ।
साथीले भनेको लतको कुरा सम्झिदा, मलाई शूरवीर कविको याद आयो । आजका कथा उनै कवि शूरवीरमाथि …. ।

कथा सुरुहुन्छ –

अक्षरका खेती गर्नेहरू आफ्ना रचनाहरू फेसबूकको वालमा राख्ने गर्छन् भने खेती नगर्नेहरूले आफ्ना फोटा राख्छन र लाइक र कम्मेन्टका प्रतिकृयाहरू लिदैँदिदैँ साथीभाइ र आफन्तसँग रमाउने गर्छन् । यो पनि लतै हो । यसबाट छुट्कारा पाउन पनि आकाशबाट तारा खस्नु जत्तिकै असम्भव नै हुन्छ भन्छु म ।
यस्तै फेसबूक चलाएर रमाउनेमध्येमा एक जना कवि थिए । जसको नाम शुरवीर थियो । उनी जे कुरामा पनि सूरो थिए । आँटिला थिए । हक्की थिए । सत्य कुरामा डटेर लड्थे र बम् पड्केजस्तै पड्किने गर्थे । त्यसैले गाउँमा उनको नामै शूरवीर राखिएको थियो । पछि यही नामले उनी प्रसिद्ध भए । कवि भए । कवि भएर पनि उनको नाम शूरवीर नै रह्यो ।

उनले बेला बेलामा राम्राराम्रा कविताहरू लेखेर कहिले आफ्नै सेतो भित्तोमा अपलोड गर्नेगर्थे । कहिलेकहीँ ‘समकालीन साहित्य प्रतिष्ठान ग्रुप’मा पनि पोस्ट गर्नेगर्थे । उनले मुहार पुस्तिकालाई सेतो भित्तोको संज्ञा दिएका थिए । हुन पनि हो, फेसबूक आफैँमा एउटा सेतो भित्तो त हो । र सेतो भित्तोमा चलमलाई रहेका अक्षरहरू बाटोमा हिँडेका काला कमिलाजस्ता त हुन् ।

एक दिन फेरि उनले एउटा राम्रो गद्य कविता पोस्ट गरे आफ्नै सेतो भित्तोमा । सायद, कविता पोस्ट गरेका दिन भ्याएनन् क्यारे कविले सेतो भित्तो सुमसुमाउन । अफिसबाट फर्केपछि भोलीपल्ट रातिको ठिक सात बजेपछि आफ्नो सेतो भित्तोमा उनले आफ्ना एकजोर आँखाहरू उडाए ।

आँखाहरू भुर्र उडेर गएर सेतो भित्तोको वाउ, आहा !, सुन्दर, मार्मिक, समकालीन तथ्यको एक जीवन्त कथा हो यो कविता, साह्रै मार्मिक सलाम छ कविलाई आदि, इत्यादिजस्ता सुन्दर प्रतिकृयाहरूका हाँगाहरूमा गएर बसे ।

फेरि भुर्र उड्दै अर्को हाँगामा गएर बसे । फेरि उडे । फेरि अर्को हाँगामा गएर बसे । एवम् रीतिले यो हाँगाबाट अर्को हाँगा, अर्को हाँगाबाट अर्को हाँगा गर्दैगर्दै भएभरका सबै हाँगाहरूमा उनका एकजोर आँखा डुल्न भ्याइसकेका थिए ।

कविले सबै प्रतिकृयाहरू पढिसकेपछि उनी आफैँ आफैँमा प्रफुल्ल भए । रमाए । उनले मनमनै सोच्यो र मनमनै भन्यो – “अहो ! राम्रा सिर्जनालाई त साँच्चै मन पराउँदारहेछन् कवि साथीहरूले पनि ।

फेरि मनमनै सोचे उनले । “अहो ! यत्तिका साथीहरूका प्रतिकृयाका जबाफ लेखेर फर्काउन थालियो भने त भोली बिहानै पो हुनेरहेछ । सुत्नु पनि त पर्यो … । भोली अफिसमा पनि त जानुपर्यो … ।”

उनले यस्तैयस्तै सोची आफ्नो मोबाइलमा सेव गरी राखिएका Thanks/Thank you/Thank you so much का अङ्ग्रेजी स्टिकर सबैलाई एकेक गरी पठाउने निर्णय गरे ।

उनले करिब दुई घण्टा आफ्ना समय खर्चेर सबैलाई आदरका साथ स्टिकर पठाए र बत्तीको स्विच् अफ् गरी निद्रा बोलाउने कोसिस गरे ।

भोलीपल्ट पनि उनका आँखा सरर मोबाइलको सक्रिनमा गएर अडिन्छन् । उनले सेतो भित्तो खोले र हिँजो अपलोड गरिएका कवितामा आँखाहरू कुदाए । आएका सबै कम्मेन्टहरूमा सरर आफ्ना आँखा दौडाए । कम्मेन्टलाई क्लिक गर्दै हेर्दै गरे । आँखाहरू अझै भोकाउदै थिए राम्राराम्रा कम्मेन्टहरूका स्वाद चाख्नलाई । यत्तिकैमा आँखाहरू कुद्दै गएर एउटा कम्मेन्टमा गएर टक्क उभिन्छन् ।

कम्मेन्टलाई क्लिक गरे । कम्मेन्ट सरर खुल्यो । उनेल एकसर पढे त्यो कम्मेन्ट । कम्मेन्ट पढेसकेपछि भने घाम ओथरा बसेपछिको अँध्यारोजस्तै उनले अनुहार अँध्यारो बनाए ।

कम्मेन्टमा लेखिएको थियो ‍- “तपाईँ जत्तिको मान्छेले यसरी स्टिकरको ‘Thank you’ पठाउन नहुने ।”
सायद, त्यो कविले कवि शूरवीरबाट निकै कृतज्ञताको अपेक्षा गरेको थियो होला । उसले मनमनै सोचेको हुँदो हो – “मैले देको प्रतिकृयाको आभार तथा धन्यवाद पाँचदेखि दस वाक्यसम्म लेखिएर आउलान् । किनकि; मैले कविताको राम्रो प्रशंसा जो गरेको छु । यति त मेरो हकै बन्छ नि, यस्तै यस्तै ।”

तर उसले सोचे बमोजिमको उत्तर नपाउँदा उसलाई साह्रै चित्त दुखेको थियो । सबैभन्दा बढि चित्त त उसलाई उनले पठाएको स्टिकरदेखि थियो । सायद, उसको विचारानुसार हातले लेखेको कम्मेन्टमा हातैले लेखेर कृतज्ञाता प्रकट गर्नुपर्छ भन्ने थियो ।

त्यसैले त उसले यति धेरैका अपेक्षा गरिरहेको थियो शूरवीर कविसँग । तर कविसँग समय थिएनन् होलान् र त हतारोमा स्टिकरले कृतज्ञता प्रकट गरे भन्ने त्यति बुझ्न भने कोसिस भने गर्दै गरेन उसले ।

तर शूरवीरलाई त्यो कम्मेन्टले बिस्तारै चस्स-चस्स घोच्दै लग्यो । हत्त न पत्त उनले त्यो कवि साथीको फेसबूक प्रोफाइल चेक गरे । उनले उसको मित्रताको सूचीबाट आफूलाई अन्फ्रेन्ड गरिएको पाए । तर ब्लक नै भने गरिएको थिएन । तर पनि उनले मन अमिलो बनाए ।

उनले फेरि मनमनै सोचे र आफ्नो चित्त च्यातीच्याती म्यासेज लेखे – “सर नमस्ते । यति सानो कुरामा हजुरले मलाई अन्फ्रेन्ड गरिदिनुभएछ । ठिकैछ, दुई सय पचासजनालाई मैले लेखेर प्रतिकृया दिनथाल्दा रातै कट्थ्यो । त्यै भएर मैले छिटो र छरितोको लागि स्टिकर पठाएको थिएँ । आखिरी लेखी पठाउने र स्टिकरहरूमा भएका कृतज्ञताका अर्थ एउटै त हुन् भन्ने सोचे ।

सायद, तपाइँको बुझाइमा स्टिकरको धन्यवाद र लेखी पठाइएका धन्यवादका बिच पनि फरक-फरक अर्थ लाग्दारहेछन् क्यारे । तर मेरो लागि भने दुवैको एउटै अर्थ बुझेको छु । स्टिकरको धन्यवाद भनेको पनि धन्यवाद नै हुन् । स्टिकरको कृतज्ञता भनेको पनि कृतज्ञता नै हुन् । मेले पढेको र बुझेको शब्दकोशबाट यही अर्थ सिकेको हुँ । सायद, तपाइँले पढ्ने गरेको शब्दकोश नितान्त फरक हुन सक्छ मैले पढ्ने गरेको शब्दकोशभन्दा ।

तपाइँले यसो गर्नु भनेको आफैँलाई भाउ लगाउनु हो । एउटा कुरा याद गर्नूहोला कविज्यू, भाउ आफूले आफूलाई कहिल्यै लगाउने होइन । भाउ भन्ने कुरा अरूले लगाउने हो । जस्तो कि; सुन, चाँदी र हिराले आफ्नो भाउ कहिल्यै लगाउँदैनन् । उनीहरूका भाउ बजारले तय गर्छन् ।

तपाइँले मलाई अन्फ्रेन्ड मात्रै गरिदिनुभएछ । ठिकै भयो । नत्रभने मैले आफूभित्र गुम्सिएका गुनासाहरू तपाइँलाई पोख्ने यो सुन्दर मौका कहाँ पाउँथेँ र ? कि कसो हो ? ए मेरो आदरणीय कविज्यू । अब म यहाँलाई सँधैका लागि ब्लक्का चार पर्खालभित्र कैद गरिदिनेछु । अर्थात म मेरो सेतो भित्तोबाट यहाँलाई ब्लक गरिदिनेछु ।”

कविले म्यासेन्जरमा यसरी लेखी पठाएका म्यासेजमा तुरन्तै सिन देखियो । उनले बुझिहाले कि, उसले मेरो म्यासेज हेर्यो भन्ने । उनले एकछिन कुरे र अझै पूरै पढून् भनेर केही समय पर्खे । त्यसपछि उनले उसलाई ब्लक्को गारो उठाई हमेसाका लागि बन्द गरिदिए ।

केही महिनापछि एउटा साहित्यिक कार्यक्रममा त्यही कवि फेरि भेटियो उनै शूरवीर कविसँग । ऊ उनलाई देखेर रातोपीरो भयो । नजर टिकाइरहन सकेन र आँखा तल झार्यो उसले । बिचरो आफैँ निचरिएर डल्लो पर्नुसम्म परे । तर शूरवीरले भने स्वाभिमानको आफ्नै दुई खुट्टामा उभिरहे । उभिरहे । उनका ओँठमा खुसीका चरीहरू भुर्र-भुर्र उड्दै बस्दै गरिरहेका थिए ।

कार्यक्रम सुरु भयो । उद्घोषकले लेखिएका कविहरूका सूची हेर्दै सबैलाई एकेक गरी डाक्न थाल्यो । सबैले आ-आफ्ना पालोमा आ-आफ्ना रचनाहरू वाचन गरे । शूरवीर कविले पनि एउटा कविता वाचन गरे । उनका कवितामा पनि अरूकाझैँ ताली गड्गडाएर बजे । त्यसपछि उसको पालो आयो । उद्घोषकले उसलाई पनि बोलायो । तर ऊ अझै देखा परेन । फेरि बोलायो उसलाई । अझै देखा परेन ऊ । उद्घोषकले तेस्रो चोटी पनि नाम काटेर डाक्यो उसलाई ।
यसरी उद्घोषकले नाम काटेर डाकिरहँदा हलमा भएका सबै साहित्यकारहरूले घाँटी तन्काई तन्काई एकर्कालाई हेरे । डाकिएको कविलाई पछाडि फर्कीफर्की हेरे । तर ऊ देखा परेन । अन्ततः उसले कविता वाचन नै गरेन ।

त्यसपछि, प्रमुख अतिथिले बोलिसकेपछि उद्घोषकले अन्तमा दुई शब्द बोल्दै कार्यक्रम समापन गरिदिनुहुन भनी सभापतिलाई डाक्दै आफू पनि बिदा भएको घोषणा गर्यो ।

साहित्यकारहरूका भीड्बाट तररर ….. ताली एकैसाथ गुन्जिन्छन् । सभापतिको मन्तव्यपछि कार्यक्रम सकिन्छ । तर त्यो भाउ खोज्ने कवि भने कवि गोष्ठीमै थिएन । सायद, उसलाई आफैँले गरेको अहमताको गल्तीको अनुभूति भएको हुन सक्छ ।

त्यसैले, उभित्रका लाजका काँडाहरूले उसलाई चस्स चस्स घोचिरहेका हुन सक्छन् । उसलाई लाग्यो होला, ऊ अब शूरवीर कविसँग उभिन पनि हिम्मत गर्ने छैन । आँखामा आँखा लडाउने छैन । सायद, यस्तै यस्तै विचारहरूले उसलाई लाजको पानीले लुथ्रुक्क पारी भिजाएको हुन सक्छ । यही भएर पनि ऊ कवि शूरवीरसँग ओझेल भएको हुन सक्छ ।

कवि शूरवीरका एकजोर आँखा भने उसैलाई खोजिरहे । पर परसम्म पनि उसैलाई खोज्दै आँखाहरू दौडिरहे । दौडिरहे । तर भाउ खोज्ने कवि भने कहीँ देखिएन ।
उनले फेरि मनमनै सोचे – “यो सेतो भित्तोले पनि गर्नुगर्छ । कति साथीहरू रिसाउनु रिसाए होलान् । यही सेतो भित्तोमा सिर्जनाहरू पोस्ट गरेको देखेर कति मसँग त रिसाए पनि होलान् । सबैलाई खुसी पारेर पनि त कहाँ सकिन्छ र ? कतिले भने होलान् मलाई – “कस्तो ठिस् रै’छ मुला … । त्यस्तो राम्रो प्रतिकृया दिदा पनि धन्यवादसम्म पनि दिएन मलाई ।” फेरि भन्दा हुन् – “अबदेखि यि… नापेर ।” भन्दै आफ्नो कम्मरदेखि तल पनि देखाउँदा होलान् मुर्मुरिएर ।”

कतिले भन्दाहोलान् – ” तेस्को मात्रै कम्मेन्ट गर्नुपर्छ भन्ने छ र हामीले ? हाम्रोमा खै गरेको तेस्ले कम्मेन्ट ? के हाम्रा सिर्जना तेस्कोभन्दा कम छन् र ? भन्दै मलाई कतिले ब्लक पनि हाने होलान् । यसै पनि पाँच हजारको खुड्किलाबाट दुईचार त जहिल्यै पनि घटि नै रहेका हुन्छन् । यो सेतो भित्तोले पनि गर्नुगर्यो ……………….. ।”

उनी यस्तैयस्तै सोच्दै मुसुक्क हाँसे र हलदेखि बाहिर निस्केर गेट बाहिर रोडमा आए । पुरानो बानेश्वरबाट कोटेश्वरहुँदै लगनखेल जाने क्यूको आउँदै गरेको सफा टेम्पोलाई दायाँ हातले रोक्ने इसारा गरे ।

टेम्पो उनी नजिकै आएर घ्याच्च अडियो । उनी टेम्पोमा चढे । टेम्पो हिँड्यो रोड, घर र बजार सबैलाई पछाडि-पछाडि छोड्दै ।
टेम्पोमा बस्दाबस्दै कवि शूरवीरले फेरि सम्झिए आफू सानै हुँदा ‘नमस्कार बाजे’को ल्ह्वागुन कामीले सुनाएको कथा ।

दसैँ आँगनमै टुप्लुक्क आइपुग्ने बेला भैसकेको थियो । त्यही दसैँको बाली उठाउन भनी माथिलो टोलबाट ल्ह्वागुन कामी आँगनमा सुतरीले बुनेको ठुलो बोरा काँधमा भिर्दै टुप्लुक्क देखा पर्यो ।

ल्ह्वागुन कामीले मगर टोल, नेवार टोल, सुब्बा टोल र गुरुङ् टोल समेत गरी चार टोलका लजोहरू कमाउने गर्थ्यो । सालभरि कमाउने र वर्षको एकचोटी दसैँको बेलापारी विष्टहरूले भदौरे बाली भित्र्याएपछि बाली उठाउने गर्थ्यो उसले ।

“लजो हजुर । लजो ? कोही हुनुहुन्छ घरमा ? ल्ह्वागुन कामीले ठुलो आवाज गरेर करायो र बलेँसीनेर टुक्रुक्क बस्यो ।
“घ्वाङ्… घ्वाङ् …घ्वाङ्…घ्वाङ् ।” आवाज सुनेर छेउमै सुतिरहेको यौटा कालो कुकुर जुरुक्क उठेर भुक्न थाल्यो ।
उनी पनि त्यही बेला माथि चोटाबाट तल ओर्ले । “बाजे नमस्ते” दुई हात जोड्दै नमस्ते गरे उनले । उनले कुकरलाई ”मान्छे चिन्दैनस्” भन्दै दायाँ हातले कुट्छुजस्तै गरी कराए ।

कुकुर डरायो । पुच्छरले आफ्नो लाज छोप्यो कुकुरले र भुक्न छोड्यो । कुकुर लुसुक्क लुस्कियो करेसा बारीतिर । कुकुर उतै हरायो ।
“बाजे एकछिन् कुर्नूहोला । बाआमा बारीतिर जानुभा’छ । बाजेको अघिल्तिर ओसरामा बस्दै उनले भने ।

फेरि उनले उठेर “ए ! बा …. । ए ! आमा …. । ल्ह्वागुन बाजे बाली उठाउन आका’छन् । झट्टै आउनू… है…झट्टै” उनले मुखमा दुईटै धारे हत्केला पार्दै पूर्वतिर फर्की लामो स्वर गरेर डाके बाआमालाई र फेरि बसे । “ल हौ … लौ ..” आमाको सुरिलो लामो आवाज गुन्जियो हावामा ।

एक छिनपछि बाआमा आए बारीबाट । बा रित्तै थिए तर आमाको पिठ्युँमा भने एक भारी घाँस सहितको डोको थियो ।
“नमस्कार बाजे”को कथा नसुनाउने बाजे आज ।” उनले बाजेतिर हेर्दै भने ।
“सुन्ने हो र ?” मुसुक्क हाँस्दै भन्यो ल्ह्वागुन बाजेले ।

बाजेले कथा सुरु गर्यो । उनले बाजेको कथा ध्यानले सुन्न सुरु गरे । यी दुवै एकैसाथ भए, अर्थात सुन्ने र सुनाउने कार्य ।
कथा सुरुहुन्छ – “हेर बाबू ! यौटा बाहुन् थिए । उनी आफूले आफूलाई निकै ठुलो मान्छे मान्थे । बाहुनको जात, चिल्लो-चाल्लो त हुने नै भए । उनी हुनेखाने पनि थिए । वरपरका र गाउँघरका मान्छेहरूले उनलाई नमस्कार गर्दा निकै खुसी हुने गर्थे उनी ।

त्यै गाउँमा उनै बाहुनका घरदेखि दुई घर पर छाडेर एक जना बिर्खे कामीका पनि साना घर थिए । उनी पनि मजस्तै लजो कमाउथे । उठ्दा, बस्दा उनै बाहुनका आँखासँग आँखा जुद्थे उनका । साँझै बेलुका उनै बाहुनका अनुहार नहेरी सुखै पाउदैनन् थे बिचरो बिर्खेले ।
“नमस्ते बाजे” बिहानै उठ्यो ।
“नमस्ते बाजे” दिउँसै भेट्यो ।
“नमस्ते बाजे” साँझै भेट्यो ।

यस्तैगरी बिर्खेले ती बाहुन बाजेलाई सम्मान/सत्कार/अविभादन गरिरहन्थे । तर एक दिन खै कसरी बिर्खेले बाजेलाई भेट्दा ”नमस्ते बाजे” भन्नै बिर्सेछन् ।
उनी कुन धुनमा थिए । कुन पीरमा थिए । कुन सोचमा थिए । उनै बिर्खेले जानून् कि दैवले जानून् । वश ! पुग्यो त्यो दिनदेखि ती बाहुन बाजेलाई ।

उनी रिसाए बिर्खेसँग । रिसाउनुसम्म रिसाए । भेट्दा पनि डेरो आँखाले बिर्खेलाई हेर्न थाले । आँखा पाकेजस्तो रातो आँखाले हेर्न थाले । लाग्दो हो बाहुनलाई – मिल्ने भए बिर्खेलाई चारपाता कसेर कोर्राले पिट्ने मन गर्दो हो । मिल्ने भए, बिर्खेलाई कपाल मुडुलो बनाएर घाँटीमा जुत्ताचप्पलको माला लगाई सात गाउँ कटाउने विचारसम्म पनि उठ्दो हो । के के उठ्दो हो, उठ्दो हो ती बाहुनका मनभित्र । उनै बाहनले जानून् कि दैवले जानून् ।”

उसले भन्दै गयो – “बिर्खेले मनमनै सोचे । हैन, यी बाहुन् बाजे अचेल मसँग किन टेँडिन्छन् ? किन राताराता आँखा पारी हेर्छन् मलाई कुटुलाजस्तै गरी । उनले निकै गहिरो विचार गरी बाहुन रिसाउनाका कारण खोतल्न थाले ।

उनले झट्टै सम्झे । लागे उनलाई बाहुन रिसाउनाका कारणको रहस्य खुले अब । बिर्खे मुसुक्क हाँसे र मनमनै भने – “थुक्क बिर्खे, तँसँग बाहुन रिसाउनेको कारण त यो पो रहेछ ।” बिर्खेले ती कारण सम्झे, बिहीबार दिउँसो बाहुन हाट जाँदा बाटामा जम्का भेट भएका । तर ”नमस्ते बाजे” भन्न बिर्सिएका । उनले फेरि मनमनै भने – “ए त्यो पो हो बाजे रिसाउनका गाँठी कारण त ।”

अब बिर्खेले आफूमा निर्णय गरे र मनमनै भने – “कसैले तपाइँ भनोस् कि नभोस् आफैँ मपाइँ । तँल्लाइ… जान्याछु, बाहुन बाजे, जान्याछु । अब तँल्लाइ भेटैपिच्छे नमस्कार गर्दागर्दा है’रान पार्नेछु र मदेखि तँल्लाइ तर्केर भाग्ने नबनाई त काँ छाड्छु र ?”

नभन्दै बिर्खेले तेसै गरे ।
“नमस्ते बाजे” बिहानै उठ्दा ।
“नमस्ते बाजे” दिउँसो भेट्दा ।
“नमस्ते बाजे” साँझ भेट्दा ।
“नमस्ते बाजे” बाटोमा भेट्दा ।
“नमस्ते बाजे” घरमा भेट्दा ।
“नमस्ते बाजे” काम परेर भेट्दा ।
“नमस्ते बाजे” काम नपरिकन पनि भेट्दा ।
छिन्छिन्मै नमस्ते । छिन्छिन्मै नमस्ते ।
नमस्ते ।
नमस्ते ।
नमस्ते ।
नमस्ते ।
यसरी बिर्खेले बाहुन बाजेलाई ”नमस्ते” गर्दागर्दा हैरानै बनाए र लाजले घर्को घरै लुक्ने बनाई छाडे ।

एक दिन ती बाहुन बाजेले बिर्खेलाई भेटेर एकान्तमा बोलाए र दुई हात जोड्दै भने – “हेर् बिर्खे । मबाट गल्ती भो । मलाई माफ गरिदे । म जातको पनि बाहुन । यो गाउँका पनि ठुलाबडा मान्छे त्यो तँल्लाई था छदैछ । अलिकति ममा अहम् थियो । सायद,मभित्र त्यो अहमको शैल पलाउनु भनेको मेरो दोषभन्दा पनि बढी दोष आफू बाहुन जात भएकोले भन्ने बुच्छु म । याँ कोही ठुला-साना नहुँदा रै’छन्, हेर् । यो कुरा तैँले मलाई राम्ररी बुझाइस् । हामी मान्छे हौँ । हामी मान्छेले मान्छेलाई होच्याउनु हुन्नरै’छ भन्ने कुरा मैले राम्ररी सिकेँ तँबाट, हेर, बिर्खे ।

मलाई माफ गरिदे । हेर्, यसरी मलाई बाटा-घाटा, घर-दैलोमा आएर घण्टैपिच्छे ”नमस्कार बाजे, नमस्कार बाजे” गरी मैले गरेको गल्तीको बदलाको भावले मलाई बैजत नगर्, हेर् बिर्खे ।

उनले लक्ष्मीप्रसाद देवकोटाको कविता सम्झे –
“क्षेत्रीको छोरो यो पाउ छुन्छु घिनले होइन ।

मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन” बिर्खेको दुई हातमा आफ्नो दुई हातले समाएर आँखाभरि आँसुपारी माफी माग्दै भने ।”
बाहुन बाजेको करुणात्मक क्षमायाचना देखेर बिर्खे स्वयम् बरफको ढिक्काझैँ पग्लेर पानी-पानी भए । उनले पनि बाहुन बाजेसँग माफी मागे । बाजेसँग झुके । उनले पनि दुई हात जोड्दै बाजेसँग माफी मागे । उनीहरूका बिच फेरि सदाकाझैँ मान, मर्यादा, सद्भाव टुसाउन थाले ।”
कोटेश्वर । कोटेश्वर । कोटेश्वर । कोटेश्वर ।

टेम्पो चालकको यो आवाजले कवि शूरवीर झस्किए । उनी कोटेश्वर नै झरे । ढोकानेर आएर चालकलाई पैसा दिए ।
उनले पुनः भाउ खोज्ने कविलाई सम्झे । नमस्कार बाजेलाई सम्झे । ल्ह्वागुन कामीलाई सम्झे । मुसुक्क हाँसे र भने ‍- “नमस्कार बाजे” ।

समाप्त ।

छुटाउनु भयो कि ?